१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शिक्षण छाडेर व्यावसायिक यात्रामा

धिरेन्द्र कठायत पहलमानपुर विज्ञान विषयका शिक्षक हुन्। १० वर्ष स्थानीय सामुदायिक विद्यालयमा अध्यापन गराएका उनले पछिल्लो समयमा पेशा बदलेका छन्। कैलालीको पहलमानपुर क्षेत्रमा विज्ञान विषयको शिक्षकको राम्रो छबी बनाइसकेका उनले एकाएक शिक्षण पेशा छाडेर व्यवसायिक यात्रामा होमिएका हुन्।

कैलालीको मध्यवर्ती क्षेत्र पहलमानपुरमा पाँच कठ्ठा जग्गा भाडामा लिएर उनले राजमार्ग क्षेत्रमै मकालु होटल सञ्चालनमा ल्याएका छन्। ६० लाख रूपैयाँको लगानीमा उनले राजमार्ग क्षेत्रमा नमुना होटल सञ्चालनमा ल्याएको बताए। ‘चिसापानी या त धनगढीबाहेक राजमार्ग क्षेत्रमा पारिवारिक रूपमा बस्न तथा खानपान गर्न गतिलो होटल नभएकाले पहलमानपुरमा होटल सञ्चालन गरेको बताउँदै उनले भने, ‘त्यसका साथै विश्व रामसार सूचिमा सूचिकृत भएको घोडाघोडी ताल क्षेत्रमा पछिल्लो समय पर्यटकको आकर्षण बढिरहेका बेला पर्यटकलाई लक्षित गर्दै शिक्षण पेशा छाडेर व्यवसायिक यात्रामा होमिए।’  

पर्यटकहरू कर्णाली चिसापानी पुल, टीकापुर पार्क अध्ययन अवलोकन तथा भ्रमण गरेर बेलुका हुन्जेल घोडाघोडी ताल क्षेत्रमा पुग्ने र त्यहाँबाट धनगढी पुग्न पर्यटकलाई अध्यारो भइसक्ने भएकाले पर्यटकलाई राजमार्ग क्षेत्रमै रोक्नका लागि आफूले पहलमानपुरमा अत्याधुनिक सुविधा सहितको पारिवारिक वातावरणमा होटल सञ्चालन गरेको उनले बताए। ‘यहाँका पर्यटकलाई असुविधा नहोस् र घोडाघोडी ताल क्षेत्रमा पुगेका पर्यटक बास बस्नकै लागि धनगढी या टीकापुर फर्कनु नपरोस् भनेरै यहाँ सुविधासहितको होटल सञ्चालनमा ल्याएँ,’ उनले भने, ‘पहिल्यैदेखिको पर्यापर्यटन क्षेत्रमा हात हाल्ने आफ्नो शौक होटल सञ्चालन गरेपछि भने पूरा भएको छ।’  

शिक्षण पेशा र व्यवसायिक यात्रा नितान्त फरक पाटो भएको अनुभव साट्दै उनले भने, ‘शिक्षण पेशामा विद्यार्थीलाई ज्ञानगुनका कुरा सिकाउँदैमा समय बित्थ्यो भने व्यवसायिक यात्रामा कसरी ग्राहकलाई सन्तुष्टि पार्ने र उनीहरूको इच्छा अनुसारका परिकार कसरी तयार पार्ने भन्नेमै ध्यान जाने गर्छ।’ शिक्षण पेशामा रहँदा मासिक तलबमा मात्रै घरव्यवहार चलाउनु पर्ने भए पनि व्यवसायिक यात्रा थाल्दा बैंक, वित्तीय संघसंस्थाले समेत पत्याउने र ऋण तथा अनुदानमा सहयोग गर्ने गरेको उनको अनुभवले छ।

‘शिक्षण पेशा गर्दा बैंक तथा वित्तीय संघसंस्थाले ऋण दिनै गाह्रो मान्ने गर्थे,’ उनले भने, ‘व्यवसायिक क्षेत्रमा हात हाल्दा भने बैंक तथा वित्तीय संघसंस्थाले ऋण तथा अनुदानका लागि आउने गरेका छन्।’ पछिल्लो समयमा कोरोना भाइरसका कारण व्यावसयमा केही धक्का लागे पनि लकडाउन खुलेसँगै व्यापार तङ्ग्रन थालेको उनी बताउँछन्। ‘लकडाउनका कारण केही समस्या थियो,’ उनले भने,‘पछिल्लो समयमा लकडाउन खुलेसँगै व्यावसाय पुनः उक्लिँदैछ।’

प्रकाशित: २४ पुस २०७७ ०१:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App