२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

झाडीमा लुक्दैछ गोरखकाली रबर उद्योग

टाट पल्टिएको गोरखकाली रबर उद्योग । तस्विर ः नरहरि÷नागरिक

उद्योग झाडिले झपक्कै छोपेको छ । मुख्य गेटमा छजना सुरक्षा गार्ड आलोपालो बन्द उद्योग कुरिरहेका छन् । २०७२ को भूकम्पपछि पुर्णरुपमा बन्द गोरखकाली रबर उद्योगले २०७५ माघमा उद्योगमा रहेका धेरै कर्मचारीलाई अवकास दिएपछि उद्योग अहिले सुनसान छ ।  

उद्योगमा रहेका दुईसय ४२ जना, डिपो र काठडमाडौंस्थित सम्पर्क कार्यालयका सहित दुईसय ८० भन्दाबढी कर्मचारीलाई त्यो बेला एकैपटक अवकास दिइएका थियो । हाजिर गर्न कर्मचारी गईरहँदा चहलपहल देखिने उद्योग त्यसयता सुनसान छ ।  

उद्योगभित्र चारवटा साना गाडी थोत्रिएका छन् । गुड्दागुड्दै थन्किएका गाडी थोत्रो भईसक्यो । केही मोटरसाईकल पनि उद्योगभित्रै छन् । करोडौं रुपैयाँ पर्ने मेसिनहरु धुलो र खियाले थोत्रिएका छन । टायर उत्पादनको काम नहुँदा मेसिन कवाडीमा परिणत भएको छ । ‘हामीले भित्र मेसिन हेर्दैर्नाै र जान्दैनौ,’ सुरक्षा गार्ड गंगाप्रसाद गौतमले भने ‘हामीले उद्योगको भवन, कम्पाउण्डभित्रको सुरक्षा गर्ने जिम्मेवारी मात्रै पाएका छौं । उद्योगमा अहिले कोही आउँदैनन् ।’  

सरसफाई गर्ने र मेसिनको अवस्था पनि के कस्तो छन् भनेर हेर्ने कोही छैन । ठुला र पक्कि भवन झाडिले छोप्ने, झ्यालका शिशा फुट्ने गरेका छन् । उद्योग भित्रै जथाभावि कच्चा पदार्थ मिल्किएका छन् । झाडिले उद्योगको हरेक ब्लक छोपेको छ । उद्योग भित्रको झाडि जंगली जनावरको बासस्थान बनेको छ । उद्योग परिसर घुम्न एक्लाएक्लै जान सुरक्षागार्ड पनि डराउँछन् । सयौं रोपनी क्षेत्रफलमा रहेको उद्योगका छुट्टाछुट्टै भबन छन । कार्यालय, उत्पादन कक्ष, प्रशोधन, स्टोर लगायत कुनैमा पनि तालाचावी लगाइएको छैन । उद्योगको कोठा, शौचालय फोहोर र दुर्गन्धित छन् ।  

उद्योग परिसरमा जताततै बिजुलीको फलामे पोल स्टोर गरिएका छन् । वर्षाैदेखि राखिएका पोल कति छन् र कसले राखेको भन्ने बारेमा उद्योगका गार्ड बेखबर समेत छन् । विद्युत प्राधिकरण वितरण केन्द्रले स्टोर गर्न सजिलो भएर राखेको जनाएको छ । तर त्यहाँ यत्रतत्र छरिएर पोल राखिएको छ । उद्योगको वरपर ठुलो संख्यामा खयरको रुख छन । रुख काटेर काठ चोरी हुने क्रम बढेको गुनासो आईरहन्छ । कतिपय रुख थोत्रिएर कुहिएका छन् । महँगो मुल्यमा बिक्री हुने लडेका, पुराना खयरका रुखको ब्यवस्थापन उद्योगले गर्न सकेको छैन ।

तीनवर्ष अघि उद्योगले खयरको रुख काटेर बिक्री गर्न डिभिजन बन कार्यालय मार्फत प्रक्रिया अघि बढाएको थियो । लडेका रुख मात्र नभई सबै रुख काटेर बिक्री गरी कर्मचारीलाई तलब भत्ता खुवाउने उद्योगको योजना थियो । चौतर्फी आलोचनापछि वन विभागले रुख काट्ने अनुमती दिएन । रुख काट्न नपाएपछि उद्योगले सडेगलेका रुखको प्रयोग गर्न तर्फ पनि चासो नदिएको सेवानिवृत्त एक कर्मचारीले बताए । अहिले उद्योग क्षेत्रमा घाँस दाउरा गर्ने, नदीले कटान गर्ने गरेर रुख नासिँदै गएको छ ।

बन्द भएको तीनवर्ष सम्म उद्योगले बिना काम कर्मचारीलाई पुरा तलब दिएर पाल्नुप¥यो । यसले उद्योगमा घाटा थपिएको छ । ‘२०७२ देखि उद्योगमा उत्पादन ठप्प भयो, २०७५ मा कर्मचारीलाई अवकास दिईयो’ उद्योगका करार कर्मचारी दिनेश कार्कीले भने । आगामि दिनमा गोरखकालीलाई पहिलेकै अवस्थामा फर्काउन निकै नै मुस्किल रहेको उनले बताए ।  

२०४९ सालदेखि टायर उत्पादन थालेको गोरखकाली रबर उद्योग नेपालको एकमात्रै टायर उद्योग हो । यसमा नेपाल सरकारको ३८, साल्ट ट्रेडिङको २३ प्रतिशत शेयर र सर्वसाधारणको पनि लगानी छ । उद्योग सुरु भएदेखि नै उत्पादन राम्रो नभएको कर्मचारीहरु बताउँछन् । ४० प्रतशितसम्म उत्पादन गर्न उद्योग सफल भएको थियो । त्यती मात्रै उत्पादन गरेको वर्षपनि उद्योग नाफामा चलेको रेकर्ड उद्योगसँग छ । उत्पादन ठप्प भएपछि उद्योग वर्षेनी घाटामा छ ।  

टायर उत्पादनका लागि चाहिने ७० प्रकारका कच्चा पदार्थ मध्ये सबैजसो खाडी मुलुकबाट ल्याउनुपर्छ । कच्चापदार्थ ढुवानी समस्या, अन्तर्राष्ट्रिय बजारको सस्तो टायरले बजारमा बिक्री बितरण गर्न समस्या हुँदा उद्योग टाट पल्टिने अवस्थामा पुगेको हो । भारतीय बजारमा उत्पादन हुने टायरको मुल्य भन्दा पाँचदेखि १० हजार रुपैयाँ महंगो गोरखकालीका टायरको पर्दथ्यो । अवैध रुपमा कर छलेर नेपाली बजारमा आउने टायरले गोरखकाली टायरको बजार बिक्री घटेपछि बन्द हुन पुगेको अनुभव मजदुरहरुको छ । 

प्रकाशित: २० पुस २०७७ ०६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App