२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

घान्द्रुक र अन्नपूर्ण आधार शिविर माघदेखि खुला हुने

अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर (एविसी) पदमार्गको मुख्य प्रवेश विन्दु घान्द्रुक गाउँ १० महिनापछि पर्यटकका लागि खुला हुने भएको छ। साहशिक ग्रामीण पर्यटनको गन्तव्य घान्द्रुक गाउँ र विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर जानका आगामी माघ १ गतेदेखि पर्यटकका लागि खुला गरिने घान्द्रुक पर्यटन व्यवस्थापन समितिले शनिबार पोखरामा पत्रकार सम्मेलन आयोजना गरी जनाएको हो।

कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गत चैत पहिलो सातादेखि बन्द भएको घान्द्रुकका होटल र अन्नपूर्ण आधार शिविरको पदयात्रा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी खुला गर्न लागिएको बताइन्छ। सरकारले केही महिनाअघि पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेर देशका धेरैतिरका गन्तव्यमा चहलपहल शुरु भए पनि घान्द्रुक खुलाउँदा पर्यटकको आउँजाउँ बढ्ने र यसबाट गाउँमा सङ्क्रमणको सम्भावित जोखिम बढ्ने भएकाले हालसम्म बन्द गरिएकामा आगामी जनवरी १४९माघ १० देखि स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी खुला गर्ने निर्णय गरिएको समितिका अध्यक्ष किसम गुरुङले बताए।  

उनले भने,“लामो समय घान्द्रुक क्षेत्र बन्द हुँदा पर्यटनमा आश्रित हामी व्यवसायी मारमा पर्दै गयौँ । कोरोनाको त्राससँगै डराएर बसिरहँदा व्यवसाय पनि धरासायी हुने अवस्था आएपछि सबै खाले पर्यटकका लागि स्वास्थ्य मापदण्ड पूरा गरेर खुलाउने निर्णय गरेका हौँ।” समितिले सङ्क्रमण न्यूनीकरण र लक्षण देखिएका पाहुनालाई राख्नका लागि छुट्टै आइसोलेशनको व्यवस्था गरेको छ।  

पदयात्राका क्रममा पर्यटकलाई ज्वरो आएमा अन्नपूर्ण गाउँपालिका स्वास्थ्य शाखाको समन्वयमा आइसोलेशन घरमा नर्सहरुको निगरानीमा राखिने अध्यक्ष गुरुङले जानकारी दिए। घान्द्रुक खुलेसँगै आन्तरिक तथा बाह्य पर्यटक घान्द्रुक हुँदै टाढापानी, देउराली, घोरेपानीसम्म पनि आउँजाउँ गर्न सक्ने समितिले जनाएको छ। घान्द्रुकबाट पर्यटक छोमरुङ, सिनुवा, बम्बु, दोभान, हिमालय देउराली हुँदै माछापुच्छ्रे आधार शिविर तथा अन्नपूर्ण आधार शिविर पुग्न सक्नेछन्।  

छोमरुङ गाउँभन्दा माथि अन्नपूर्ण आधार शिविरसम्म भने स्वदेशी तथा विदेशी पर्यटकलाई पिसिआर अनिवार्य गरिएको छोमरुङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष वुद्धिबहादुर गुरुङले जानकारी दिए। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले कोरोनापछि बन्द भएका पर्यटकीय गन्तव्य खुला हुनु सकारात्मक रहेको बताए। गण्डकी प्रदेशमा घान्द्रुकबाहेक अन्य सबै गन्तव्य खुला भइसकेको उनको भनाइ छ।  

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले लामो समय घान्द्रुक नखुल्दा पर्यटन क्षेत्र प्रभावित बनेको बताउँदै कोरोनासँग जुध्दै पर्यटन क्षेत्रलाई पुनः सञ्चालन गर्नुको विकल्प नभएको बताए। रासस

प्रकाशित: १९ पुस २०७७ ०१:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App