१० वैशाख २०७८ शुक्रबार
अर्थ

सुस्ताएको पर्यटन ब्यूताउँने प्रयास

बुधबारदेखि सडक महोत्सव सुरु हुने भएपनि लेकसाइड अघिल्ला वर्षजस्तो सजिएको छैन

पोखरा सडक महोत्सवस्थल लेकसाइड । कोरोना त्रासबीच बुधबारदेखि यहाँ सडक महोत्सव हुँदैछ । तस्बिरः सन्तोष पोखरेल÷नागरिक

कोरोना भाइरस संक्रमण नहुँदो हो त यो बेला यहाँको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड दुलही झैं सिंगारिएको हुन्थ्यो । ध्वजापताकाले सजिने मात्र नभई फरकफरक सांगितीक माहोलले लेकसाइड दिनरात गुञ्जायमान बन्थ्यो । वर्षेनी यहाँ अंग्रेजी नयाँवर्षको अवसरमा आयोजना हुने सडक महोत्सवले लेकसाइड मात्र नभई आसपासका होटल पनि पाहुनाले भरिभराउ भइसक्थे । रेस्टुरेन्टमा पनि उस्तै खचाखच पाहुना हुन्थे । महोत्सवका पाँचदिन अवधि लेकसाइडका व्यवसायीलाई खाने बस्ने फुर्सद मिल्दैनथ्यो ।  

तर, यो पटक नितान्त फरक परिस्थितिमा छ लेकसाइड । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले कोरोना कहरबीच यो वर्ष पनि सडक महोत्सव त आयोजना त गरेको छ, तर, अघिल्ला वर्षजस्तो यहाँ महोत्सवको कुनै उल्लास छैन । लेकसाइड अघिल्ला वर्षजस्तो सजिएको पनि छैन । पाहुना नहुँदा व्यवसायी पनि फुर्सदिला छन् । बुधबारदेखि तीनदिने महोत्सव त आयोजना गरिएको छ, तर, लेकसाइडलाई यो पटक उत्तिसारो सडक महोत्सव लागेको छैन ।  

अघिल्ला वर्षसम्म पाँचदिन अवधि हुने महोत्सव अहिले घटाएर तीनदिनमा झारिएको छ । औपचारिकता र निरन्तरताका लागि मात्र यो पटक महोत्सव हुन थालेको आयोजकको भनाई छ । त्यसबाहेक आएका पाहुनालाई सेवा सत्कारका लागि पोखरा तयार छ भन्ने सन्देश दिलाउनका लागि मात्र महोत्सव आयोजना गरेको आयोजकको भनाई छ । रेबान पोखराका अध्यक्ष लक्ष्मण बराल भन्छन, ‘कोरोनाले गर्दा यो पटक महोत्सवले रौनकता पाएको छैन । अघिल्ला वर्ष यो बेला लेकसाइड झकिझकाउ बनेर गुञ्जायमान भइसक्थ्यो । तर, अहिले उत्तिसारो उल्लास छैन ।’ अघिल्ला वर्षजस्तो सजिने गरि लेकसाइडमा खुसियाली नभएको पनि उनले बताए ।

‘हामीले त महोत्सव नगर्ने पनि भनेका थियौ । तर पर्यटन क्षेत्र निकै नै सुस्ताएको र केही आकारमा भएपनि चलायमान बनाउन सकिन्छ की भनेर आँट गरेका हौं,’ उनले भने, ‘झन्डै एकवर्षदेखि सुस्ताएको पर्यटन क्षेत्रलाई थोरै भएपनि ब्यूताउँने प्रयास मात्र हो ।’ उनका अनुसार यो बेला महोत्सवका कारणले लेकसाइडको व्यवसायले निकै ठुलो आर्थिक गतिविधि गर्दथ्यो । तर, अहिले त धेरैजसो पसल अझै खुल्न सकेका छैनन । होटल, रेस्टुरेन्ट पनि बन्द छन् । कोरोना सुरु भएदेखि बन्द रहेका केही रेस्टुरेन्ट महोत्सवलाई लक्षित गरेर पुन संचालन गरिएको पनि उनले बताए । अघिल्ला वर्षजस्तो तामझाम गर्ने नभई महोत्सवको निरन्तरता मात्र रहेको उनले बताए ।  

महोत्सवका संयोजक बसन्त गौतम पनि उत्साहविहीन अवस्थामा सडक महोत्सवको तयारी गरेको बताउँछन् । ‘पाँचदिनबाट तीनदिनमा झारेका छौ, त्यही अनुसार सबै कार्यक्रम घटेका छन,’ गौतमले भने,‘अघिल्ला वर्ष हुने मनोरञ्जनात्मक कार्यक्रम यो वर्ष छैनन । कन्सर्ट, लाइभ म्यूजिक केही कार्यक्रम हुने छैनन । स्थानीय संस्कृति झल्कने सिमित कार्यक्रम मात्र हुनेछन ।’ बेलुकी साढे ६ देखि ९ बजेसम्म मात्र सडकमा गतिविधि हुने उनले बताए ।  

‘कोरोनाका कारण भीडभाड नहोस भनेर यो पटक स्थानीय संस्कृति मात्र पस्कने हो,’ उनले भने, ‘न्यू इयर इभमा केही आन्तरिक पाहुना आउने अपेक्षा छ । तर अरुबेलाजस्तो तडकभडक पनि गर्ने समय अहिले छैन ।’ आयोजकका अनुसार महोत्सव हुने क्षेत्र तीनकिलोमिटर दुरीलाई दिउँसो तीनदेखि राती १० बजेसम्म नो भेइकल जोन बनाइनेछ भने न्यू इयर इभका दिन १२ बजेसम्म कायम रहनेछ  ।

कोरोनाका कारण लामो समयदेखि बन्द रहेको व्यवसायलाई खुलाउन सक्नु नै ठुलो सफलताको रुपमा लिइने व्यवसायीले बताएका छन् । कोरोना कहरले गर्दा लेकसाइडका कतिपय व्यवसाय अझै पूर्ववत अवस्थामा फर्किन सकेका छैनन् । बन्द रहेका ती व्यवसायलाई खुलाउन सकियो भने सफलता मान्न सकिने संयोजक गौतमले बताए । ‘बन्द रहेका व्यवसाय सडक महोत्सवकै निहुँमा खुलाउन सकियो भने त्यो नै सफलता हुनेछ,’ उनले भने, ‘यो बेला महोत्सव गरेर कमाउने भन्दा पनि व्यवसायीलाई व्यवसायमा फर्काउन एक्साइटेड बनाउन चाहेका हौ । पीडामा भएका व्यसायीलाई केही उत्साह दिलाउन महोत्सव सहयोगी हुनेछ ।’

पोखरामा रेबानले विगत २२ वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएको छ । यो महोत्सव पुस १५ देखि १७ गतेसम्म पर्यटकीय क्षेत्र लेकसाइडमा आयोजना हुनेछ । हरेक वर्ष अंग्रेजी नयाँवर्षको स्वागत र पुरानो वर्ष बिदाई अवसरमा यहाँ आयोजना हुने सडक महोत्सवले अघिल्ला वर्षसम्म करिब चारलाख आन्तरिक पाहुना आउने गरेको व्यवसायीको अनुमान थियो । आन्तरिक पाहुनाको सबैभन्दा बढी आउजाउ गराउने गतिविधिका रुपमा यो महोत्सव चिनिएको थियो । तर, अहिले कोरोनाले गर्दा पाहुना भिœयाउन योजनासम्म व्यवसायीले बनाएका छैनन ।  

महोत्सवका परिकल्पनाकार गणेशबहादुर भट्टराइ भन्छन, ‘आन्तरिक पर्यटकलाई चलायमान बनाउने र व्यवसायीलाई व्यवसायमा कन्फिडेन्स बढाउन यो महोत्सवले सघाउने अपेक्षा छ । ‘पाहुना अझै पनि निस्फिक्रि रुपमा घुमघाममा निस्किन डराईरहेका छन । तर, यो महोत्सवले ती पाहुनालाई पोखरासम्म तान्ने प्रयास गरेको हो,’ भट्टराइ भन्छन, ‘सबैतिर खुला भइसक्दा लेकसाइडले सधैं बन्द गरेर बसेर भएन । कम्तिमा लेकसाइड खुला छ भनेर सन्देश दिन खोजेका हौ । त्यसकै लागि अहिले पनि निरन्तरता दिउँ भन्ने हो ।’ बन्द रहेका केही व्यवसायीलाई व्यवसायमा फर्काउन सकिने अपेक्षा रहेको उनले बताए । ‘अझै धेरै रेस्टुरेन्ट बन्द रहेको र ती रेस्टुरेन्टलाई यही महोत्सवको निहुँमा खुलाउन सकियो भने व्यवसायी र व्यवसाय जोगाउन सकिन्छ भन्ने अपेक्षा हो,’ उनले भने ।

प्रकाशित: १४ पुस २०७७ १३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?