१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चिनी उद्धोगको दादागिरीले आजित किसान, बरु खेत बाँझै राख्छौं उखु लगाउँदैनौ

नवलपरासीमा मासीदै गएको उखुखेती। तस्विर: रेखा

नवलपरासीको प्रतापपुर ७ सुर्यपुराका सुरेन्द्र यादवले पोहोर एक बिगाहाको उखु मासेर अन्नबाली लगाए। यसपाली थप एक बिगाहाको उखु मासेर केरा लागाउने तयारीमा छन्। बिगत २० वर्षदेखि ८ बिगाहामा उखु खेती गर्दै आएका यादवले पछिल्लो तीन वर्षमा ३  बिगाहाको उखु मासीसकेका छन। ‘चिनी उद्योगीले हामीलाइ डुवाइसके। उखु खेती गर्न सक्ने अवस्था नै रहेन’नगदे बालीको उधारो कारोबारले आजित भएका यादवले भने। उनले इन्दिरा सुगर मिलबाट दुई वर्ष अघिकै उखुको ७ लाख भुक्तानी पाएका छैनन्।

सुर्यपुराकै किसान विश्वबन्धु यादवले पनि वर्षौदेखि गर्दै आएको उखु खेती मासेर यसपाली एक बिगाहामा गहुँ छरे। केही जमिन बाँझै राखेका छन। प्रतापपुर ६ हरपुरकी मुना अन्सारीले पछिल्लो दुइ वर्षमा डेढ बिगाहाको उखु मासिन्। अलिकती जग्गामा भएको उखुलाई पनि उनले यसपाली न मल राखिन,न पानी, न गोडमेल गरिन। स्याहार नपाएका खिजीना उखु क्रसर उद्योग (भेली उद्योग)लाइ  बेच्ने तयारीमा छिन। ‘उखुको स्याहार गर्ने जागर मरिसक्यो। अब त बरु खेत बाँझै राख्छु उखु लगाउँदिन’ मुनाले भनिन्। उनले पनि दुई वर्ष अघिकै १ लाख ४५ हजार रुपैयाँ उखुको भुक्तानी पाएकी छैनन्।  

उखु नगदे बाली हो। सरकारले यसलाई राष्ट्रिय बाली भनेर घोषणा पनि गरेको छ। तर नगदे भनिएको उखुको उधारो कारोबारले किसानलाई अहिले त्यही खेती निल्नु न ओकल्नु भएको छ। चिनी उद्योगहरुले समयमै भुक्तानी नदिएर  किसानहरुलाई वर्षौदेखि प्रताडित गरेका छन। उधारोमा उखु बेच्न बाध्य किसानहरु आफनो भुक्तानी लिन बर्षमा कती  पटक ती उद्योगमा धाउनु पर्छ त्यसको लेखाजोखा गरी साध्य छैन। जग्गा लिजमा लिएर उखु खेती गरेका किसानहरु जग्गाको भाडा,मल,बिउ,खेतालाको पैसा तिर्न नसकेर घरखेत लिलाम गर्ने अवस्थामा पुगेका छन्। हरपुरकी किसान मुन्ना अन्सारीले दुइबर्ष देखिको भुक्तानी नपाउँदा जग्गाको भाडा,मल,बिउ र खेतालाको ज्याला तिर्न घर बन्दकी राख्नु परेको गुनासो गरिन।  

उखुको उधारो कारोवार र चिनी उद्योगीको दादागिरीबाट आजित भएका अन्सारी र यादव जस्ता थुप्रै किसानहरुले अहिले धमाधाम उखु खेती मास्दै गएका छन। केही केरा खेतीमा लागेका छन। केहीले अन्न बाली लगाएका छन। सिचाइ सुविधा नभएका कतिपय ठाँउमा त खेत बाँझै राखीएको छ।  

उखु उत्पादक कृषक समिति नवलपरासीका अनुसार एकदशक अघि सम्म जिल्लामा झण्डै २० हजार हेक्टरमा उखु खेती हुन्थ्यो। ३२ लाख क्वीन्टल बढी उखु उत्पादन हुन्थ्यो। तर अहिले उखु खेती घटेर जम्मा ५ हजार हेक्टरमा सिमित भएको छ। पछिल्लो दुइ बर्षमा मात्रै २ हजार हेक्टरको उखु खेती मासीएको छ। २०७४ सालमा ७ हजार हेक्टरमा लगाइएको १४ लाख क्वीन्टल उखु क्रसिङ भएको थियो। तर यो बर्ष करिब ५ हजार हेक्टरमा मात्रै उखु लगाइएको उखु उत्पादक कृषक समिति नवलपरासिका अध्यक्ष उमेशचन्द्र यादवले बताए। चिनी उद्योगहरुले दुइ/तीन बर्ष सम्म पनि उखुकोभुक्तानी नदिएपछि किसानले उखु खेती मास्दै गएको यादवले बताए।

दुइ वर्ष अघिको १८ करोड बाँकी

यो जिल्लामा किसानले दुइ बर्ष अघिकै १८ करोड भुक्तानी पाएका छैनन। सुनवलमा रहेको लुम्बिनी चिनी कारखानाले उखु किसानलाइ  १० करोड भुक्तानी दिएको छैन। पोहोर देखि उद्योग बन्द छ। यो रकम २०७५ सालको हो। किसानले लुम्बिनीबाट १० करोड लिन बाँकी भएको दावी गरीरहदा उद्योगले भने जम्मा ८ करोड भुक्तानी बाँकी रहेको दावी गरेको छ।  

जिल्लाकै अर्को उद्योग इन्दिरा सुगर मिलले किसानलाइ ८ करोड भुक्तानी दिन बाँकी छ। यो रकम अघिल्लो बर्षको हो। यो उद्योगले पनि बिभिन्न बाहानामा गत बर्ष मिल नै चलाएन। किसानलाइ ८ कोड तिर्न बाँकी भएको इन्दिराले पनि ४ करोड७० लाख भुक्तानी बाँकी भएको दावी गरीरहेको छ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले इन्दिरा सुगर मिलले बिहिबार सम्म जम्मा ८० लाख निकासा गरेको बताए। तर लुम्बिीनीले भने आन्तरिक मुद्दा मामिला चलीरहेको भन्दै अहिले सम्म भुक्तानीको कुनै प्रक्रिया नथालेको प्रजिअ पाठकले बताए।

 

प्रकाशित: १० पुस २०७७ १०:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App