२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

४३ करोड लागतमा धरानमा स्मार्ट बसपार्क बन्दै, डिपिआर तयार

धरानको स्मार्ट बसपार्कको डिजाइन । तस्बिर सौजन्य :ऋर्षिकेश सर्भिसेस प्रालि

लामो प्रतिक्षापछि धरानको स्मार्ट बसपार्कको विस्तृत आयोजना प्रतिवेदन(डिपिआर) तयार भएको छ। प्रदेश नं १ सरकारले धरानको प्रमुख आवश्यकता मध्येको स्मार्ट बसपार्कको डिपिआर बनाएको हो। यो बसपार्क धरान ८ स्थित तीनकुने सुन्दर बस्ती आयोजनाभित्रको बहुउपयोगी जग्गामा निर्माण हुनेछ। केही महिनाअघि कार्यवाहक मेयर मञ्जु भण्डारीले त्यहाँ बसपार्कको शिलान्यास गरेकी थिइन्। प्रदेश सरकारबाट धरानको स्र्माट बसपार्कको डिपिआर तथा डिजाइन तयार गर्ने ठेक्का ऋर्षिकेश सर्भिसेस प्रालिले पाएको थियो। प्रालिले तयार गरेको डिपिआर प्रदेश सरकारले स्वीकृत गरिसकेको छ।

 बसपार्क धरानमा बन्ने भएकोले प्रत्यक्ष सरोकारवाला धरान उपमहानगरपालिका, जनप्रतिनिधि र यहाँका बस व्यवसायीहरुसँग पनि प्रालिले तीन दिनअघि छलफल गरेको थियो। उक्त छलफलमा डिपिआरमा केही संरचना थप गर्नुपर्ने सुझाव आएको प्रालिका आर्किटेक अम्रित कार्कीले जानकारी दिए। ‘यो डिपिआर प्रदेश सरकारबाट स्वीकृत भइसकेको छ, प्रमुख सरोकारवाला धरान भएकोले त्यहाँबाट आएको सुझाव नोट गरेका छौं, सम्भव भएसम्म थप्छौं,’कार्कीले भने।  

वस्ती विकास आयोजनाको १ बिघा १५ कट्ठा जग्गामा स्मार्ट बसपार्कको डिपिआर तयार भएको हो। यसको कुल लागत अनुमान ४३ करोड गरिएको छ। उपमहानगरको सुझावअनुसार केही संरचना थप गर्दा यो लागत अझै बढ्न सक्ने आर्किटेक कार्कीले बताए। ‘सरोकारवालाबाट आएको सुझाव अनुसार केही थप्ने काम हुँदैछ, त्यसैले लागत पनि बढ्छ,’ कार्कीले भने। उनका अनुसार यो बसपार्कमा विद्युतीय बसको लागि पनि ठाउँ राखिएको छ। स्मार्ट बसपार्कको एउटा बिशेषता साना ठूला विद्युतीय बसको पार्किङ पनि हुने उनले बताए।  

यो स्मार्ट बसपार्क बेसमेन्ट(अण्डरग्राउण्ड पार्किङ) सहितको ३ तलाको हुनेछ। डिजाइन अनुसार सबैभन्दा बेसमेन्टमा २ सय वटा सानो गाडी(सुमो, हायस, कारलगायत) र १ सय ५० वटा मोटरसाइकल अट्ने क्षमता हुनेछ। यस्तै, सतहमा ४९ वटा बस र १५ वटा सानो गाडी राख्ने ठाउँ हुनेछ। सतहबाट गन्तव्यमा छुट्ने गाडीहरु मात्र राखिनेछ। त्यहाँ १२ वटा विभिन्न रुटमा जाने गाडीको पार्किङ(छुट्ने) संरचना निर्माण हुने हालको डिजाइन छ। डिजाइन अनुसार तेस्रो तला टर्निमल भवन यात्रुहरुको प्रयोगमा आउनेछ। त्यहाँ क्याफे, लाइब्रेरी र व्यपारिक कोठाहरु हुनेछ। स्मार्ट बसपार्कको सतहमा कुना तथा केही खाली स्थानमा फूलबारी(बगैँचा) पनि निर्माण हुन्छ।  

धरानमा सरोकारवालाहरुसँगको छलफलमा गाडी छ्ट्ने संरचनाको संख्या दर्जन(१२ वटा)बाट बढाएर १७ वटासम्म राख्न सुझाव आएको थियो। सोही सुझावलाई समेट्न अहिले प्रालिले केही फरिवर्तन गर्ने काम गरिरहेको छ। ‘एकै पटक १२ वटा गन्तव्यमा गाडी छुट्ने डिजाइन छ, त्यो संख्या कम भयो, १७ वटासम्म बनाउनुपर्छ भन्ने सुझाव आएपछि डिजाइन केही फेरिदैछ,’धरान उपमहानगरका इञ्जिनियर सौहार्द श्रेष्ठले भने,‘बसको पार्किङ बढाउनुपर्छ भन्ने सुझाव छ।’

कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले स्मार्ट बसपार्कको डिपिआर तयार हुनु धरानको विकासको लागि ठूलो उपलब्धी हुने बताइन्। उनले ३ तहकै सरकारबीच समन्वय र सहकार्य गरेर यो बसपार्क निर्माण सम्पन्न हुने पनि बताइन्। ‘बजेटको लागि ३ वटै सरकारबीच समन्वय गछौं, र यही आर्थिक वर्षमा निर्माण कार्य सुरु गर्छौं,’भण्डारीले भनिन्,‘धरानको विकास र समृद्धिमा यो ठूलो उपलब्धी हो।’ डिपिआर अनुसार बसपार्क निर्माणको लागि पनि नगर विकास कोष(टि.डि.एफ.)सँग आवश्यक छलफल र परामर्श गर्ने कार्यवाहक मेयर भण्डारीले बताइन्।  

धरानको भानुचोकस्थित बसपार्क अत्यत्नै साँघुरो र अव्यवस्थित भएपछि स्थानान्तरण गर्ने उद्देश्यले डेढ दशकअघि यो आयोजना शुरुवात भएको थियो। तर, बसपार्क स्थानान्तरणको विषयमा राजनीतिक दलहरुबीच खिचातानीले आयोजना नै अलपत्र पर्‍यो। साथै, जग्गा व्यापारी र उपमहानगरका कर्मचारीले आयोजनास्थलमा जग्गा खरीद गरेर बसपार्कसँगै आफ्नो जग्गा पारेर जग्गा विकासको डिजाइन गरेपछि वास्तविक जग्गाधनी एवं स्थानीयबासीले पनि विरोध जनाउदै आएका थिए। लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि आएपछि आयोजनाको समस्या समाधान गर्दै काम अघि बढाउन पटक पटक स्थानीयबासीसँग कार्यवाहक मेयर भण्डारीले छलफल गरेकी थिइन्। उनकै पहलमा आयोजनाको काम अघि बढेको हो।

प्रकाशित: २६ मंसिर २०७७ ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App