४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

लुम्बिनीमा पर्यटकको चहलपहल

कोरोना कहरका कारण चैतदेखि बन्द लुम्बिनीस्थित मायादेवी मन्दिर साढे ८ महिनापछि खुला गरिएको छ। न्यूनतम स्वास्थ्य सुरक्षा मापदण्ड अवलम्बन गरेर लुम्बिनीमा पर्यटक आगमन खुला गरिएको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईले बताए। लुम्बिनी परिसर प्रवेशका ९ वटै ढोका मंसिर ३ गतेदेखि खोलिएको थियो। तर मायादेवी मन्दिर भने गत आइतबारदेखि खुला गरिएको हो।  

पर्यटक प्रवेशका लागि मायादेवी मन्दिर पनि खुला गरिएपछि बुद्ध जन्मस्थलमा पर्यटकको चहलपहल सुरु भएको छ। अहिले दैनिक करिब २ हजारका दरले आन्तरिक पर्यटक आउने गरेको लुम्बिनी विकास कोषले जनाएको छ। तर अघिल्ला वर्षको तुलनामा यो संख्या निकै न्यून हो। आन्तरिक पर्यटकको आगमन सुरु भए पनि बाह्य मुलुकका पर्यटक आएका छैनन्। छिटफुट भारतीयहरू नेपालमा रहेका आफन्तसँग घुम्न आए पनि उनीहरूले आफ्नो परिचय लुकाउने गरेको कोषका कर्मचारी बताउँछन्। कोरोना महामारी सुरु भएपछि परिचय खुल्ने गरी कोही पनि भारतीय लुम्बिनी प्रवेश नगरेको कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए।  

मे र नोभेम्बर लुम्बिनीमा सबैभन्दा धेरै पर्यटक भित्रिने महिना हो। गत वर्षको मेमा १ लाख ५४ हजार र नोभेम्बरमा १ लाख २७ हजार आन्तरिक पर्यटक लुम्बिनी आएका थिए। सोही महिना २९ हजार भारतीयले लुम्बिनी घुमेका थिए। तर यो वर्ष कोरोना कहरले मेमा पर्यटक आगमन शून्य रह्यो। नोभेम्बर १६ देखि आंशिक रूपमा लुम्बिनी खुलेको हो। तर कोरोना डरले आन्तरिक पर्यटकको चहलपहल अहिले पनि निकै पातलो छ।  सन् २०१९ मा १५ लाख ५८ हजार पर्यटक लुम्बिनी आएका थिए। तीमध्ये ११ लाख ७८ हजार आन्तरिक र २ लाख ६ हजार भारतीय पर्यटक हुन्। 

तेस्रो मुलुकका १ लाख ७४ हजार पर्यटकले लुम्बिनीको भ्रमण गरेका थिए। तर यो वर्ष नोभेम्बरसम्ममा पर्यटक आगमन संख्या जम्मा २ लाख ३६ हजार छ। जुनचाहिँ जनवरी, फेब्रुअरी र मार्च २४ सम्मको आगमन हो। जसमा नेपाली १ लाख ७२ हजार, भारतीय ३९ हजार र तेस्रो मुलुकका ४४ हजार पर्यटक आएका थिए।

प्रकाशित: २५ मंसिर २०७७ ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App