१२ वैशाख २०८३ शनिबार
image/svg+xml
अर्थ

आठ जिल्लामा बहुउद्देश्यीय सामुदायिक केन्द्र निर्माण

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेमा निर्माण भएको भवन हस्तान्तरण गरिँदै । तस्बिर: हिमनाथ

नेपालको विभिन्न ८ जिल्लामा बहुउद्देश्यीय सामुदायिक केन्द्र निर्माण भएको छ। विपद्को समयमा पीडितलाई राख्ने तथा अन्य समयमा सभा सम्मेलन गर्न मिल्ने गरी भवन निर्माण गरिएको हो।  

विपद्को समयमा नागरिकलाई राख्नका लागि उचित ठाउँको अभावमा समस्या सिर्जना हुँदै आएको थियो। अन्तर्राष्ट्रिय विपद् सम्बन्धी मापदण्ड अनुसार कम्तिमा ६० जना राख्न मिल्ने गरी भवन बनाइएको हो। अन्य समयमा सभा सम्मेलन गर्दा १ सय ५० जनासम्म सहभागी हुन सकिने छ।

थाइ सरकारको सहयोगमा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) ले आठ जिल्लाको एउटा÷एउटा स्थानीय तहमा भवन निर्माण गरेको हो। एउटा भवन निर्माण गर्नका लागि करिब १ करोड खर्च भएको छ। जनताबाट जनताको लागि सहयोग, पुनर्लाभ र पुनर्निर्माणद्वारा उत्थानशील समुदाय निर्माण परियोजना अन्तर्गत भवन निर्माण भएको संगठनले जनाएको छ। भवनमा महिला, पुरुष र अपांगता भएका व्यक्तिको लागि छुट्टाछुट्टै शौचालय निर्माण गरिएको छ।  

संगठनले रसुवा सहित काठमाडौं, धादिङ, सिन्धुपाल्चोक, ललितपुर, भक्तपुर, दोलखा र गोरखामा भवन निर्माण गरेको हो। जसमा गोरखा जिल्ला बाहेक अन्य जिल्लाको भवन हस्तान्तरण भइसकेको छ।  

संगठनले बुधबार एक कार्यक्रमका बीच रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, धुन्चेमा निर्माण भएको भवन हस्तान्तरण गरेको छ। संगठनकी प्रमुख लोरेना ल्याण्डोले गाउँपालिकाका अध्यक्ष कैसाङ नुुुर्पु तामाङलाई फाइल हस्तान्तरण गरेकी छिन्। धुन्चेमा ९८ लाख ३ हजार ९११ रुपयाँको लागतमा भवन निर्माण भएको हो।

रसुवा माविको जग्गामा निर्माण गरिएको भवनको संरक्षण विद्यालयले गर्ने छ। संगठनले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि आवश्यक सामग्री, ८० वटा प्लाष्टिकको कुर्सी, प्रोजेक्टर लगायतका सामग्री उपलब्ध गराएको छ। केही समय भित्र सवारी दुघर्टना तथा आगालागी भएको बेलामा आवश्यक पर्ने सामग्री उपलब्ध गराउने प्रमुख ल्याण्डोले बताइन्।  

सामग्री नवर्निर्मित ८ वटै भवनलाई उपलब्ध गराइने छ। साथै संगठनले ८ वटा जिल्लाको ८ वटै स्थानीय तहमा खुला क्षेत्रको पहिचान गरेको छ। विपद् आएको समयमा मानिसलाई कता गएर बस्ने भन्ने अन्योल हुने भएकाले संगठनले क्षेत्र पहिचान गरेको हो।  

प्रकाशित: २४ मंसिर २०७७ ११:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App