१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

१२३ बिन्दुले घट्यो सेयर बजार

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा पहिलो त्रैमासिक समीक्षा गरेलगत्तै भएको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा ‘नेगेटिभ सर्किट’ लागेको छ ।  

नेप्से परिसूचक १२३ अंकले घटेपछि पूरा दिन कारोबार हुन नपाई ‘नेगेटिभ सर्किट’ लागेको हो । बिहीबार साँझ राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै सेयर कर्जामा कडाइ गर्न संकेत दिएको थियो ।  

केही समययता बैंक तथा वित्तीय संस्थामा रहेको तरलता सेयर बजारतर्फ लगानी भइरहेको अनुमान थियो । जसले गर्दा सेयर कारोबार ह्वात्तै बढेको थियो । आइतबार सवा २ नबज्दै सेयर कारोबार मापक नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि कारोबार स्थगन गरिएको हो । ११ बजेदेखि खुल्ने कारोबारमा पहिलो घन्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेटका लागि कारोबार स्थगन हुने व्यवस्था छ । त्यस्तै पहिलो घन्टा ४ प्रतिशतले, दोस्रो घन्टा ५ प्रतिशत र तेस्रो घन्टा ६ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक लगाइन्छ । सर्किट बे्रक लगाउँदा लगाउँदै नेप्से परिसूचक १२३ अंकले घटेर १९३२ मा आयो ।  

यस दिन ७ अर्ब २० करोड रूपैयाँ बराबरको सेयर किनबेच भएको छ । बिहीबारको तुलनामा कारोबार रकम पनि घटेको छ । निर्जीवन बिमा ५६९, उत्पादन ३६२, माइक्रोफाइनान्स २२४, व्यापार १५९, जलविद्युत् ८६, होटल ८१, विकास बैंक ७६, बैंकिङ ६४, फाइनान्स १९ र अन्य १६४ बिन्दुले घटेका छन् ।  

यस दिन अघिल्लो दिनसम्म उच्च दरले बढेको पुनर्बिमा कम्पनीका लगानीकर्ताले १० प्रतिशत मूल्य गुमाए । सान्जेन जलविद्युत्, नेपाल टेलिकम, हिमालय डिस्टिलरी, शिवम् सिमेन्ट, हिमालयन जनरल इन्स्योरेन्सको मूल्य पनि १० प्रतिशत हाराहारीमै घटेको छ । एकै दिन यति ठूलो गिरावट बिरलै हुने गर्छ ।  

यसरी घट्यो बजार
अघिल्लो कारोबार २०२४ अंकमा रहेको नेप्से आइतबार ११ बजेर १० मिनेट जाँदादेखि घट्न थालेको हो । त्यसबेला नेप्से २००० मा झरेको थियो । तर ११ बजेर १३ मिनेटपछि पुनः बढ्न थालेको बजार ११ः३४ बजे सर्वाधिक २०३९ अंकमा पुगेको थियो । तर यो क्रम लामो समय टिक्न सकेन । सेयर खरिद गर्नेभन्दा बिक्री गर्नेको चाप बढेपछि घट्न थालेको बजार २ः१३ बजे १९३२ अंकमा पुगेर रोकियो ।  

यसैबीच राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत सेयर धितोमा दिइने कर्जालाई कडाइ गर्ने निर्देशन दिएपछि यसै विषयलाई लिएर आइतबार नै लगानीकर्ताले गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरे । अहिले पछिल्लो १२० दिनको औसत बजार मूल्यमा ७० प्रतिशतसम्म सेयर धितोमा ऋण दिन पाउने व्यवस्था छ । त्यस्तै ब्रोकरको कमिसन पनि घटाउनुपर्ने लगानीकर्ताको माग छ । हाल सेयर खरिद वा बिक्री गर्नेले ब्रोकरलाई ०.४ देखि ०.६ प्रतिशतसम्म कमिसन दिँदै आएका छन् । 

प्रकाशित: २२ मंसिर २०७७ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App