१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘ढोका त खोल्यौं तर भित्र पस्ने पाहुना छैनन्’

कोरोना संक्रमणसँगै बन्द रहेको यहाँको एउटा चारतारेस्तरको रिसोर्ट दुई महिनाअघि सञ्चालनमा आयो। सुरुमा केही आकारमा आन्तरिक पाहुना पाउँदा रिसोर्ट कर्मचारी उत्साही पनि बने। त्यो उत्साह दसैं–तिहारसम्म कायम रह्यो। तर, ६१ कोठाको उक्त रिसोर्टमा अचेल १० प्रतिशत हाराहारीमा मात्र पाहुना छन्।  

सोचेभन्दा कम आकारमा पाहुना आएपछि रिसोर्टका कर्मचारीको उत्साह हराउँदै जान थालेको छ। ‘बन्द गर्नेले, बरु जित्छन्, यो बेला कमाइको त कुरै छाडौं, सञ्चालन खर्च जुटाउन पनि सकस भयो,’ रिसोर्टका म्यानेजरले भने, ‘कर्मचारीलाई तलब खुवाउन त आम्दानीले पुग्दै पुग्दैन। काममा फर्केका कर्मचारीलाई खाना खुवाउन, बत्ती र पानीको महशुल तिर्न भने मुस्किलले पुगेको छ।’ सिमित आकारका पाहुनाको बसाइँसँगै बेलाबखत विवाहका कार्यक्रमले रिसोर्टलाई थोरै भए पनि आर्थिक रूपमा राहत दिएको उनले बताए। तिनै विवाहका कार्यक्रम पनि बढी भीडभाड गर्न नपाउँदा रिसोर्टको आम्दानीमा धक्का पुगेको उनले बताए।  

‘ठूला आकारका होटल लामो समय बन्द गर्दा झनै बढी नोक्सानी हुन्छ। सकेसम्म होटललाई चलायमान बनाइराख्न चाहेका हौं,’ ती म्यानेजरले भने, ‘लामो समय बन्द राख्दा सन्देश पनि नकारात्मक जाने, अनि पुनः सञ्चालनमा ल्याउँदा पनि उल्टो नोक्सानी खेप्नुपर्ने हुन्छ। हुन त अहिले पनि घाटामै चलेका छौं।’ व्यवसाय चलिरहेको सन्देश दिनकै लागि निरन्तर खुला राखेको उनले बताए।  

रिसोर्टले यो बेला आन्तरिक पाहुना तान्न सकिने आँकलन गरेर केही सस्तो प्याकेज ल्याएको थियो। तर, त्यो प्याकेजमा पनि बस्न आउने पाहुना उतिसारो भएनन्। ‘सस्तो प्याकेजले पनि पाहुना तान्न सकिएन। मान्छेमा क्रयशक्ति नै छैन,’ उनले भने, ‘लामो समय ढोका लगाएर राख्दा झनै नोक्सानी बढ्ने भएकाले ढोका त खोल्यौं, तर, भित्रिने पाहुना छैनन्।’ ती म्यानेजरका अनुसार अक्टोबर १ मा रिसोर्ट खुल्दा केही आकारमा स्थानीय पाहुना होटलमा बस्न र खानपिनका लागि पुगेका थिए। पाहुनाको त्यो आगमन दसैंका केही दिन झन्डै ५० प्रतिशत अकुपेन्सीमा उक्लिएको थियो। तर अहिले भने ह्वात्तै तल झरेको उनले बताए।  

कोरोनाका कारण बन्द रहेको निर्मलपोखरीको माउन्टेन ग्लोरी फरेस्ट रिर्सोट एन्ड स्पा अढाइ महिनाअघि सञ्चालनमा आएको थियो। यो रिसोर्टमा ६४ कोठा छन्। शुक्रबार र शनिबार रिसोर्टका २० प्रतिशत हाराहारीमा कोठामा पाहुना हुन्छन्। अरू दिन त्यो भन्दा कम आकारमा पाहुना हुन्छन्। कोरोनाले बन्द गराएको रिसोर्ट पुनः सञ्चालनमा आउँदा सुरुताका कर्मचारी र व्यवस्थापनलाई उत्साही बनाउनेगरी पाहुना पुगेका थिए। त्यो आकार अहिले कम भए पनि रिसोर्ट चलायमान बनाउन सकिएको रिसोर्टका सञ्चालन निर्देशक किरण तुलाधर बताउँछन्। ‘हुन त यो बेला नाफा नै हुन्छ भनेर व्यवसाय खोल्ने अवस्था छैन। तर, चलायमान बनाउन सक्नु पनि ठूलो कुरा हो,’ तुलाधर भन्छन्, ‘सञ्चालनमा राखिरहन सकियो भने होटल जोगिन्छ। ढोका लगाएर बस्ने हो भने होटल नै रहँदैन।’  

जसोतसो सञ्चालनमा राख्न सकियो भने होटलका सबै पूर्वाधारले स्याहारसुसार पाउने उनले बताए। ‘ढोका लगाएर बस्यौं भने त्यही आम्दानी पनि हुँदैन। एकपटक ढोका लगाएपछि सधैंका लागि ढोका लाग्न सक्छ। तर, चलायमान बनाउन प्रयास गर्नुपर्छ।’ उनले ६४ कोठाको रिसोर्ट पाहुनाविहीन अवस्थामा कुनै पनि दिन राख्नु नपरेको बताए। ‘यस्तो अभावको बेला पनि होटल रित्तो राख्नु परेको छैन। होटललाई रित्तो राख्न नपरोस् भन्ने प्रयासमा छौं। कम्तीमा चलायमान बनाउने हो,’ उनले भने, ‘अहिले कमाउने बेला छैन, चलायमान बनाउन प्रयास गर्ने हो।’  

टुकी रिसोर्टका सञ्चालक पुष्प चालिसेका अनुसार अहिले व्यक्तिगत सम्बन्धमा रहेका एकाध र संस्थागत कार्यक्रमका केही पाहुना आएपनि आम्दानीले खर्च धान्न सकिने अवस्था छैन। ‘सेमिनारका सहभागी र व्यक्तिगत पाहुनालाई बेलाबेला स्वागत गर्न पाएका छौं। नत्र आम्दानी नै हुनेगरी व्यवसाय चलेको छैन,’ चालिसे भन्छन्, ‘व्यवसायलाई चलायमान बनाउने प्रयासमा छौं। अहिले बाध्यताले पनि दौडिरहेका छौं। सधैं ढोका थुनेर बस्नु पनि भएन।’ अबको केही महिनापछि धेरथोर कमाइ होला भन्ने आशामा ढोका खोल्न बाध्य भएको उनले बताए। ‘अब कतिन्जेल ढोका थुनेर बस्ने भन्ने हो। अहिलेको आम्दानीले खर्च धान्दैन, तर, व्यवसाय चलायमान बनेको देखिन्छ,’ उनले भने, ‘कम्तीमा होटलले स्याहार पाउँछ भन्ने हो। ढोका लगाएर राख्दा पनि राम्रो देखिन्न।’ 

प्रकाशित: २१ मंसिर २०७७ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App