१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

सेयर बजारमा दिनदिनै कीर्तिमान

नेपालको सेयर बजारमा दिनदिनै कीर्तिमान कायम हुन थालेको छ । पछिल्ला तीन कारोबार दिन लगातार अघिल्ला दिनका रेकर्ड तोडिएका छन् । अघिल्लो साताको अन्तिम कारोबार दिन (बिहीबार) चार वर्षअघि कायम उच्च बिन्दुको कीर्तिमान तोडिएको थियो । त्यस दिन २०७३ साउन १२ गते कायम भएको १८८१ बिन्दुको रेकर्ड तोड्दै नेप्से १८९३ मा पुगेको थियो ।  

उक्त कीर्तिमान एक कारोबार दिन पनि टिक्न सकेन । कारोबारका हिसाबले त्यसको भोलिपल्टै आइतबार नेप्से ७५.०२ बिन्दुले बढेर १९६८.२७ मा पुग्यो । धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार र शनिबार सेयरको कारोबार हुँदैन ।  

आइतबारको कीर्तिमानले पनि बिहीबारकै पदचाप पछ्यायो । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से २८.७९ बिन्दुले बढेर १९९७.०५ मा पुगेपछि आइतबारको कीर्तिमान भंग भएको छ । दिनदिनैको वृद्धिले कोरोना महामारीबाट समग्र अर्थतन्त्र संकटमा परेको बेला सेयर बजारमा हरियाली छाउने क्रम कहिलेसम्म जारी रहन्छ भन्ने प्रश्न उब्जिएको छ ।

विश्लेषक सेयर मूल्यमा यसरी वृद्धि हुनुपर्ने कुनै कारण नभएको तर्क गर्छन् । अधिकांश बैंक तथा वित्तीय संस्था र विभिन्न कम्पनीले यो वर्ष अघिल्लो वर्षको तुलनामा थोरै लाभांश दिने अनुमान छ । कतिपयले अघिल्ला वर्षको तुलनामा कम लाभांश दिने घोषणा गरिसकेका छन् ।  

नेप्सेका प्रवक्ता मुराहरि पराजुली यतिखेर सेयर कारोबार वृद्धि हुनुमा खरिदबिक्री कारोबार अनलानइबाट हुनुलाई कारण ठान्छन् । ‘त्योबाहेक बैंक तथा वित्तीय संस्थामा अधिक तरलता रहेकाले सस्तो ब्याज तिर्ने गरी लिएको कर्जा सेयरमा लगानी भइरहेको छ,’ उनले भने ।  

कतिपय विश्लेषकहरू सेयर कारोबार वृद्धि हुनुलाई सेयरप्रति सकारात्मक मानिने विष्णुप्रसाद पौडेल अर्थमन्त्री बन्नु र अन्तर्राष्ट्रिय सेयर बजारमा भइरहेको वृद्धिप्रति नेपाली सेयर बजारको प्रतिक्रिया ठान्छन् । चार वर्षअघि पनि अर्थमन्त्री पौडेलकै पालामा नेप्सेले नयाँ कीर्तिमान बनाएको थियो । सोमबार एक सय ९८ कम्पनीका दुई करोड ५१ लाख ९१ हजार कित्ता सेयर आठ अर्ब ८६ करोड ७७ लाख १४ हजार रूपैयाँमा किनबेच भयो । रकम भने अघिल्लो दिनको तुलनामा थोरै कम हो ।  

बैंकिङ सूचकमा करेक्सन
अघिल्लो दिन उच्च दरमा बढेको बैंकिङ र विकास बैंक उपसमूहको परिसूचकमा दोस्रो दिन करेक्सन देखिएको छ । सोमबार बैंकिङ उपसमूहको परिसूचक ०.४८ प्रतिशत र विकास बैंकको २.०८ प्रतिशतले घट्यो ।  

यस दिन कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । उक्त कम्पनीको ३८ करोड ४८ लाख रूपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भयो । त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको ३७ करोड ३४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।  

त्यसैगरी, प्रभु बैंक र नेपाल बंगलादेश बैंकको सेयर कारोबार ३३ करोड रूपैयाँभन्दा बढीको भयो । बजारमा जीवन बिमा समूहको सूचक ८२३ बिन्दुले बढेको छ । त्यस्तै, निर्जीवन बिमा समूह १९३, ट्रेडिङ १५१, हाइड्रो ८९, उत्पादनमूलक ७३, अन्य ४० र माइक्रोफाइनान्स ३७ बिन्दुले बढ्यो ।  

सोमबार नौ कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढी कमाएका छन् । सबैभन्दा बढी युनाइटेड मोदी हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशत कमाए । आइतबार जस्तै सोमबार पनि विशाल बजार कम्पनीका लगानीकर्ताले १० प्रतिशत गुमाए । त्यस्तै, बोटलर्स नेपाल(तराई) का लगानीकर्ताले ५.४२ प्रतिशत गुमाए ।

सजगतापूर्वक लगानी गर्नू: सेबोन
धितोपत्र बोर्डले लगानीकर्तालाई सजगतापूर्वक लगानी गर्न आग्रह गरेको छ । फाइदाको दृष्टिकोणले गतिलो कारण नदेखिएकै बेला सेयर बजारमा अस्वाभाविक उछाल आएपछि सोमबार बोर्डले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो ।

बोर्डले अर्थतन्त्रको विकासमा पुँजी बजारको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै पुँजी बजारको विकास र विस्तार सूक्ष्म रूपमा अनुगमन र सुपरिवेक्षण गरिरहेको जनाएको छ । बोर्डले जारी गरेको विज्ञप्तिमा पुँजी बजारका स्थापित मूल्य र मान्यताअनुरूप सूचीकृत संस्थाको वित्तीय अवस्थाको साथै प्राविधिक पक्ष र समग्र वित्तीय तथा आर्थिक परिसूचक विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुने उल्लेख छ ।  

धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी लगानीको सुरक्षासमेतलाई दृष्टिगत गरी सुझबुझपूर्ण निर्णय गर्न लगानीकर्तालाई आग्रह गरिएको छ । पछिल्लो समयमा सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ताको संख्या पनि बढ्दै गएको छ । हाल डिम्याट खाताको संख्या २१ लाख ८० हजार पुगेको छ ।

प्रकाशित: १६ मंसिर २०७७ ०५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App