५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

बैंकबाट ऋण लिँदै, लगानी गर्दै

सेयरमा अर्को कीर्तिमान

बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने क्षेत्र नभेटेपछि थुप्रिएको तरलता सेयर बजारमा लगानी हुन थालेको छ ।  

बैंक, वित्तीय संस्थाबाट ऋण लिएर लगानी गर्दा दिनप्रतिदिन सेयर बजारमा नयाँ नयाँ कीर्तिमान कायम हुने क्रम चलेको छ । साताको पहिलो दिन आइतबार सेयर बजारको मापक नेप्से ७५.०२ बिन्दुले वृद्धि भई १९६८.२७ मा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार नेप्से १८९३ बिन्दुमा पुगेर रोकिएको थियो ।  

कोरोना महामारीका कारण अधिकांश बैंक, वित्तीय संस्थाले दिने प्रतिफल कम देखिए पनि लगानीकर्ता भने सेयर बजारमा झुम्मिन थालेका छन् । लगानीकर्ताका अनुसार यतिखेर एकातिर निक्षेप लगानी गर्ने ठाउँ छैन भने अर्कोतर्फ बैंक, वित्तीय संस्थाले सेयर कर्जा दिन थालेपछि त्यसको प्रभाव सेयर बजारमा देखिन थालेको छ ।

दसैं, तिहार जस्ता ठूला चाडपर्व सकिए पनि यतिखेर बैंक, वित्तीय संस्थाले लगानीका क्षेत्र फेला पारेका छैनन् । विगतमा यतिखेर बैंक, वित्तीय संस्थालाई तरलता अभाव हुने गथ्र्यो । यो वर्ष बैंकिङ प्रणालीमा व्यापक तरलता थुप्रिएको छ ।  

सम्बद्ध अधिकारीहरू अनुसार यतिखेर बैंक तथा वित्तीय संस्थामा करिब दुई खर्ब रूपैयाँ तरलता छ । अधिक तरलता भएपछि तिनले निक्षेप र कर्जाको ब्याज घटाउँदै लगेका छन् । घर र सवारी कर्जाको ब्याजदर एकल अंकमा झारिएको छ ।  

आइतबार नेप्सेसँगै कारोबार रकमले पनि नयाँ कीर्तिमान बनाएको छ । यस दिन दुई सय कम्पनीको नौ अर्ब २२ करोड ७३ लाख ४८ हजार रूपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको ५१ करोड ७९ लाख ९१ हजार रूपैयाँ बराबरको सेयर खरिदबिक्री भयो । त्यस्तै, कुमारी बैंकको ४० करोड ८० लाख ६२ लाख रूपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ । कुमारीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतबार नै हो । यस दिन १० भन्दा बढी कम्पनीको सेयरमा सकारात्मक सर्किट लेवलमा करोबार भयो । सेञ्चुरी कमर्सियल, ग्रिन डेभलपमेन्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै सनराइज, माछापुच्छ«े, मेगा, ग्लोबल आइएमई, नेपाल बंगलादेश लगायत बैंकको सेयर मूल्य पनि सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।

लगानीकर्ताको ध्यान बैंकमा
यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ८ को परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ समूहको उपसूचक ११२.३२ बिन्दुले बढेको छ । यस दिन विकास बैंक उपसमूहको परिसूचक ८.११ प्रतिशत अर्थात १७३ बिन्दुले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

प्रकाशित: १५ मंसिर २०७७ ०४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App