१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरा उद्योग वाणिज्य संघको ३३औं अधिवेशन माघमा

अध्यक्षमा तीनजना आकांक्षी

पोखराकै जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य संघको ३३औं अधिवेशनको संघारमा छ। आगामी माघ महिनामा अधिवेशन गर्ने सम्भावना छ। भर्खरै नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशन टुंगिए लगत्तै पोखराको अधिवेशन गर्ने संघारमा जुटेको छ। संघको कार्यसमिति बैठकले अघिवेशनको मिति तय गर्ने छ। ३२औं अधिवेशनबाट नेतृत्व लिएका दामु अधिकारीको दुई वर्षे कार्यकाल सकिएको छ। कोभिड–१९ कै कारण महाधिवेशन रोकिएको हो।  

‘अबको कार्यसमिति बैठकले अधिवेशनको मिति तय गर्छ’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अघिकारीले भने–‘मंसिर आधाआधी बित्यो। पुसभित्रमा अल्लि सकिन्न। माघमा गर्ने तयारी छ।’ अधिवेशन गर्ने विषयमा कार्यसमिति तथा व्यवसायीहरुसँग छलफल गरेर निर्णय गरिने उनले बताए। जिल्ला प्रशासन कार्यालय कास्कीको स्वीकृति लिएर गर्नुपर्ने अवस्था छ। प्रशासनले पनि केही समय कुर्नुस भन्ने अभिव्यक्तिकै कारण माघमा गर्ने सोचमा रहेको उनले बताए। भौतिक दूरी तथा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने दायित्व र जिम्मेवारी छ।

उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लाग तीन जना आकांक्षी छन्। बर्तमान बरिष्ठ उपाध्यक्ष नारायण कोईराला, उपाध्यक्षद्वय पवन प्रजापति र विन्दु कोईराला सुवेदी अध्यक्षको आकांक्षी हुन्। सर्वसम्मतको प्रयास पनि नभएको होईन। यद्यपी अधिवेशनको मिति तय नहुदाँ माहौल अझै गर्मिलो भईसकेको छ । आन्तरिक गृहकार्य भने चलिरहेको छ। ‘बरिष्ठबाट अब अध्यक्ष नै जाने हो। त्यसको लागि तयारीमा छु’ वर्तमान पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नारायण कोईरालाले भने–‘सम्भव भएसम्म सर्वसम्मत गर्ने हो। चुनावको पाटो त छदैं छ।’ कोभिड–१९ले व्यापार व्यवसाय चौपट छ। नयाँ नेतृत्वले व्यवसायलाई सम्बोधन गर्नुपर्ने दायित्व र जिम्मेवारी छ। संघलाई व्यवसायीको हकहितको लागि अपनत्व कायम गराउनुपर्ने अवस्था समेत नयाँ नेतृत्वले देखाउनुपर्ने खाँचो छ। ‘संघलाई अपनत्व गराउने र जिम्मेवारी बोध गर्ने गरी काम गर्नुपर्छ।’ उनको भनाइ थियो।

वाणिज्य तर्फबाट उपाध्यक्ष बनेका पवन प्रजापति अध्यक्षको लागि आन्तरिक लबिङमा छन्। उनले पनि सर्वसम्मतको लागि प्रयास भईरहेको उल्लेख गरे। संघका पूर्व अध्यक्षहरु, सल्लाकारहरुको छलफलबाटै सर्वसम्मतको प्रयास गरिने छ। सर्वसम्मत नभए चुनावी मैदानमा उत्रिने उनी सुनाउँछन्। कोरोना कहरकै कारण पोखरा उद्योग वाणिज्य संघको सभाहलमा भौतिक दूरी कायम गर्न नसकिने हुँदा पोखरा–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा गर्न सकिने छ। ‘प्रदर्शनी केन्द्रमै १५/२० वटा बुथ राखेर चुनाव गर्न सकिन्छ’ उनको भनाइ थियो।

उद्योग तर्फबाट उपाध्यक्ष बनेकी विन्दु कोईराला सुवेदी आफू एक मात्र अध्यक्षको प्रत्यासी रहेको दाबी गरेकी छन्। ‘उद्योग वाणिज्य मै सबैभन्दा सिनियर नै हुँ।’ उनले भनिन्–‘अध्यक्ष बाहेक अर्को विकल्प छैन।’ उपाध्यक्ष बस्नको लागि अघिल्लो पटक नै छलफलबाटै आग्रह गरेपछि मान्दिएको सुनाउँदै उनले थपिन–‘मूल्यांकनकै आधारमा मेरो अध्यक्षमा दाबी हो।’ उनले अघिल्लो कार्यकालमै अध्यक्षमा आफूले त्याग गरेको सुनाइन्। सर्वसम्मतमा आफ्नो पनि एकमत भएको उल्लेख गर्दै सबै बसेर छलफलमा आफ्नो मूल्यांकन हुनुपर्नेमा जोड दिइन्।  

पोखरा उद्योग वाणिज्य संघमा २९ सदस्यीय निर्वाचित कार्यसमिति रहने छ। अध्यक्ष, निवर्तमान अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष(उद्योग), उपाध्यक्ष(वाणिज्य), महासचिव, कोषाध्यक्ष, उपमहाचिव रहने छन्। त्यसैगरी १० जना खुला सदस्यबाट निर्वाचित हुने प्रावधान छ। बस्तुगतबाट ४, कर्पोरेटबाट २, औद्योगिकबाट १ र ४ जना मनोनित सदस्यको रुपमा रहने व्यवस्था छ। निजी क्षेत्रको छाता संस्था उद्योग वाणिज्य संघ विस्तारै राजनीतिकरणले घेरिदैं गएको छ। राम्रो भन्दा पनि हाम्रो भन्ने परिपाटीको विकास हुँदै गएको छ। पार्टीगत राजनीति प्रत्यक्ष हावी भएको छ। खुलेरै पार्टीले सहयोग गर्ने परिपाटी विगतको अधिवेशनले देखाइएसकेको छ।

प्रकाशित: १४ मंसिर २०७७ ०८:०३ आइतबार

पोखरा उद्योग वाणिज्य संघ ३३औं अधिवेशन