२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

किराको प्रकोपले म्याग्दीमा करिब ४० प्रतिशत सुन्तलको उत्पादन

सह उत्पादनमा गिरावटसँगै आम्दानी घट्ने भएपछि किसान चिन्तित

बेनी नगरपालिका–४, बास्कुनाको सुन्तला टिप्दै किसान । तस्बिर: हरिकृष्ण गौतम

म्याग्दीमा यसवर्ष विगतको तुलनामा सुन्तला उत्पादन घट्ने भएको छ। चाईनीज सिडरस फुड फ्लाई (औंसा) नामक किराको प्रकोपका कारण सुन्तला उत्पादनमा कमी आउने देखिएको हो। सुन्तलाको बोटमा औंसा किरा लागेर फल पहेंलो हुँदै झर्न थालेपछि किसानहरु चिन्तित भएका छन्। म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीको राखु, मरेक तथा ४ नम्बर वडा सिङ्गाको बास्कुना, सुर्केमेला, थामडाँडासहित मंगला र मालिका गाउँपालिकाको विभिन्न वडामा लगाइएको सुन्तला खेतीमा औंसा किराको प्रकोप देखिएको छ।  

रोग किराको प्रकोपका कारणले गर्दा बोटमा लागेको दाना (फल) ठूलो भए पनि यसवर्ष विगतको तुलनामा सुन्तला उत्पादन घट्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। सुन्तलाको बोटमा औंसा किरा लागेर पाक्न लागेको सुन्तला झरेपछि आफूहरु समस्यामा परेको बास्कुनाका अगुवा कृषक तिलक गुरुङले गुनासो गरे। ‘किराले सखाप पारेको छ,‘धेरै कृषकले धेरै क्षती बेर्होनुपरेको अवस्था छ’ उनले भने।  

अधिकांश कृषकको बोटमै सुन्तला झर्न थालेको हुँदा गतवर्ष भन्दा यसवर्ष उत्पादनमा कमी आउने उनले बताए। गतवर्ष बास्कुना–सुर्केमेला र थामडाँडा क्षेत्रबाट मात्रै ४० लाखको सुन्तला बिक्री भएको थियो। बास्कुना, सुर्केमेला र थामडाँडा क्षेत्रमा मात्रै ७० घरधुरीले २० हजार बोट सुन्तला लगाएका छन्भने तीमध्ये ७ हजार बोटले उत्पादन दिएको छ।  बास्कुना क्षेत्रमा उत्पादित सुन्तला बास्कुना कृषि सहकारीमार्फत बिक्री वितरणको व्यवस्था मिलाइएको छ। प्रतिकेजी ६५ रुपैयाँ मूल्य तोकिएको सुन्तला बिक्रीबाट उत्पादनको २ प्रतिशत रकम सहकारीलाई दिने समेत सहमति किसानमा भएको सन्दिप खत्रीले बताए। यसपटक बास्कुनामा ‘ए’ र ‘बि’ ग्रेडका मात्रै सुन्तला रहेका छन्।  

नबलपरासीलगायत जिल्लाबाट सुन्तला खरिद गर्न ठेकेदारहरुले सम्पर्क गरेर बोटमै आउने गरेको खत्रीको भनाई छ। उनले आफ्नो बगैंचाबाट ६ लाखका सबै सुन्तला विक्री गरेको बताए। बास्कुनाका कृषकहरुले सुन्तला ठेक्कामा बेच्दै आएका छन्। सुन्तलाको बोटमा औंसा किरा लागेका कारण यसपटक २० प्रतिशतले सुन्तला उत्पादन घट्ने ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले बताए। सुन्तलामा रोग किराको प्रकोप देखिएपछि आफूले स्थलगत रुपमा अनुगमन गरेको बताउँदै उनले किरा लागेर झरेको दानालाई सङ्कलन गर्न किसानहरुलाई प्लाष्टिक सहयोग गरिएको जानकारी दिएका छन्।  

औंसा किरा जुनारपछि सुन्तला खेतीमा लागेको हुँदा झरेका सुन्तला सङ्कलन गरी व्यवस्थापन गर्न किसानहरुलाई आग्रह गरिएको उनले बताए। रोग, किराको प्रकोप तथा यसवर्ष अत्यधिक वर्षाका कारण गुणस्तरमा कमी आएको हुँदा सुन्तला उत्पादन घट्ने कृषि प्रसार अधिकृत पाण्डेको भनाइ छ। रोग तथा किराको उपचार गर्न आगामी दिनमा सुन्तला उत्पादक किसानहरुको बगैंचा र बोटमा प्रोटिन बेट (खाद्य पासो) थापेर औंसा किराको नियन्त्रण गर्न किसानलाई तालिम समेत दिने तयारी भइरहेको छ।  

म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुँदै आएको छ। जिल्लाको ६ वटै स्थानीय तहको ७ सय १० हेक्टर जमिनमा सुन्तला खेती भइरहेकोमा यसबर्ष २ सय ८० हेक्टरबाट २ हजार ३१० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ। जिल्लामा बार्षिक १७  करोड हाराहारीमा सुन्तला विक्री हुने अनुमान गरिएको कृषि केन्द्रले जनाएको छ।  

प्रकाशित: १४ मंसिर २०७७ ०६:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App