१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

'व्यावसायिक हकहितमा काम गर्न चाहेको हुँ'

नेउवामहासंघको निर्वाचन

अन्जन श्रेष्ठ, वस्तुगत उपाध्यक्षका प्रत्यासी

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयन गर्नका लागि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारणसभा तथा अधिवेशन हुँदैछ । वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोर प्रधानको प्यानलमा रहेर अन्य उपाध्यक्षहरु पनि चुनावी मैदानमा छन् । वस्तुगत उपाध्यक्षतर्फ प्रधान प्यानलका प्रत्यासी अन्जन श्रेष्ठसँग महासंघलाई अघि बढाउने अजेन्डा, कोभिडले थला परेको अर्थतन्त्रलाई माथि उठाउने, उद्योगी, व्यवसायीको हितमा काम गर्ने के कस्ता योजना छन्, महासंघको गुटगत राजनीति लगायत विषयमा नागरिककर्मी दिलीप पौडेलले गरेको कुराकानीको सम्पादित अंश:

उद्योग वाणिज्य महासंघको वस्तुगततर्फ उपाध्यक्ष पदका लागि चुनावी मैदानमा हुनुहुन्छ ? तपाईंका अजेन्डा के हुन् ?
मुख्य अजेन्डा मुलुकको सामाजिक, आर्थिक रूपान्तरणमा योगदान गर्ने नै हो । आर्थिक समृद्धि ल्याउन निजी क्षेत्रको तर्फबाट सघाउने । कोरोनाले धराशयी बनेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काउने चुनौतीलाई अवसरमा परिणत गर्ने । अर्थतन्त्रमा निजी क्षेत्रको ७० प्रतिशत योगदान छ । सरकारले निजी क्षेत्रको भूमिका खोजेको छ । यो जिम्मेवारी पूरा गर्ने दायित्व हाम्रो काँधमा आएको छ । औद्योगिकीकरण, रोजगारी सिर्जना, व्यापार घाटा कम गर्न विशेष ध्यान दिनेछौं । लगानी बढाउन नीतिगत स्पष्टताका लागि लबिङ गर्नुपर्छ । उत्पादन लागत घटाउनु पर्नेछ । त्यसका लागि पूर्वाधार निर्माण गरेर कच्चा पदार्थको आयातमा सहजता र उत्पादित वस्तुलाई बजारमा पु-याउने वातावरण तयार गर्नुपर्छ । व्यवस्थित सडक सञ्जाल र रेल्वे लाइन विस्तारमा सरकारलाई दबाब दिन्छौं । बैंकको ब्याजदरको लागत कम गर्नुपर्नेछ ।  

लकडाउनपछि मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउनुपर्ने जिम्मेवारी थपिएको छ । कृषिमा यान्त्रिकीकरण, आधुनिकीकरण, व्यावसायिकीकरण गर्नुपर्नेछ । किसानले मल पाउन सकेका छैनन् । पर्यटन क्षेत्रको विकास गनुपर्नेछ ।  

श्रम बजारलाई व्यवस्थित बनाउनुपर्छ । विदेशबाट काठ आयात भइरहेको छ । वनपैदावारलाई प्रयोगमा ल्याउने र जडीबुटी प्रशोधन गर्ने वातावरण बनाउनुपर्छ । खानीको व्यवस्थापन गर्नुपर्छ । विगतमा सरकारले सिमेन्टका लागि १० करोड बजेट विनियोजन ग-यो । सिमेन्ट उद्योगसम्म सडक पु-याउने र बिजुलीको काम ग-यो । सिमेन्ट उद्योगलाई सहुलियत दिँदा अहिले आत्मनिर्भर भएर सिमेन्ट आयात गर्ने मुलुक निर्यात गर्नेमा पुग्यो । सिमेन्टमा जस्तै अरू वस्तुमा पनि त्यो अवस्था आउन सक्छ । यी विविध विषयमा सरकारसँग छलफल गरेर देखिएका बाधा, अबरोध हटाउने र निजी क्षेत्रमैत्री वातावरण बनाउँदै आर्थिक समृद्धिमा सघाउने अजेन्डा छन् ।  

महासंघको निर्वाचनमा राजनीतिक दलको जस्तो उम्मेदवारहरूको प्यानल खडा भएको छ । अजेन्डामा प्रतिस्पर्धा हुनपर्नेमा चरम गुटबन्दी र धु्रवीकरण देखिएको छ । यसले भोलिका दिनमा महासंघ चलाउन कठिन हुँदैन ?  
महासंघमा राजनीतिक दलमा जस्तो प्यानल भयो भन्ने विषयमा मेरो फरक मत छ । महासंघ व्यावसायिक संस्था हो । जहाँ पनि विभिन्न विचारका व्यक्ति हुन्छन् । महासंघ अमुक राजनीतिक दलको संगठन होइन । यहाँ कुनै राजनीतिक संगठनको सदस्य छ भने चुनाव लड्न पाउँदैन । महासंघमा धेरै साथीहरू आंकाक्षी छन् । ती आकांक्षीले आफ्नो समूह बनाएका छन् । लक्ष्य, उद्देश्य मिल्नेले प्यानल बनाएको हो । त्यसलाई अन्यथा रूपमा लिनु भएन । यो चुनावसम्मको लागि हो । निर्वाचनपछि जसले जित्छ सबै कुरा बिर्सिएर व्यवसायीको हकहितमा काम गर्नुपर्छ ।

महासंघ नेतृत्वमा आउने होडबाजी र आकर्षण किन ?
व्यवसायी भएपछि आफ्नो व्यवसायसँग सम्बन्धित निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको नेतृत्वमा आउने आकांक्षा राख्नुलाई स्वाभाविक मान्नुपर्छ । त्यहाँ गएर उद्यमी, व्यवसायीको लागि औद्योगिक, लगानीमैत्री वातावरण निर्माण गर्न आफ्नोतर्फबाट योगदान गर्न महासंघमा जाने हो । अहिले र भोलिका पुस्ताका लागि लगानीको सुरक्षा तथा व्यावसायिक हकहितका लागिका लागि काम गर्न नेतृत्वमा आउन चाहेको हुँ । यसलाई होडबाजी र आकर्षणभन्दा पनि आफ्नो क्षेत्रबाट केही योगदान गरौं भन्ने चाहनको रूपमा स्वाभाविक मान्नुपर्छ ।

महासंघमा पुगेपछि सरकार र उच्च राजनीतिक नेतृत्वसँग सम्बन्ध राखेर व्यक्तिगत स्वार्थ र व्यापार, व्यवसायको हितमा काम गर्ने गरेको आरोप लाग्ने गरेको छ । यसलाई कसरी हेर्नुहुन्छ ?  
मलाई त्यस्तो हो जस्तो लाग्दैन । म अरूको कुरा गर्दिनँ । महासंघले समग्र निजी क्षेत्रको लागि सामूहिक लबिङ भएको छ । त्यहाँ व्यक्तिगतभन्दा पनि संस्थागत अभ्यास हुन्छन् । निजी क्षेत्रको हकहितका लागि काम भएको छ ।  

समग्र उद्योगी, व्यवसायीप्रति आम सर्वसाधारण र सरकारी अधिकारीले हेर्ने दृष्टिकोण त्यत्ति सकारात्मक छैन । सामाजिक उत्तरदायित्वभन्दा नाफामा मात्र केन्द्रित हुन्छन् भन्ने आरोप छ । उद्योगी, व्यवसायीको इमेज कसरी सुधार गर्ने ?
व्यवसायी भनेको नाफाका लागि हो भनेर बुझ्नु प¥यो । जहाँ व्यवसायी छ, त्यहाँ नाफा छ । नाफा छैन भने व्यवसायी छैन । समाज सेवाका लागि व्यवसायमा आएको होइन । व्यवसायीले नाफाको कसीमा दाँज्दा उचित या अनुचित के गरेको छ हेर्नुपर्छ । सरकारले औद्योगिक व्यवसाय ऐनमा एक प्रतिशत सिएसआर गर्नुपर्छ भनेरको छ । त्यो नियमावली नल्याउँदा हामीले खर्च गर्न सकिरहेका छैनौं । मुलुकमा अप्ठेरो पर्दा सधैं सघाएका छौं । भूकम्प, नाकाबन्दी, बाढी पहिरो, कोभिडको बेला सहयोग गरेको छ ।  

कोभिडको कारण उद्योग, व्यवसाय थला परेको छ । अर्थतन्त्रको पुनरुत्थानका लागि निजी क्षेत्र र सरकारले गर्नुपर्ने काम के हुन् ? यसमा तपाईंका रणनीति के छन् ?
कोडिभको कारण मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक हुने अवस्था छ । कोभिडलाई जीवन पद्धति बनाएर व्यवसाय विस्तारै सञ्चालन हुँदैछ । सरकारले लगानीको वातावरण बनाउन नीतिगत स्पष्टता दिनुप¥यो । लागू गर्न सक्ने नीति–नियम बनाउनु प¥यो । निजी क्षेत्रलाई नियन्त्रण गर्ने सोच राख्नु भएन । निजी क्षेत्रलाई हेर्ने, सोच्ने, बुझ्ने दृष्टिकोण परिवर्तन हुनुप¥यो । अवसर छ भने निजी क्षेत्र लगानी गर्न आउँछ । अहिले सेयर बजारलाई हेर्न सक्नुहुन्छ । लगानीका लागि पैसाको कमी छैन । लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्छ ।

महासंघको निर्वाचनमा यहाँलाई उद्योगी, व्यवसायीले मत किन दिने र यहाँको जित्ने आधार के हो ?
मेरो ३० वर्षको अनुभव र व्यावसायिक सफलताबाट नै म नेतृत्व गर्न सक्षम छु जस्तो लाग्छ । नाडाको नेतृत्व सक्षमतासाथ पूरा गरेको छु । विभिन्न संस्थामा पदाधिकारी भएर सफल नेतृत्व गरेको छु । महासंघमा १२ वर्षदेखि कार्यसमितिमा बसेर मैले गरेको योगदान सबै उद्योगी, व्यवसायीलाई थाहा छ । राजस्व समिति, उद्योग समितिको सभापति, रोजगार परिषद्मा सदस्य बनेर जिम्मेवारी पूरा गरेको छु । सरकारका विभिन्न निकायमा प्रतिनिधित्व गरेर सेज, नेपाल गुणस्तर तथा नापतौल विभागमा निजी क्षेत्रको तर्फबाट योगदान गरेको छु । 

प्रकाशित: १० मंसिर २०७७ ०३:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App