१० पुस २०८१ बुधबार
image/svg+xml १८:५८ अपराह्न
अर्थ

उदयपुरको सबैभन्दा ठूलो करदाता ‘नेपाल ट्रेडिङ’ सम्मानित

करदाता र कर्मचारी सम्मानपछि कर अधिकृत बुढाथोकी । तस्बिरः महेश्वर

गएको आर्थिक वर्ष सबैभन्दा बढी कर तिर्ने व्यापारिक फर्म र उत्कृष्ट कर्मचारी सम्मानित भएका छन्। ‘नवौं कर दिवस ०७७’ को अवसरमा करदाता सेवा कार्यालय गाईघाटले सञ्चालन गरेको साताव्यापी कार्यक्रमको अन्तिम दिन आईतबार अधिक करदाता उदयपुरको ‘नेपाल ट्रेडिङ एण्ड हार्डवेर प्रालि कटारी’ र कार्यालयका उत्कृष्ट कर्मचारी नायव सुब्बा टेकबहादुर कार्कीलाई सम्मानित गरेको हो।  

कार्यालयले मंसिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह मनाएको थियो। कर सप्ताहको समापनको अवसरमा आईतबार आयोजित एक कार्यक्रममा प्रालि र कार्कीलाई सम्मन गरिएको कार्यालय प्रमुख अधिकृत सुमन बुढाथोकीले बताए। प्रालिले गत आर्थिक वर्ष सबैभन्दा बढी राजश्व तिरेको थियो भने कार्कीले वर्षभरी राम्रो काम गरेको प्रोत्साहनस्वरुप सम्मान गरिएको सुबेदीले बताए।  

सम्मान पाएको प्रालिले गत आर्थिक वर्ष २६ लाख ३१ हजार ४ सय ९६ रुपैयाँ राजश्व बुझाएको थियो। करदाता सेवा कार्यालय गाईघाटले ०७६/७७ मा जम्मा ६२ करोड ९९ लाख ७४ हजार ५ सय २८ रुपैयाँ १८ पैसा राजश्व संकलन गरेमा प्रालि सबैभन्दा ठूलो करदाता सावित भएकाले सम्मान तथा अभिनन्दन गरिएको अधिकृत बुढाथोकीले बताए। उनका अनुसार त्यसको अघिल्लो वर्ष ०७५/७६ मा ४३ करोड ९० लाख १३ हजार ३ सय ७२ रुपैयाँ ६५ पैसा संकलन हुँदा पनि प्रालि ठूलै करदाता थियो।  

सम्मान कार्यक्रमसँगै नवौँ राष्ट्रिय कर दिवसको समापन भएको छ। यो वर्षको कर दिवसको अवसरमा कोभिडका कारण धरासायी हुन पुगेको अर्थतन्त्र जोगाउन राज्यले अघि सारेको करमा बिभिन्न किसिमका छुटबारे प्रचारप्रसार अभियान सञ्चालन गरिएको बुढाथोकीले बताए। उनका अनुसार आर्थिक ऐन २०७७ ले व्यवस्था गरेको छुट सुविधाबारे आकर्षक योजना (स्कीम) सरकारले अघि सारेको छ। सोसम्बन्धी करदातालाई जानकारी गराउन यो वर्षको कर दिवसलाई केन्द्रित गर्दै प्रचार अभियान चलाइएको अधिकृत बुढाथोकीले बताए।  

प्रचार अभियान सदरमुकाम गाईघाटदेखि मुख्य व्यापारिक केन्द्रहरु कटारी, बेल्टार र रामपुर बजार तथा अन्य सहायक व्यापारिक केन्द्रमासमेत सञ्चालन गरिएको छ। कोभिडले थलिएको व्यापारिक क्षेत्रलाई उठाउन चालु वर्षको कर चुक्ता गर्दा बिभिन्न ४ किसिमका सुविधा करदातालाई दिइएको अधिकृत बुढाथोकीले बताएका छन्। ०७४/७५ देखि ०७६/७७ सम्मको आय विवरण बुझाउँदा लाग्ने कर ०७७ फागुन मसान्तसम्म बुझाएर स्थायी लेखा नम्बर (पान) लिनेलाई शूल्क र व्याज मिनाहा हुने नीति सरकारले लिएको छ।  

त्यस्तै वार्षिक ५० लाखभन्दा बढी कारोबार गरेको तर, निकायगत पान नलिएर आय विवरण पेश नगर्नेलाई आर्थिक ऐन ०७७ ले ०७३/७४ वा सोअघिको आय विवरण, त्यसको आयकर र लाग्ने व्याजमा २५ प्रशित हर्जाना ०७७ फागुनभित्र बुझाउँदा छुट दिइनेछ।

०७५ असार मसान्तसम्मको मूल्य अभिबृद्धि कर (भ्याट) बुझाउन बाँकी करदाताले आर्थिक ऐन ०७७ को दफा २१ (३) अनुसार सुविधा बमोजिम बुझाउनुपर्ने कर विवरण, सो अनुसारको भ्याट र त्यसमा लाग्ने व्याजको ५० प्रतिशत हर्जाना पनि ०७७ फागुनसम्म बुझाए जरिवाना र थप दस्तुर तथा बाँकी व्याज मिनाहा हुने आकर्षण सरकारले अघि सारेको छ।

प्रकाशित: ७ मंसिर २०७७ १४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App