७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

जलविद्युतमा ३८ अर्ब ६८ करोड लगानी स्वीकृत

लगानी बोर्डले सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा निर्माण हुने तीन जलविद्युत् परियोजनाको लागि ३८ अर्ब ६८ करोड रूपैयाँको लगानी स्वीकृत गरेको छ । लगानी बोर्ड सञ्चालक समितिको मंगलबार बसेको ४५औं बैठकले दुई सय मेगावाट क्षमताको तीनवटा परियोजनाको लागि ३८ अर्ब ६८ करोड रूपैयाँ लगानी स्वीकृत गरेको हो ।

लगानी बोर्डका प्रवक्ता धमेन्द्रकुमार मिश्रले करिब दुई सय मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना सार्वजनिक–निजी साझेदारी अवधारणामा निर्माण गर्न लागिएको बताए । ‘बोर्डको बैठकले ७७.५ मेगावाट क्षमताको घुन्साखोला जलविद्युत् परियोजनामा १७ अर्ब ६२ करोड ४० लाख रूपैयाँ लगानी स्वीकृत गरेको छ । ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् परियोजनामा १० अर्ब ६१ करोड ९१ लाख रूपैयाँ लगानी स्वीकृत गरेको छ । त्यस्तै, ६५ मेगावाटको दूधखोला जलविद्युत् परियोजनाको लागि १० अर्ब ४३ करोड ६० लाख रूपैयाँ लगानी स्वीकृत गरेको छ ।

यी तीन परियोजनामध्ये ७७.५ मेगावाटको घुन्साखोला सरकार मातहतको कम्पनी हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)को सहायक कम्पनीले निर्माण अगाडि बढाएको छ । यो परियोजना ताप्लेजुङमा जिल्लाको घुन्साखोलामा निर्माण गर्न लागिएको हो ।

हिमचुली दोर्दी जलविद्युत् आयोजना भने पिपुल्स हाइड्रोपावर कम्पनीमार्फत निर्माण अघि बढाइनेछ । ५७ मेगावाटको हिमचुली दोर्दी जलविद्युत् आयोजना लमजुङ जिल्लाको साबिक फलेनी÷दोधेनी गाविसमा पर्छ । यो आयोजना नदी प्रवाही अर्थात रन अफ दी रिभरमा आधारित आयोजना हो । यो आयोजनाले १२० वर्गकिलोमिटर क्षेत्रफल ओगट्नेछ ।

यो आयोजनाको टनेलको लम्बाइ ५.५ मिटर रहनेछ । त्यसैगरी, ६५ मेगावाटको दूधखोला जलविद्युत् परियोजना मनाङ जिल्लाको नासाङ गाउँपालिकामा अवस्थित छ । यो जलविद्युत् आयोजना पनि नदी प्रवाही (रन अफ दी) रिभरमा आधारित हो । यो आयोजना सीता हाइड्रोपावर कम्पनी मातहत छ ।  

लगानी बोर्ड सञ्चालक समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले नयाँ शिक्षा दिएको बताउँदै परियोजना कार्यान्वयनमा भइरहेको विलम्बलाई हटाउन अनुरोध गरे । प्रधानमन्त्री ओलीले नयाँ प्रविधि प्रयोग गर्दै ढिलासुस्ती हटाउन अनुरोध गरेका थिए । प्रधानमन्त्री ओलीले उत्पादन भएको बिजुली खपतको योजना समेत सम्बन्धित निकायसँग मिलेर बनाउन निर्देशन दिए । लगानी बोर्डका कार्यकारी अधिकृत सुशील भट्टले लगानी बोर्डमार्फत प्रवद्र्धन र सहजीकरण भएका परियोजनाबारे जानकारी गराएका थिए ।

प्रकाशित: २७ कार्तिक २०७७ ०५:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App