७ वैशाख २०८१ शुक्रबार
अर्थ

बाँकेमा फूलको माग बढ्यो

बजारमा फूलको माग ह्वात्तै बढेको छ। चाडपर्व नजिकिएसँग हरेक धर्म र समुदायमा फूलको आवश्कता पर्ने गर्छ। बाँकेमा फूलको माग पछिल्लो समय तीव्र गतिमा बढिरहेको छ। तर उत्पादन भने निकै कम छ। मागअनुसार करिब २० प्रतिशतमात्र बाँकेमा फूल उत्पादन हुने गरेको बताउँछिन् नेपालगन्ज राझाँकी पुष्प व्यवसायी विन्दु चर्तीमगर।

मागअनुसार उत्पादन नभएपछि बाँकेका जनताले काठमाडौं र भारतीय बजारबाट आयात गरिएको फूलहरु तिहारमा प्रयोग गर्ने गर्छन्। आर्थिक आर्जनका लागि फूल व्यवसाय निकै राम्रो मानिन्छ। छोटो अवधिमा चाडपर्वलाई लक्षित गरेर उत्पादन गरेको फूलबाट राम्रो आम्दानी हुने गरेको व्यवसायीको भनाइ छ। किसान विन्दू चर्तीमगर बाँके फूलमा आत्मनिर्भर हुन खाली जमिनमा फूल खेती गर्नुपर्ने बताउँछिन्।

नेपालगन्ज औद्योगिक क्षेत्रको सटरमा फूल व्यवसाय गरिरहेकी मगर भन्छिन्, ‘बाँकेमा फूलको माग बढ्दै छ। तर यहाँ एक बिघा क्षेत्रफलमा पनि फूल खेती हुँदैन। यहाँको माग पूरा गर्न कमसेकम एक हेक्टर क्षेत्रफलमा फूल खेती गर्नुपर्छ।’ बाँकेमा राँझाकी विन्दू चर्तीमगर र कोहलपुर, पृथ्वीनगरकी विष्णु चौधरी दुईजनाले मात्र व्यवसायिक रुपमा फूल खेती गर्दै आइरहेका छन्। तर आर्थिक अभाव र आधुनिक खेती गर्न नसकेका कारण फूल उत्पादनलाई बढाउन नसकेको उनीहरुको अनुभव छ।  

तिहारका लागि फूल उत्पादनमा ब्यस्त रहेका उनीहरु यस वर्ष पनि तिहारमा फूलको अभाव हुने बताउँछन्। अरु पर्वभन्दा तिहारमा फूलको बढी खपत हुने गर्छ। विशेषगरी तिहारमा सयपत्री र मखमली फूलको बढी माग हुन्छ। यस वर्ष तिहार अलि ढिला भएका कारण अझ फूलको अभाव हुन सक्ने मगर बताउँछिन्। तिहारलाई लक्षित गरेर फूल उत्पादन गर्न लागेको मगरले बताइन्। मगर भन्छिन्, ‘पहिलाका वर्षमा तिहारका लागि भदौ महिनामा फूल लगाउने गरिन्थ्यो। तर यो वर्ष तिहार मंसिरमा परेकाले असोज महिनामा फूल लगाएका छौं।’ मगरले तिहारका लागि १० कट्ठामा फूल लगाएकी छिन्। 

मागअनुसार उत्पादन नभएपछि बाँकेका सर्वसाधारणले काठमाडौं र भारतीय बजारबाट आयात गरिएको फूलहरु तिहारमा प्रयोग गर्नुपरेको छ।  

चौधरीले पनि तिहारका लागि भने आठ कट्ठा क्षेत्रफलमा फूल लगाएको बताइन्। उनले आवश्यकता अनुसार जिल्ला बाहिर पनि फूल निर्यात गर्ने गर्छिन्। चौधरी फूलको माग बाँकेबाहेक अन्य जिल्लामा पनि बढ्दै गइरहेको बताउँछिन्। उनी भन्छिन्, ‘हामीले उत्पादन गरेको फूलले बाँकेको खपतलाई नै पूरा गर्न सक्दैनौं। धनगढी, टीकापुरबाट पनि फूलको माग आउने गर्छ।’ माग बढेसँगै आगामी फागुनदेखि दुई बिघा क्षेत्रफलमा फूल खेती गर्ने योजना रहेको बताइन्।  

बाँकेमा थोरै मात्रामा अन्य फूल उत्पादन भए पनि गुलाब फूल उत्पादन भने शून्य रहेको छ। मगर बाँकेमा गुलाबको उत्पादन नभएता पनि यसको माग धेरै रहेको बताउँछिन्। मगर भन्छिन्, ‘अहिलेसम्म बाँकेमा गुलाबको फूल उत्पादन हुन सकेको छैन। गुलाबको फूलका लागि पूर्णरुपमा भारतसँग निर्भर हुनुपरेको छ।’ बाँकेमा फूलको खपत हेर्ने हो भने फूल उत्पादनमा वृद्धि गर्नुपर्ने देखिन्छ। तर यसतर्फ स्थानीय निकायको कुनै चासो देखिँदैन। चौधरी फूल उत्पादनमा सरकारले सहयोग गर्ने हो भने फूल व्यवसायबाट प्रसस्त आम्दानी गर्न सकिने बताउँछिन्।

प्रकाशित: २७ कार्तिक २०७७ ०४:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App