१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सडक कालोपत्रे गर्न वन र विद्युत् तगारो

रत्नराजमार्ग हुँदै इन्जिनियरिङ कलेज सडकबीच रहेका रुखहरू। वनले रुख नकाट्दा यो सडक कालोपत्रे हुन सकेको छैन।तस्बिर: नगेन्द्र/नागरिक

रत्नराजमार्ग हुँदै इन्जिनियरिङ कलेजसम्म जोड्ने ६ किलोमिटर सडक अघिल्लो आर्थिक वर्षको अन्त्यतिर कालोपत्रे भइसक्नुपर्ने थियो। २०७४ असार २८ गते काठमाडौंको महालक्ष्मी–किरातेश्वर–केएसके जेभीले सडक कालोपत्रेको ठेक्का लिए पनि अहिलेसम्म सम्पन्न गरेको छैन। अधिकांश पूर्वाधार निर्माणमा ठेकेदारको लापरबाही हुने गरेको पाइन्छ। तर यो सडकमा भने वन र विद्युत् कार्यालयका कारण कालोपत्रे हुन सकेको छैन।

रत्नराजमार्गदेखि इन्जिनियरिङ क्याम्पस जोड्ने यो सडकको चौडाइ ६ मिटर थियो। विस्तारका क्रममा १० मिटर पु¥याइएको छ। सडकबीच विद्युत्का पोल र रुखहरू छन्। ‘समयमै विद्युत् प्राधिकरणले पोल र वन कार्यालयले रुख नहटाउँदा थपिएको म्याद आउँदो पुससम्ममा पनि कालोपत्रे हुने सम्भावना कम छ,’ सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्रप्रसाद भट्टले भने, ‘अरू ठाउँमा निर्माण कम्पनीका कारण ढिलाइ हुन्छ, यो सडककोे कालोपत्रेको हकमा भने वन र विद्युत् कार्यालयका कारण ढिलाइ भइरहेको छ।’

भट्टका अनुसार सडकभित्र परेका विद्युत्का पोल हटाउन कार्यालयलाई ९ लाख रुपैयाँ बुझाइसकिएको छ। अहिलेसम्म पोल भने हटेका छैनन्। यही महिनाभित्र कालोपत्रे नगरे पहिलो पटक थपिएको म्याद पनि सकिने अवस्था छ। ‘निर्माण कम्पनीले विद्युत्का पोल हटाइदिन आग्रह गर्दै पटक–पटक पत्र लेखेको छ, हामीले पनि सम्बन्धित कार्यालयलाई पोल हटाउन दिनुपर्ने भुक्तानी पनि गरिसकेका छौं,’ उनले भने, ‘यो महिनाभित्र कालोपत्रेको काम सम्पन्न नभए पहिलो पटक थपिएको म्याद पनि समाप्त हुन्छ।’ विस्तारित सडकको बीचमा २३ वटा सालका रुख छन्। ती रुख अहिलेसम्म हटाइएका छैनन्। सडक डिभिजन कार्यालयले सडकभित्र पर्ने रुखको लगत संकलन गरेर कटानका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइई) प्रतिवेदनसमेत तयार गरेर वन कार्यालयलाई बुझाइसकेको छ। ‘अहिलेसम्म वनबाट कटान आदेश आएको छैन,’ कार्यालय प्रमुख भट्टले भने, ‘म्याद सकिन लागिसकेकाले रुखकै बीचमा कालोपत्रे गर्नुपर्ने बाध्यता छ।’

समयमै विद्युत् प्राधिकरणले पोल र वन कार्यालयले रुख नहटाउँदा रत्नराजमार्ग हुँदै इन्जिनियरिङ कलेजसम्म जोड्ने ६ किलोमिटर सडक थप गरिएको म्याद (आउँदो पुस) मा पनि कालोपत्रे हुने सम्भावना कम छ। अरू ठाउँमा निर्माण कम्पनीका कारण ढिलाइ हुन्छ तर यहाँ भने वन र विद्युत् कार्यालयका कारण ढिलाइ भइरहेको छ।

रत्नराजमार्ग–नयाँगाउँ–घुस्रा हुँदै इन्जिनियरिङ कलेजसम्मको ६ किलोमिटर लामो र १० मिटर चौडाइको सडक कालोपत्रेका लागि निर्माण कम्पनीले २१ करोड ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। निर्माण कम्पनीका प्रतिनिधि सूर्य रावतले वन, विद्युत्सँगै स्थानीयको पनि अवरोध सामना गर्नु परिरहेको बताए। ‘पोल नभएको, रुख नभएको र स्थानीयले अवरोध नगरेकोे ठाउँमा हामीले कालोपत्रे सम्पन्न गरिसकेका छौं,’ उनले भने, ‘बाँकी ठाउँमा कालोपत्रे गर्न पाएका छैनौं।’ उनले सडक डिभिजन कार्यालय चौरजहारीलाई अवरोध हटाएर काम गर्ने वातावरण बनाइदिन अनुरोध गरे पनि अहिलेसम्म सुनुवाइ नभएको बताए। ‘पुस मसान्तसम्ममा थपिएको म्याद पनि सकिँदै छ, वनले रुख र विद्युत्ले पोल नहटाउँदा काम सम्पन्न गर्न समस्या भइरहेको छ,’ रावतले भने, ‘केही दिन कुर्छौं, नभए रुख र पोलकै बीचमा कालोपत्रे गर्ने निर्णयमा पुगेका छौं।’

प्रकाशित: २६ कार्तिक २०७७ ०३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App