२४ भाद्र २०८१ सोमबार
image/svg+xml
अर्थ

विदेशबाट फर्केका स्वदेशमा बेरोजगार

फाइल तस्बिर।

कोरोना महामारीका कारण साउदी अरेबियाको रोजगारी छाडेर घर फर्केका सिन्धुपाल्चोकका कुवेर सिलवाललाई पुनः वैदेशिक रोजगारीमा जाने चाहना छैन ।  

पुनः वैदेशिक रोजगारीमा जान नपरोस् भनेर उनले आएकै दिनदेखि विभिन्न अवसरको खोजी गरिरहेका छन् । ‘तर अहिलेसम्म के काम गर्ने टुंगो लाग्न सकेको छैन,’ उनले भने, ‘वैदेशिक रोजगारीमा भोगेको पीडाका कारण पुनः उतै जान नपरोस् भन्ने चाहना छ ।’ विदेशबाट फर्केको करिब दुई महिना पुग्न थालेको बताउने उनले लामो समय बेरोजगार भएर बस्न सक्ने आर्थिक हैसियत नभएको गुनासो गरे ।  

रोजगारीका लागि दुबई पुगेको केही महिनामै कोरोना महामारी सुरु भएपछि घर फर्किएका तनहुँ, खैरेनीटारका दिलबहादुर परियारले पनि अहिलेसम्म कुनै काम भेटेका छैनन् । वैदेशिक रोजगारीमा जाँदाको ऋण चुक्ता नगर्दै रोजगारी गुमाएपछि पुनः घरबाट मगाएको रकमले हवाई टिकट खरिद गरी फर्केका परियार जतिसक्दो आयआर्जनको काममा नजुटे घर न घाटको हुने बताउँछन् । ‘न विदेशमा कमाएको रकम छ न घरमा अरू कुनै आम्दानी,’ उनले भने, ‘केही दिनमा आयआर्जनको बाटो फेला नपर्ने हो भने भोकभोकै मर्नुपर्ने अवस्था आउन सक्छ ।’

कोरोना महामारीपछि विदेशमा रोजगारी गुमाएर फर्कनेको संख्या दिनप्रतिदिन बढ्न थाले पनि सरकारले अझै रोजगारीको प्रबन्ध मिलाउन सकेको छैन । जसले गर्दा विदेशबाट फर्केका ठूलो संख्याका युवा बेरोजगार भएर बस्न बाध्य छन् । परराष्ट्र मन्त्रालयका अनुसार दसैंअघिसम्म भारतबाहेक तेस्रो मुलुकबाट एक लाख ३३ हजारभन्दा बढी युवा घर फर्किएका छन् । मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले फर्केकामध्ये ९० प्रतिशतभन्दा बढी खाडी मुलुक र मलेसियामा रोजगारीका लागि गएकाहरू रहेको बताए । कोरोना महामारीपछि भारतबाट करिब पाँच लाख घर फर्किएको अनुमान छ ।

सरकारले चैतदेखि असारसम्म वैदेशिक रोजगारीबाट फर्कन रोक लगाएको थियो । असारपछि महिला, गर्भवती तथा बिरामीलाई घर फर्कन दिएको सरकारले असोज १५ पछि बिनारोकटोक सबैलाई घर फर्कन दिइरहेको छ । हवाई कम्पनीले नियमित उडान सुरु गरिसकेका छन् । हवाई कम्पनीले उडान सुरु गरेपछि विदेशबाट फर्कको संख्या वृद्धि भइरहेको अधिकारीहरू बताउँछन् ।  

कोरोना महामारीपछि विदेशमा रोजगारी गुमाएर फर्कनेको संख्या दिनप्रतिदिन बढ्न थाले पनि सरकारले अझै रोजगारीको प्रबन्ध मिलाउन सकेको छैन । जसले गर्दा विदेशबाट फर्केका ठूलो संख्याका युवा बेरोजगार भएर बस्न बाध्य छन् ।

ठूलो संख्याका युवा घरमै बेरोजगार भएर बस्दा समस्या थपिँदै जाने भएकाले जतिसक्दो चाँडो पुनः एकीकरणका योजना ल्याउन माग गरिएको छ । श्रमविज्ञ सोमप्रसाद लुइँटेल पुनः एकीकरणका लागि संघीय सरकारले तुरुन्त योजना बनाएर स्थानीय तहसँगको समन्वयमा लागू गर्नुपर्ने बताउँछन् । ‘रोजगारी सिर्जनाका लागि उद्योग खोल्नुपर्नेदेखि स्थानीय तहका विभिन्न काममा विदेशबाट फर्किएकालाई लगाउन सकिन्छ,’ उनले भने, ‘त्यसैले यसमा ढिला गर्नुपर्ने कुनै कारण छैन ।’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव भरतमणि पाण्डे वैदेशिक रोजगारीबाट फर्कनेलाई सीप सिकाउने कार्यक्रम अघि सारिएको बताउँछन् । ‘चालु आर्थिक वर्ष स्थानीय तहसँगको समन्वयमा ५० हजारलाई सीप सिकाउँदै छौं,’ उनले भने, ‘त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट पनि दुई लाख रोजगार सिर्जना गर्ने लक्ष्य छ ।’  

सरकारी अधिकारीहरूले वैदेशिक रोजगारीबाट फर्केकालाई विभिन्न कार्यक्रममार्फत समेट्ने बताउने गरे पनि तत्कालको समस्याबारे के गर्ने भन्ने कुनै योजना ल्याउन सकेका छैनन् । राष्ट्रिय मानव अधिकार आयोगले केहीअघि कोरोना महामारीपछि विभिन्न मुलुकबाट करिब १६ लाख नेपाली घर फर्कने अनुमानित विवरण सार्वजनिक गरेको थियो ।  

सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीले विदेशबाट फर्किएकालाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने बताए पनि त्यो कर्जा कसरी प्राप्त गर्ने भन्नेबारे पनि अहिलेसम्म अन्योल कायमै छ । दुई वर्षअघि विदेशबाट फर्किएका युवालाई कृषि लगायतका उत्पादनका काम गर्न सहुलियत कर्जा दिने कार्यक्रम घोषण गरिए पनि अहिलेसम्म दुई सयले मात्र सहुलियत कर्जा पाउन सकेका छ्रन् । त्यतिखेर सात लाख रूपैयाँसम्मको सहुलियत कर्जा पाउन वैदेशिक रोजगारीबाट फर्किएका १८ हजार बढीले आवेदन गरेका थिए । 

प्रकाशित: २५ कार्तिक २०७७ ०५:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App