१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

विद्युत प्राधिकरण निमित्तकै भरमा !

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको चारवर्षे पदावधि सकिएको दुई महिना बित्दासमेत कार्यकारी निर्देशक चयन गर्न सकेको छैन । नयाँ कार्यकारी निर्देशक नियुक्त गर्न नसकेपछि प्राधिकरण निमित्तकै भरमा छ ।  

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ गत भदौ २९ गते आफ्नो चारवर्षे कार्यकाल सकाएर बिदा भइसकेका छन् । सरकारले अहिलेसम्म प्राधिकरणजस्तो संवेदनशील निकायमा अहिलेसम्म कार्यकारी निर्देशक चयन गर्न सकेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरण कार्यकारी निर्देशक चयन गर्नुको सट्टा प्राधिकरणमा एकपछि अर्काे गर्दै निमित्त कार्यकारी निर्देशक नियुक्त गर्दै आइरहेको छ ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गत भदौ ३० गते प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेका थिए । पुनले गत शुक्रबार प्राधिकरण सञ्चालक समितिको बैठकमा एनइए इन्जिनियरिङ कम्पनीमा काजमा रहेका हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा फिर्ता बोलाउन निर्देशन दिए । सोही बमोजिम सञ्चालक समितिले शाक्यलाई फेरि प्राधिकरणमा बोलाएको थियो । मन्त्रालयका प्रवक्ता प्रविणराज अर्यालले मन्त्रालयले आइतबार प्राधिकरणको वरिष्ठ कार्यकारी निर्देशक शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको बताए । ‘प्राधिकरणमा सबैभन्दा वरिष्ठ उपकार्यकारी निर्देशकमा शाक्य थिए, त्यसैले उनलाई वरिष्ठताको आधारमा निमित्त कार्यकारी निर्देशक नियुक्ति गरिएको हो,’ उनले भने, ‘शाक्यले सोमबारदेखि निमित्तको पदाभारसमेत सम्हालिसक्नुभएको छ ।’ प्रवक्ता अर्यालले सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने भएकाले यो विषयमा आफू नबोल्ने प्रतिक्रिया दिए ।

नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ मा महाप्रबन्धक वा कार्यकारी निर्देशक, सल्लाहकार र अन्य कर्मचारी नियुक्त गर्न सकिने व्यवस्था छ । प्राधिकरणको कार्य सञ्चालनको लागि मुख्य प्रशासकीय अधिकृतको रूपमा समितिले एकजना महाप्रबन्धक र आवश्यकताअनुसार सल्लाहकार तथा कर्मचारी नियुक्ति गर्न सक्छ । तर साधारणसभाको व्यवस्था नभएसम्म त्यस्तो मुख्य प्रशासकीय अधिकृतको रूपमा नेपाल सरकारले एकजना कार्यकारी निर्देशक नियुक्त गर्ने व्यवस्था छ । मन्त्रिपरिषद्ले नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने चर्चा चले पनि टुंगो लाग्न सकेको छैन । जनस्तरबाट घिसिङलाई नै निरन्तरता दिनुपर्ने आवाज उठिरहेको छ । तर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई पुनः नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छैन ।

त्यसैले पनि प्राधिकरणको बागडोर कसले सम्हाल्ने भन्ने टुंगो लागेको छैन । घिसिङले चारवर्षे कार्यकालमा नतिजा देखिने गरी दुईवटा काम गरे । चर्काे लोडसेडिङ भोगेको मुलुकलाई २४सै घन्टा बिजुली दिएर आम जनताको मन जित्न जिते । आर्थिक रूपले टाट पल्टिएको संस्थालाई नाफामा लगेर मजबुत बनाए । 

प्रकाशित: २५ कार्तिक २०७७ ०५:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App