१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तिलोत्तमामा सामूहिक आलुखेती गर्दै किसान

कृषक समूहलाई आलुेतीका लागि प्रयोग हुने पावर ट्रेलर मेसिन प्रदान गरिँदै । तस्बिर: नागरिक

आलुको आयात प्रतिस्थापन गर्दै आन्तरिक उत्पादनबाट आत्मनिर्भर हुने उद्देश्यले तिलोत्तमा नगरपालिकामा सामूहिक आलुखेती सुरु गरिएको छ । नगरका विभिन्न २० वटा कृषक समूह तथा सहकारीहरूले यो वर्ष ६० बिघा क्षेत्रफलमा सामूहिक आलुखेती सुरु गरेका हुन् । आलु उत्पादन बढाउनुका साथै कृषिमार्फत रोजगारी सिर्जना गर्ने उद्देश्यले नगरपालिकाले व्यावसायिक आलु खेतीका लागि किसानलाई अग्रसर गराएको हो ।  

किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पु¥याउन नगरपालिका र युएनडिपीको सहयोगमा प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आलुको बिजवृद्धि परियोजना सञ्चालन गरेको छ । नगरपालिकाको १ करोड १५ लाख, युएनडिपीको ९४ लाख र किसानको ५२ लाख लगानीमा सञ्चालित परियोजनाअन्तर्गत किसानलाई ७५ प्रतिशत अनुदानमा बिउ, मल र कृषि उपकरण उपलब्ध गराइएको छ । परियोजनाअन्तर्गत विभिन्न वडाका २० वटा समूह सामूहिक आलु खेतीमा आवद्ध रहेको सहकारी संस्थाकी अध्यक्ष सीता न्यौपानेले बताइन् । करिब ९ सय मेट्रिक टन बिउ आलु र ६ सय टन खाने आलु उत्पादन गर्ने लक्ष्य परियोजनाको रहेको न्यौपानेले जानकारी दिइन ।  

निर्वाहमूखी खेतीप्रणालीको अन्त्य गरी चाक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत् आलुको व्यावसायिक खेती परियोजना सञ्चालन गरिएको नगर प्रमुख बासुदेव घिमिरेले बताए । आलुखेतीबारे ज्ञान, सीप प्रदान गर्न कृषि प्राविधिक तथा विज्ञ नियुक्त गरिएको नगरपालिकाले जनाएको छ ।

परियोजनामार्फत कृषक समूहलाई आलुको ड्याङ बनाउने, उकेरा लगाउने, फसल खन्ने काममा प्रयोग हुने १७ लाख मूल्य बराबरका ११ वटा पावर टे«लर मेसिन उपलब्ध गराइएको छ ।  

नगर प्रमुख घिमिरेले आलुबाहेक अन्य सिजनमा समेत सामूहिक र चक्लाबन्दी खेती गर्न किसानलाई आग्रह गर्दै चक्लाबन्दीमा खेती गर्ने किसानलाई नगरपालिकाले प्रोत्साहन गर्ने बताए । व्यावसायिक खेती गर्ने किसानलाई पालिकाले अनुदानका लागि प्राथमिकतामा राखेको उनले बताए । आलु उत्पादक कृषक समूहलाई दिगो बनाउन आगामी वर्ष पर्याप्त बजेट व्यवस्था गर्ने नगर प्रमुख घिमिरेले बताए ।

परियोजनामार्फत व्यावसायिक आलु खेतीमा दुर्गा मन्दिर अन्नबाली उत्पादक कृषक समूहले सबैभन्दा बढी ७ बिघामा आलु खेती सुरु गरेको छ । दर्शनटोला खाद्यान्न कृषि समूहले ६ बिघा, धानखेतमा माछापालन कृषक समूह, समैंया मकै उत्पादन कृषि समूह, बिउली आधुनिक तरकारी उत्पादक कृषक समूहले ५–५ बिघामा आलु खेती गरेका छन् ।  

यस्तै सेमरा बजार तरकारी उत्पादक कृषक समूह, पंगेनी खाद्यन्न बाली उत्पादक कृषक समूह, प्रजारानी कृषक समूह, आधुनिक तरकारी बाली उत्पादक कृषक समूह, कमलपोखरी कृषक समूह, बुद्धभूमि तरकारी उत्पादक कृषक समूहले ३–३ बिघामा आलु लगाएका छन् । क्षितिज नमूना कृषक समूह, विष्णुभक्त तरकारी उत्पादक समूह, महिला जनसेवा आलु उत्पादक सहकारी संस्थाले साढे दुई बिघामा आलु खेती गरेका छन् । कोटहीमाई अन्नबाली उत्पादक कृषक समूहले दुई तथा रोहिणी अन्नबाली उत्पादक कृषक समूह, कुञ्ज तरकारी उत्पादक कृषक समूह, चन्द्रसूर्य खाद्यन्न उत्पादक कृषक समूह, आदर्श तरकारी बाली उत्पादक समूह, प्रगतिशील महिला विकास सहकारीले १–१ बिघामा आलु खेती गरेका छन् । 

प्रकाशित: २५ कार्तिक २०७७ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App