७ वैशाख २०८१ शुक्रबार
अर्थ

सीमा बन्द तर आवागमन जारी

वीरगन्जसंग जोडिएको भारतीय सीमास्थित मितेरी पुल । फाइल तस्बिरः नागरिक

गत कातिक ६ गतेदेखि छिमेकी मुलुक भारतले आफ्नो सम्पूर्ण सीमानाकाहरु खोले पनि नेपाल सरकारको निर्णय अनुसार कातिक २९ सम्म सीमाहरु बन्द नै रहने भनिएको छ। औपचारिक रुपमा सीमा नेपालले बन्द राखेपनि यता वीरगन्ज क्षेत्रमा भने सीमापारीबाट आवागमन चालु छ। भारतको सीमावर्ती बिहार प्रान्तमा जारी प्रदेशस्तरीय निर्वाचनका लागि सीमा नाका बन्द रहेको समयबाहेक भारतबाट नेपाल पस्न भने कुनै अवरोध छैन।

नेपालतर्फ सीमा औपचारिक रुपमा बन्द रहे पनि देखिएको आवागमन धेरैको हकमा जनजीवनका लागि आवश्यकता र बाध्यता रहेको सरोकारवालाहरुको भनाई छ। सीमानाका एकतर्फी रुपमा बन्द रहँदा त्यसको प्रतिकुल असर आम जनजीवन र अर्थतन्त्रमा परेको उनीहरुको राय छ। यसलाई नियमन गर्ने गरी खुल्ला गर्नुपर्नेमा एकराय देखिन्छ। ‘अर्थतन्त्रलाई चलायमान गराउन सीमालाई ब्यवस्थित किसिमले सुचारु गर्नुपर्छ, मानिसहरुको आवागमन अहिले रोकिएको छैन, लुकीछिपी आइरहेका गइरहेका छन्, त्यसलाई ब्यवस्थित गर्न जरुरी छ,’ प्रदेश २ का सांसद ओमप्रकाश शर्माले भने, ‘ब्यवस्थित र नियमबद्ध किसिमको उपायसहित अब सीमानाका खुल्ला नगरे गाह्रो हुन्छ।’

ब्यपार ब्यवसाय मात्र होइन औषधि उपचार, अध्ययन र जागिर–जिवकापार्जनका लागि दुबै देशका नागरिक परस्पर आश्रीत रहेकोले यसलाई ब्यवस्थापन गर्न आवश्यक रहेको उनको तर्क छ। वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीले मापदण्ड बनाएर सीमामा औपचारिक आवागमन सुचारु गर्नुपर्ने राय राखेका छन्। ‘मापदण्ड निर्धारण गरेर औपचारिक रुपमा आउन जान दिने जस्तो ब्यवस्था गर्न सकिन्छ,’ नगरप्रमुख सरावगीले भने, ‘नेपाली अर्थतन्त्रलाई उकास्न यहाँ पर्यटकहरुको आगमन गराउन आवश्यक छ, त्यसको लागि सीमानाका त खोल्नै पर्छ।’ सबै ठाउँबाट प्रवेश नदिई नेपालमा मुख्य १० वटा प्रवेश नाकालाई आवागमनको लागि सुचारु गर्नुपर्ने उनको भनाई छ।  

अहिले राजधानी काठमाडौं कोरोना संक्रमणले बढी प्रभावित भएको हुनाले त्यहाँको लागि सरकारले बिषेश ब्यवस्थाहरु लागु गरी बाकी अन्य क्षेत्रका लागि आवागमनलाई नियमनकारी किसिमले खुल्ला गर्नु पर्ने नगरप्रमुख सरावगीको तर्क छ। नेपाल भारत सहयोग मञ्चका केन्द्रीय अध्यक्ष अशोक बैधले नेपाल सरकारले भारतसंगको सीमालाई सतर्कताका मापदण्ड अपनाएर खोल्नुपर्ने बताए। ‘हवाई मार्गले दैनिक हजारौं मानिसहरु विभिन्न मुलुकबाट भित्रि रहेकै छन्, स्थलमार्गबाट हुने आवागमन ब्यवस्थित बनाउदै अब सूचारु गर्नु पर्छ,’ उनले भने, ‘चोरबाटो प्रवेश गर्ने अवस्था हटाएर स्वास्थ्य सुरक्षाको लागि मापदण्ड बनाई आउनेजाने ब्यवस्था लगाउनु पर्ने उनले बताए।  

भारतीय गाडी नियन्त्रण

यसैबीच, पर्सा जिल्लामा भारतबाट अनाधिकृत रुपमा प्रवेश गरेका २ वटा चारपाग्रेस सवारीलाई जिल्ला प्रहरी कार्यालय पर्साले समातेर भन्सार चलान गरेको छ। चोरी पैठारी भई प्रवेश भएको भनी शुक्रबार वीरगन्ज–१० आदर्शनगरबाट प्रहरीले नियन्त्रणमा लिएको २ वटा गाडी आइतबार भन्सार बुझाएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार भारतीय नम्बरका गाडीहरु जिल्लामा विगतदेखि अनाधिकृत रुपमा चलाई रहेको भन्ने विशेष सूचना आएको थियो। बिआर ०५ डब्लु ५२८३ नम्बरको एउटा कार र डिएल ९ सि ५६४४ नम्बरको अर्को गाडि प्रहरीले नियन्त्रण लिई भन्सार बुझाएको छ।  

वीरगन्ज महानगरपालिका र ग्रामिण क्षेत्रहरुमा भने भारतीय नम्बरका मोटरसाइकलहरु भने अहिले जताततै देखिन्छ। छिटफुट रुपमा चारपाँग्रे पनि हिडेको भेंटिन्छ। यस्तैमध्ये दुई वटा गाडि प्रहरीले नियन्त्रणमा लिएको हो। कोरोना भाइरसबाट लाग्ने कोभिड –१९ बिमारीको प्रकोप रोकथाम तथा नियनत्रणको लागि भारत सरकारले बन्द गरेको नेपालसहितका सम्पुर्ण सीमानाकाहरु कर्तिक ६ देखि खोलेको हो। सोही दिन सम्बद्ध निकायहरुलाई भारतीय गृह मन्त्रालयले एउटा परिपत्र जारी गर्दै सीमानाका र अध्यागमन केन्द्रहरु खोलिएको जनाएको थियो।  

उक्त परिपत्रमा भारतका सबै एक सय ७ वटा अध्यागमन केन्द्रसगै आइसिपी र ब्यपारिक नाकाहरु खुल्ला गरिएको छ। उक्त भारतीय परिपत्रअगाडिकै निणर्य अनुसार बन्द रहेको नेपालतर्फको नाका सम्बन्धी नेपाल सरकारल अब कस्तो निर्णय गर्छ भन्ने सरोकारवालाहरुको चासो छ।

प्रकाशित: २३ कार्तिक २०७७ १४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App