९ वैशाख २०७८ बिहीबार
अर्थ

छोमरोङमा औषधिजन्य सतुवाको व्यवसायिक खेती

गाउँमा पुरानै पेशा छ। मकै, कोदो र आलु लगाउने। नगदेबालीतिर ध्यान खासै दिएका छैनन्। पुरानै परम्परागत पेशासँगै रोजगारी सृजना गर्दै आयआर्जन गर्ने तर्फ युवापुस्ता सक्रिय हुँदै गएको छ। बाझो जमिनको रुपमा रहेको खरबारीमा छोमरोङका युवाहरु सतुवा खेती सुरु गरेका छन्। औषधिजन्य बनस्पतिको व्यवसायिक उत्पादन सुरु गरिएको लामो समय भएको छैन। उत्पादनबाट आम्दानी पनि लिईसकेको अवस्था भने छैन। तर सतुवाको विस्तार गर्ने योजना भने उनीहरुको छ।

युवाहरुले सुरुमा ६/७ जना थिए। अहिले २०/२२ जना छन्। झण्डै २० लाख भन्दा बढी लगानी जुटाई सतुवा खेती गरिएको छ। सतुवासँगै दाँते ओखर लगाउने योजना छ। युवाहरुले व्यवसायिक उत्पादनको लागि ‘हिमालय सतुवा तथा जडिबुटी फर्म’ दर्ता गरेका छन्। दर्ता गरिएकै संस्थाबाट व्यवसायिक रुपमा औषधिजन्य सतुवा रोप्न र बेर्ना उत्पादनमा बढी ध्यान दिइएको छ। ‘सतुवालाई छहारी चाहिन्छ। दाँते ओखर काठको रुपमा पनि प्रयोग हुन्छ’ संस्थाका सचिव विशाल गुरुङले भने–‘तीन वर्षसम्म बेर्ना मात्रै उत्पादनमा जोड दिएका छौं। त्यसपछि सतुवा बिक्री वितरण गर्छौ।’  

सतुवा औषधिजन्य बनस्पति हो। पाकेको घाउँमा सतुवाको जराको धुलो घोटेर लगाए निको हुन्छ। पेट दुखेको औषधि समेत काम गर्छ। सतुवा १८ सय मिटरदेखिको उचाईमा हुन्छ। ३ हजार मिटरसम्म सतुवा विशेष गरी सेपिलो ठाँउमा हुन्छ। अदुवा जस्तै माटो मुनि फल्छ। एउटा सतुवा औषत लम्बाई ९ सेन्टिमिटरसम्म हुन्छ। फर्मले ३० लाख बेर्ना उत्पादन गर्ने योजनासहित काम गरिरहेको छ। ‘झण्डै १०० रोपनी क्षेत्रफलमा विस्तार गर्ने योजना छ’ उनले सुनाए–‘अहिले २५ हजार जति बेर्ना रोपिएको छ।’ एउटा बेर्नाबाट बयस्क हुँदै फूल फुल्छ। जेठ–बैशाखमा फूल फुल्छ। माटो मुनिको गानोमा फागुनदेखि नयाँ मुना पलाउँछ। ‘हामीले अहिले बेर्ना उत्पादनमै जोड दिएका छौ’ उनले थपे–‘सेपिलो जमिनमा हुने हुँदा ओखर लगाईदैं छ।’ एउटा बेर्नाको २० देखि ८० रुपैयाँसम्म पर्छ।\

सतुवाको गानो खास गरी तीन वर्षमा निकाल्न उपयुक्त हुन्छ। आगामी दुई वर्षपछि फर्मले ८ सय केजी उत्पादन पुर्‍याउने लक्ष्यसहित बेर्नामा ध्यान दिएको छ। अहिले १० रोपनी भन्दा बढी क्षेत्रफलमा सतुवा लगाइएको छ। वर्षेनी १० रोपनी क्षेत्रफल विस्तार गर्दै लैजाने योजना छ। कोभिड–१९ कै कारण सबै गाउँले गाउँघरमै छन्। सबै ठप्पै हुँदा सतुवाले हेरचाह पर्याप्त पाएको छ। ‘१०० रोपनी क्षेत्रफलमा दाँते ओखर लगाउँछौं’ उनले भने–‘ओखरकै बोट मुनि सतुवा हुर्किन्छ।’ ओखरले छाहरी बनाउँछ। दाँते ओखर बजारमा बिक्री हुन्छ। काठ गाउँमै उपयोग गर्न सकिने हुँदा गाउँलाई समेत यस तर्फ आकर्षित गरिएको उनको भनाई थियो।

छोमरोङ पर्यटकीय गाउँ हो। अन्नपूर्ण आधार शिविर उक्लिने पर्यटकको पहिलो बास छोमरोङमा हुन्छ। कोरोना कहरले छोमरोङमा पर्यटन सुनसान छ। होटल बन्द छन्। गाउँमै रोजगारी सृजना गर्दै परम्परागत भन्दा फरक नगदेबाली तर्फ आकर्षित गर्ने उद्देश्य फर्मले लिएको छ। सतुवा विशेष गरी चीन निर्यात हुन्छ। ‘गतवर्ष ४/५ किलोमात्रै उत्पादन भयो’ उनले भने। परारसाल प्रतिकेजी १७ हजार रुपैयाँमा बिक्री भएको थियो। गाउँमै पनि १२ हजार रुपैयाँ प्रतिकेजी माग्न समेत आएका छन्। 

विशेष गरी घान्द्रुक, म्याग्दी, कास्कीको ताङतिङ लगायतका क्षेत्रबाट सर्वसाधारण सतुवाको लागि आउने गरेका छन्। उनका अनुसार ५० वटा बिरुवाबाट १ केजी सतुवाको गानो उत्पादन हुन्छ। व्यवसायिक उत्पादनको लागि डिभिजन वन कार्यालय कास्कीको ३ लाख रुपैयाँ फर्मलाई आर्थिक सहयोग समेत गरेको उनको भनाई थियो।

प्रकाशित: २३ कार्तिक २०७७ १३:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?