८ वैशाख २०८१ शनिबार
अर्थ

तिहारमा भारतबाट फूल नल्याइने भएसँगै किसान हर्षित

फूलखेतीबाट वार्षिक १० देखि १२ लाखसम्म आम्दानी

माथागढी गाउँपालिका–२, रुप्सेमा लगाईएको सयपत्री। तस्बिर मुक्ति/नागरिक

कोरोना महामारीका कारण नेपालमा धेरै युवाहरु बेरोजगार भएका छन्। वैदेशिक रोजगारमा पुगेका कतिपय युवाहरु गाउँ फर्केर बसेका छन्। नेपालमा तिहारका लागि अत्यावश्यक मानिने तिहारे फूल (सयपत्री) भारतबाट आउने गरेको थाहा पाएका किसान दामोदर घर्तीले भने व्यवसायिक फूल खेतीबाट मनग्य आम्दानी लिन थालेका छन्।  

माथागढी गाउँपालिका–२, रुप्सेमा घर्तीले झण्डै ३ रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा सयपत्री फूलको खेती गरेका छन्। सधैं आलू खेती गरिने जग्गामा फूल खेती गर्दा यहाँका अन्य किसान भने आश्चर्यमा परे। कतिपयलाई फूलले बजार पाउने कुरामा आशंका व्यक्त गरे। तर घर्तीको खेतमा फुलेको फूल हेर्न र खरीद गर्न समेत टाढाटाढाबाट व्यापारीहरु आउन थालेका छन्। उनले दशैं र तिहारका लागि दुई थरी फूल फूलाएका छन्। दशैंमा केही फूल बिक्रि भैसकेको छ। तिहारका लागि तयारी अवस्थामा २ रोपनी क्षेत्रफलमा फूलहरु फूलेका छन्। एउटा मालाको एक सय देखी एक सय पचास रुपैयाँसम्ममा घरबाटै बिक्रि हुने कृषक दामोदर घर्तीले बताए।

खेतमा फुलिरहेका रङ्गी विरङ्गी फूल फुलिरहेका दृश्यले त्यहाँ पुग्ने लालयित हुन्छन्। प्रायः मानिस फूलसँग झुमिन रुचाउँछन्। फूल टिपिहाल्ने, त्यसको सुगन्ध लिन मानिस निकै चाहन्छन्। कृषक घर्तीले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पुष्प व्यवसाय सुरु गरेका हुन्। उनी भन्छन्, ‘फूल खेतीको पनि नेपालमा प्रशस्त सम्भावना रहेको छ। सरकारले भारतबाट फूल नल्याउने बताएको छ। कृषकका लागि खुसीको कुरा हो। सरकारले विचौलियाको पनि व्यवस्थापन गर्नुपर्छ।’ उनले सामान्य जीविकोपार्जनका लागि वैदेशिक रोजगारमा नलाग्न युवाहरुलाई सुझाए।  

यस्तै पाल्पाको रामपुरमा व्यावसायिक फूलखेती फस्टाउँदै गएको छ। रामपुर नगरपालिका–४ देवीस्थानमा गएको तिहारमा पहिलोपटक सयपत्री फूलबाट मनग्य आम्दानी गरेका दिलबहादुर थापा तथा लालबहादुर थापाले फूल खेती सुरु गरेका छन्। पछिल्लो समय भारतलगायत छिमेकी देश र अन्य जिल्लाबाट फूलको आयात हुने गरेकोले यसलाई निरुत्साहित गर्दै व्यवसाय थालेको व्यवसायी दिलबहादुरले बताए। विवाह, अन्य मेला, महोत्सव र विविध सार्वजनिक कार्यक्रममा सयपत्री फूलको मालाको माग बढेकाले फूलखेती बेमौसमी रुपमा पनि गर्न थालेको उनले बताए।

हाम्रो आधुनिक कृषि फर्म सञ्चालन गरी केही वर्ष पहिलेदेखि मौसमी बेमौसमी तरकारी खेति थालेका थापा दाजुभाइले पछिल्लो समय फूलको परीक्षण गरे पछि राम्रै हुने अनुभव लिएका छन्। करिब साढे ११ रोपनी जग्गामा कृषि फर्म सञ्चालन गरे पनि करिब दुई रोपनी जग्गामा फूलखेती सञ्चालन गरेको दिनबहादुरले बताए। मागअनुसार पु-याउन नसकिएको उनको भनाइ छ। यपत्री फूलका कारण माटोलाई फाइदा हुने र किराले समेत नखाने हुँदा तरकारीभन्दा खेती गर्न गर्न सजिलो हुने उनीहरुको भनाइ छ। करिब १५ सय बिरुवाको उत्पादन बिक्री भइरहेको र अन्य थप ६०० बिरुवा रोपिसकिएको छ।

यस्तै पाल्पाको तानसेन नगरपालिका प्रभासस्थित रक्साहामा व्यवसायीक फुलको खेती गरिएको छ। रुपन्देहीका राजेशकुमार गुप्ताले नर्सरीमा दुई दर्जनभन्दा बढी फूलको व्यावसायिक उत्पादन गरेका छन्। गुप्ता पाल्पामा उत्पादित फूलखेतीबाट वार्षिक १० देखि १२ लाखसम्म आम्दानी गर्ने बताउँछन्। व्यावसायिक फूलखेतीका लागि पाल्पाको हावापानी राम्रो रहेका उनको भनाइ छ। विसं २०७० मा रु २० लाख रुपैयाँ लगानीमा १३ रोपनी जग्गा भाडामा लिएर व्यावसायिक फूलखेती शुरु गरेको बताए। नर्सरीमा फूलको किनबेच मात्र हुँदैन, फूलखेती अध्ययन भम्रण टोलीसमेत नर्सरीमा टहलिने गरेकाछन्। नर्सरीमा उत्पादित फूल जेरिनियम, पिटोनिया, पेन्जी, सयपत्री, गोदावरी, कुविजा, भर्विना, देनथस, डालिया, लालुपाते, लिलियम, गेजनिया, हंशराज, काउली फूल, सालवियालगायतका दुई दर्जन बढी थरिका फूल उत्पादन गरिन्छ।

जिल्लाको तानसेन, वगनाशकाली, रामपुर, माथागढी, भैरवस्थान क्षेत्रमा फूल खेती गरिँदै आएको छ। माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले पुष्पखेतीलाई व्यावसायिक बनाउन सकेको अवस्थामा राम्रो आयआर्जन गर्न सकिने बताए। उनले गाउँपालिकामा व्यवसायिक पुष्पखेती गर्ने युवालाई गाउँपालिकाले प्रोत्साहनका कार्यक्रममा ल्याउने बताए। 

प्रकाशित: २२ कार्तिक २०७७ ०५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App