१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

पर्यटकीयस्थलमा घुइँचो, व्यवसायीलाई राहत

कोभिड–१९ संक्रमणको जोखिम कायमै रहेपनि ७ महिनापछि जिल्लाका पर्यटकीय क्षेत्र पर्यटकले भरिँदैछन् । लामो लकडाउनका कारण बन्द रहेका होटल/होमस्टेले मुख्य सिजन (असोज–कात्तिक)मा चाहिँ राहत अनुभव गरेका छन् ।  

दैनिक हजारौं आन्तरिक पर्यटक आउने इलाम वर्षको अर्काे मुख्य सिजन (चैत/वैशाख) पर्यटकशून्य रह्यो । चैतयता बन्द होटल र होमस्टे साउनपछि तंग्रिएर कात्तिकमा आइपुग्दा झन्डै अरूबेलाकै हाराहारीमा पर्यटकलाई स्वागत गर्दैछन् । मुख्य पर्यटकीय क्षेत्र अन्तु, कन्याम, सन्दकपुरमा विगत वर्षकै तुलनामा पर्यटक नआएपनि व्यवसाय अब आशलाग्दो भएको व्यवसायीले बताएका छन् ।  

सातायता इलामको मौसम सफा रहेकाले पनि पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटकको ओइरो लाग्दैछ । मेची राजमार्गसँगै जोडिएको कन्याममा अहिले दैनिक २ हजार हाराहारी पर्यटक घुम्न आइरहेका छन् । शनिबार र मंगलबार यो संख्या अझ धेरै हुने गरेको कन्याम इन होटलका सञ्चालक प्रेम आचार्य बताउँछन् । ‘साउनयता कन्याममा अलि–अलि पर्यटक आउन थालेका हुन्,’ उनले भने, ‘अहिले मेरो होटलमा दैनिक ५० भन्दा बढीले खाना खान्छन्, धेरैलाई त्यसै फर्काउनुपरेको छ,’ । आचार्यले होटलका कोठा दिनहुँ बुक भएको बताए ।

कन्याम चियाबारीको सौन्दर्य यहाँको मुख्य आकर्षण हो । मौसम खुलेका बेला हर्कटे, पाथीभरा र कन्याम चियाबारीबाट कञ्चनजंघासहितका हिमाल नजिकै देखिन्छन् । यो सिजनमा कन्याममा वनभोज खान आउनेको धुइरो लाग्छ । पर्यटकहरू घोडामा चढेर, स्थानीय जातजातिका पोसाक लगाएर रमाउँछन् । नजिकै पाथीभरादेवीको मन्दिर पनि रहेकाले यहाँ अरू दिनभन्दा शनिबार र मंगलबार चाहिँ पर्यटकको भिड लाग्ने गरेको छ ।  

झापा र इलामको सीमा जोरकलशदेखि कन्याम हुँदै फिक्कलसम्म सयभन्दा बढी होटल/रिसोर्ट छन् । यी होटल/रिसोर्टमा यतिबेला दिनहुँ पर्यटकको घुइँचो लागिरहेको छ । ‘तर, गतवर्षहरूमा अहिलेभन्दा झन्डै दोब्बर पर्यटक हुन्थे,’ व्यवसायी आचार्यले भने, ‘पूर्णरूपमा पर्यटक आउन नसकेपनि कोरोनाको सन्त्रासले लामो समय बन्द रहेका होटललाई अहिले आएर केही राहत महसुस भएको छ ।’

अर्काे पर्यटकीय क्षेत्र अन्तुमा अहिले दिनहुँ ८ सयदेखि १ हजार ३ सय हाराहारी पर्यटक आउँदैछन् । चैतदेखि बन्द रहेर असोजयता मात्रै सञ्चालमा आएका यहाँका ७६ होमस्टे र ३३ भन्दा धेरै होटलमा अहिले पर्यटकको चहलपहल बढेको हो । स्थानीय होमस्टे व्यवसायी रुद्र घिमिरेले इलामसहित झापा, मोरङ, सुनसरी र पाँचथरलगायत स्थानबाट पर्यटक आइरहेको बताए । ‘दिनहुँ सयौंको संख्यामा आउने बंगाली पर्यटक नाका बन्द भएकाले आएका छैनन्,’ उनले भने, ‘पोहोर, परार यो सिजनमा दिनहुँ १ हजार ७ सयजति पर्यटक अन्तु आइपुग्थे ।’

अन्तु आएका पर्यटक कम्तीमा १ रात यहीं बिताउँछन् । सूर्याेदय, हिमशृंखला, अन्तुपोखरी, चियाबारीको मनमोहक दृश्य यहाँका मुख्य आकर्षण हुन् । नेपालकै लोपोन्मुख लेप्चा जातिको संस्कृति अध्ययन÷अवलोकनका लागि पनि अन्तु प्रख्यात छ । मेची राजमार्गबाट नजिकै (१४ किलोमिटर) पर्ने भएकाले पनि अन्तुमा बर्सेनि हजारौैं पर्यटक आइपुग्छन् । लकडाउन सुरु हुने बेलामात्रै पनि यो क्षेत्रमा २० होमस्टे र दर्जनभन्दा बढी नयाँ होटल थपिएका थिए । १० देखि ४५ लाख रुपैयाँ लगानी गरेर खुलेका होटल लकडाउनभर बन्द हुँदा लाखौं रुपैयाँको घाटा भएको व्यवसायीले बताएका छन् । अन्तु क्षेत्रको एउटै होमस्टेमा पर्यटकीय सिजनमा महिनामै ६० देखि साढे ३ हजार जनासम्म पर्यटक आउने गरेका छन् । होमस्टे व्यवसायीले महिनामा  ६० देखि १ लाख रुपैयाँसम्म कमाउने गरेको होमस्टे व्यवसायी धनकुमार आलेको भनाइ छ ।  

भारतीय सीमासँगै रहेको सन्दकपुर डाँडामा चाहिँ यो वर्ष पर्यटकको उपस्थिति पातलो छ । भारततिरबाट हजारौंको संख्यामा आउने बंगाली पर्यटक कोभिड–१९ को त्रासले आउन पाएनन् । इलामकै बाटो भएर बाहिरी जिल्लामा पर्यटक पनि धेरै नपुगेको स्थानीय व्यवसायी बताउँछन् । जिल्लाका बालनगाउँ, चोयाटार, सिद्धिथुम्का, माइपोखरी, सन्दकपुरलगायत पर्यटकीय क्षेत्रमा रहेका होमस्टेमा पनि पर्यटकको संख्या दिनहुँ थपिँदैछ । तर, विगत वर्षहरूमा जस्तो ढुक्कले पर्यटक आउन, घुम्न र बस्न चाहिँ नपाएको व्यवसायीको भनाइ छ ।  

गतवर्षको यतिबेला मुखमा आउँदै गरेको ‘पर्यटन वर्ष सन् २०२०’ लाई लक्षित गरी मेची राजमार्ग आसपासमा मात्रै ३ दर्जनभन्दा बढी नयाँ होटल/रिसोर्ट खुलेका थिए । ती होटलमा ३० करोड रुपैयाँ नयाँ लगानी थपिएको थियो । तर, निर्माण नसकिँदै लकडाउन भएपछि होटलहरूले उठ्नै नसक्नेगरी घाटा खानुपरेको व्यवसायीको गुनासो छ । लगानी गर्नेबित्तिकै व्यवसाय सञ्चालन गर्न नपाउँदा व्यवसायीलाई बैंकको ऋण तिर्न आपत् परेका बेला अहिले केही राहत मिलेको होटल एसोसिएसनका जिल्ला अध्यक्ष देवी पौडेलले बताए । ‘इलाममा त्यसै पनि पर्यटन व्यवसाय फस्टाउँदै गएकाले होटलमा ह्वात्तै लगानी बढेको थियो,’ उनले भने, ‘तर, लकडाउनले नयाँ र पुराना दुवैखाले व्यवसायीलाई नराम्रोगरी डुबाइसकेको छ ।’  

एसोसिएसनका अनुसार जिल्लामा साढे ४ सय होटल तथा रेस्टुरेन्ट छन् । तीमध्ये ठूला ६०, मझौला २ सय र सानाको संख्या १ सय ९० छ । यी होटल र रेस्टुरेन्टमा मात्रै २ हजार ३ सय ७० जनाभन्दा बढीले रोजगारी पाएका थिए । कोभिडका कारण आधाभन्दा धेरैको रोजगारी गुमेको छ । लकडाउन अवधिमा होटल व्यवसायमा मासिक करिब २२ करोड ६२ लाख रुपैयाँ घाटा भएको अध्यक्ष पौडेलको अनुमान छ ।  

जिल्लामा हुने पर्यटकीय खचाखचले कोभिड–२९ को संक्रमण भने बढाउने सम्भावना रहेको भन्दै सामाजिक सञ्जालहरूमा स्थानीयको डर पोखिएको छ । तर, होटलमा आउने पर्यटकलाई व्यवसायीले संक्रमण नियन्त्रण मापदण्डका लागि आग्रह गरिरहेपनि कार्यान्वयन भने नभएको एसोसिएसन अध्यक्ष पौडेल स्वीकार्छन् । ‘इलाम आउने पर्यटकको संख्या बढेको छ तर कोभिडविरुद्धको मापदण्ड कार्यान्वयन गर्न नसकिएको साँचो हो,’ उनले भने, ‘व्यवसायीले त मापदण्ड पालनाका लागि आग्रह गरिरहेकै छन् । तर, पर्यटकहरू नै अब कोरोनादेखि डराउन छाडेकोजस्तो लाग्छ ।’

प्रकाशित: १६ कार्तिक २०७७ ११:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App