१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

किसानको धान खरिद गर्न ढिलासुस्ती

धान भित्र्याउने तयारी गर्दै नेपालगन्ज पुरैनीका किसान । तस्बिरः कमल खत्री

सरकारले धान खरिद गर्न ढिलाई गरेको बाँकेका किसानले गुनासो गरेका छन्। प्रविधिको प्रयोगसँगै धान काटन सहज बनेको छ। धान काटन सहज बनेपछि किसानले छिटै घरमा धान भित्र्याएका छन्। तर सरकारले धान किन्न ढिलाई गरेपछि गाउँगाउँमा पुगेर व्यापारले धान किन्न भने सुरु गरिसकेका छन्।  

खजुरा गाउँपालिका–२ गौघाटका किसान कुलबहादुर खत्रीले सरकारले धान किन्न ढिलाई गरेपछि घरनजिकै आएको व्यापारीलाई बिक्री गरेको बताए। उनले भने,‘धान काटेपछि कहाँ राख्ने भन्ने समस्या हुन्छ। आफूलाई चाहिने धान राखेपछि बिक्री गर्नुको विकल्प हुदैन। सरकारले यसपाली छिटै धान किन्ने भनेको सुनेको त थिए। तर कहिले किन्ने भन्ने टुङ्गो भएन। चाडपर्वलाई पैसा चाहिएकोले पनि बिक्री गर्न पर्‍यो।’

सरकारले मोटो धान प्रतिक्विन्टल २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ समर्थन मूल्य तोकिसकेको छ। तर किसानले भने सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन्।

ट्याक्टर लिएर गाउँगाउँ पुगेका व्यापारीलाई मोटो धान प्रतिक्विन्टल २ हजार रुपैयाँका दरले बिक्री गरेको खत्रीले बताए। सरकारले पहिलो पटक गत असारमा किसानले उत्पादन गर्ने धानको मूल्य तोकेर खरिद गर्ने घोषणा गरेको थियो।  

बाँकेमा सरकारको तर्फबाट धान खरिद गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले भने खरिद गर्न ढिलासुस्ती गरिरहेको छ।  

कम्पनीका नेपालगन्ज मुख्य शाखा प्रमुख निर्मल थापाले धान खरिद गर्न आनाकानी गरिरहेको स्रोतले बतायो।  

दुई साताअघि बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले थापालाई छिटो भन्दा छिटो सम्बद्ध पक्षसँग बैठक बसेर धान किन्ने प्रक्रिया सुरु गर्न निर्देशन दिएका थिए। तर विभिन्न वहाना बनाउँदै थापाले किसानले उत्पादन गरेको धान खरिद गर्न ढिलाई गरेका छन्।  

स्रोतका अनुसार उनले कोरोना, दशै, तिहार जस्ता पर्वको बहाना बनाउँदै खरिद गर्ने कार्य सुरु गर्न ढिलाए भएको बताउँदै आएका छन्। शनिबार थापासँग यसबारेमा कुराकानी गर्न खोज्दा उनको मोबाइल अफ गरिएको थियो।  

लिमिटेडले धान किन्न ढिलाई गर्दा त्यसको फाइदा धान व्यापारीलाई भएको छ।

४० हजार क्वीन्टल धान खरिद गर्नेे तयारी
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि किसानसँग ४० हजार क्वीन्टल धान खरिद गर्ने भएको छ। कम्पनीले आगामी मंसिर पहिलो हप्तादेखि धान खरिदको काम सुरु गर्ने तयारी गरेको कम्पनीका एक कर्मचारीले बताए।  

उनका अनुसार कम्पनीले २० हजार क्वीन्टल मोटा र २० हजार क्वीन्टल मध्यम धान खरिद गर्ने छ। कम्पनीले यसवर्षका लागि मोटा धानको २ हजार ७ सय ३५ र मध्यम धानको २ हजार ८ सय ८५ रुपैयाँ समर्थन मूल्य तोकिसकेको छ। गतवर्ष कम्पनीले मोटा धान प्रति क्वीन्टल २ हजार ५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यम धान २ हजार ६ सय ७३ रुपैयाँ १६ पैसामा खरिद गरेको थियो।  

गत आर्थिक वर्ष २०७६/०७७ मा कम्पनीले नेपालगन्जबाट ४१ हजार क्वीन्टल धान खरिद गरेको थियो। किसानले उत्पादन गरेको धानलाई कम्पनीले हरेक वर्ष खरिद गर्दै आएको छ। खरिद गरिएको धानबाट चामल तयार गरेर विभिन्न पहाडी तथा हिमाली जिल्लामा लगेर सर्बसाधारणलाई बिक्री गर्ने गरेको छ।

प्रकाशित: १५ कार्तिक २०७७ १२:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App