coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

चार महिनापछि तातोपानी नाका सञ्चालनमा

चीनसँग व्यापारिक कारोबार हुने उत्तरको मुख्य तातोपानी नाका बन्द भएको साढे तीन महिनापछि बुधबारदेखि पुनः सञ्चालनमा आएको छ।  बर्षाको बाढीपहिरोसँगै नेपालमा कोरोना संक्रमण बढेपछि असार तेस्रो सातादेखि नाका बन्द रहँदै आएको थियो।  

‘नाका सञ्चालनमा आयो। बुधबार चीनबाट केही सामाग्री पनि भित्रिए,’ तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले नागरिकसँग भने।  नाकामा कोरोना संक्रमण नियन्त्रण गर्ने शर्तमा व्यापारिक कारोबार पुनः सुरु भएको उनले जानकारी दिए।  

प्रमुख खत्रीका अनुसार नाका सञ्चालनमा आएकै दिन लत्ताकपडा र फलफूल बोकेका एक चिनियाँ र दुई नेपाली कन्टेनर सामाग्री तातोपानी आइपुगेका छन्।  अब नियमित सामाग्री आयात हुने उनले बताए।  ‘तत्काललाई दैनिक चार–पाँच कन्टेनर सामाग्री आउने जानकारी चिनियाँ अधिकारीबाट पाएका छौँ,’ प्रमुख खत्रीले भने।  

यो पनि पढ्नुहोस्

तातोपानी नाका चार महिनापछि खुल्ने

बाढी पहिरोका कारण असार २५ गतेदेखि नाका बन्द रहँदै आएको थियो।  नेपालमा कोरोना संक्रमण बढेपछि चीनले त्यसपछि पनि नाका सञ्चालनमा आलटाल गर्दै आएको थियो।  कोरोना संक्रमण रोक्ने शर्तमा गत असोज १९ गते सञ्चालनमा आएकै दिन नाका बन्द गरिएको थियो।  सात नेपाली मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि चीनले सञ्चालनको २४ घण्टा नबित्दै एक पक्षीय रुपमा नाका बन्द गरेको थियो।  

यो पनि पढ्नुहोस्

यसरी ल्याइँदै छ तातोपानी नाका सञ्चालनमा

चीनको आग्रहअनुसार कारोवारका लागि स्वास्थ्य मापदण्ड अनुसार भन्सारले तयारी पूरा गर्दै आइसोलेसन स्पेस बनाएपछि उसैले मंगलबार नाका सञ्चालन हुने सन्देश पठाएको थियो।  पूरानो भन्सार यार्डमा बनाइएको आइसोलेसन स्पेसमा आयातित सामाग्री राखिएको छ। मितेरी पुलदेखि यो क्षेत्रसम्मको भूभागलाई सिल गरिएको छ। त्यहाँ कोरोना भाइरस नेगेटिभ रहेको पुष्टि भएका सिमित चालकसहितका मजदुर मात्र प्रवेश गर्न पाउने भन्सार कार्यालयले जनाएको छ।  

चिनियाँ अधिकारी मंगलबार मात्र नेपाल पक्षले मेडिकल प्रोटोकलको पालनामा गरेको अवस्था बुझ्न नाका आइपुगेका थिए।  उनीहरु फर्के लगत्तै सामाग्री तातोपानी झरेका हुन्। पहिलो चरणमा चिनियाँ क्षेत्रमा अलपत्र सामाग्री आयात गरिने भन्सार प्रमुख खत्रीले जानकारी दिए। कोरोना संक्रमणका कारण गत माघदेखि झण्डै एक हजार कन्टेनर सामाग्री चिनियाँ क्षेत्रमा रोकिएको नेपाली व्यवसायीले बताएका छन्।  ‘पहिले ती सामाग्री ल्याउँछै।  त्यसपछि प्राथमिकता र आवश्यकताका आधारमा अन्य सामान आउँछन्,’ खत्रीले भने।  

 

 

प्रकाशित: १३ कार्तिक २०७७ १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App