coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

यसरी आउँदै छ तातोपानी नाका सञ्चालनमा

उत्तरको मुख्य तातोपानी नाका बुधबारदेखि सञ्चालनमा आउने भएको छ। सुरुमा बाढी पहिरो र त्यसपछि नेपालमा कोरोना संक्रमण बढेसँगै साढे चार महिनादेखि नाका बन्द छ।  

चिनियाँ सरकारका अधिकारीले बुधबारदेखि नाका सञ्चालनमा आउने भएकाले व्यापारिक कारोवारको तयारी गर्न सन्देश पठाएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए। ‘कोरोना संक्रमण रोक्ने कडा शर्तमा नाका सञ्चालनमा आउन लागेको हो,’ उनले नागरिकसँग भने।  

चीनको सन्देशपछि व्यापारिक कारोवारका लागि स्वास्थ्य मापदण्ड अनुसार भन्सारले तयारी पूरा गरेको प्रमुख खत्रीले जानकारी दिए। चिनियाँ शर्तअनुसार पूरानो भन्सार यार्डलाई ‘आइसोलेसन स्पेस’ बनाइएको छ भने ढुवानी र सामाग्री लोड/अनलोडमा संलग्न २३ मजदुरको समूह तयारी अवस्थामा राखिएको छ। मजदुर सबैको कोरोना संक्रमणमूक्त हुन्। उनीहरुको पिसिआर परीक्षण गरिएको थियो।  

बाढीपहिरोका कारण असार २५ गतेदेखि नाका बन्द रहँदै आएको छ। बाढीपहिरोले क्षतिग्रस्त अरनिको राजमार्ग मर्मतपछि चालु हालतमा ल्याइए पनि चीनले कोरोना त्रासले लामो समयसम्म नाका सञ्चालनमा चासो देखाएको थिएन। कोरोना संक्रमण रोक्ने शर्तमा गत असोज १९ गते सञ्चालनमा आएकै दिन नाका बन्द गरिएको थियो। सात नेपानली मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि चीनले सञ्चालनको २४ घण्टा नबित्दै एक पक्षीय रुपमा नाका बन्द गरेको थियो।  

सुख्खा बन्दरगाह भन्सार प्रशासनले कोरोना संक्रमण रोक्न स्वास्थ्य प्रोटोकल अनुसार तयारी र संरचना निर्माण पूरा गरेपछि चीनले नाका सञ्चालनको तयारीमा जुट्न सन्देश पठाएको प्रमुख खत्रीले जनाए। उनका अनुसार मितेरी पुलदेखि आइसोलेसन स्पेससम्मको क्षेत्रलाई सिल गरिएको छ। चिनियाँ पक्षले नै आइसोलेसन स्पेससम्म मालबाहक कन्टेनर ल्याएर छोड्ने छ। चिनियाँ मजदुर आफ्नो भूमिमा प्रवेश गरेपछि मात्र नेपाली मजदुर सामाग्री लोड गर्न कन्टेनरसहति आइसोलेसन स्पेसमा पुग्ने छन्।  

‘चिनियाँ कन्टेनरले सामाग्री ल्याउँदा आइसोलेसन स्पेसमा कोही नेपाली देखिन नहुने शर्त छ,’ भन्सार प्रमुख खत्रीले नाका सञ्चालनको मोडालिटीबारे जानकारी दिँदै भने, ‘नेपाली कन्टेनरमा सामाग्री लोड गरेर छुटाएपछि मात्र चिनियाँ मजदुर आफ्नो सवारी साधन लिन आउँछन्।’ आइसोलेसन स्पेसमा एकै पटक सातवटा मालबाहक चिनियाँ कन्टेनर अट्ने क्षमता छ। सात चिनियाँ कन्टेनर सामाग्री नेपाली १४ कन्टेनर बराबर हुन्छ।  

नाका सञ्चालनमा आउनुअघि मंगलबार चिनियाँ अधिकारीले नेपाल पक्षले नाकामा तयार गरेको आइसोलेसन स्पेस लगायत संरचना र मेडिकल प्रोटोकल पालना हुन सक्ने/नसक्ने अवस्थाको निरीक्षण गरेको प्रमुख खत्रीले बताए। नाका सञ्चालनअघि तातोपानीमा दुई भन्सार अधिकारीबीच तय बैठक भने भएन। निरीक्षणमा आएका चिनियाँ अधिकारीले नाकामा मेडिकल प्रोटोकल पालना हुन सक्ने अवस्था देखिएको भन्दै बैठक बसिरहन आवश्यक नठानेको उनले जानकारी दिए। उनका अनुसार चिनियाँ पक्षले दैनिक कति परिमाणमा सामाग्री पठाउने भन्नेबारे भने केही खुलाएको छैन।  

 

प्रकाशित: १२ कार्तिक २०७७ १४:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App