१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

शौचालय निर्माणबाट बजेट बचाएर विद्यालयको कोषमा जम्मा

सल्लेस्थित महंकला आधारभुत विद्यालयको दुई कोठे शौचालय । तस्बिर सौजन्य : दिलीप राई

हाल विभिन्न उपभोक्ता समितिमा बस्न हानाथाप गर्ने प्रवृत्ति बढ्दो छ । उपभोक्ता समितिमा बस्नका लागि तछाडमछाड गर्नेमध्ये थोरैको मनसाय प्राप्त बजेटलाई सही तरिकाले सदुपयोग गर्ने र आफ्नो गाउँठाउँको विकास निर्माणमा टेवा पुर्‍याउने देखिन्छ । अपवाद बाहेक धेरैजसोको उद्धेश्य उपभोक्ता समितिमा बसेर अनुचित लाभ लिने भन्ने नै देखिन्छ ।

तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९  सल्लेस्थित महंकला आधारभुत विद्यालयको दुई कोठे शौचालय निर्माणको जिम्मा लिएको उपभोक्ता समितिले भने योजनाको रकम बचाएर विद्यालयको अक्षयकोषमा जम्मा गरेको छ । शौचालय निर्माणका लागि आर्थिक वर्ष २०७६/०७७ मा नगरपालिकाको शिक्षा शाखामार्फत प्राप्त भएको ३ लाख बजेटमध्ये ६९ हजार ६४५ रुपैयाँ रकम जोगाएर विद्यालयको अक्षयकोषमा जम्मा गरेको उपभोक्ता समितिका अध्यक्ष गोपाल राईले बताए । आफ्नो विद्यालयमा भएको अक्षयकोषको वृद्धिमा टेवा पुर्‍याउनका लागि निर्माण उपभोक्ता समितिले श्रमदान जुटाएर रकम बचाएको जनाएको छ ।  

व्याजबाट एक जना निजी शिक्षकलाई तलवको व्यवस्था गर्नेगरी विद्यालयमा आर्थिक वर्ष २०७३/०७४ मा अक्षयकोष खडा गरिएको थियो । सोही अक्षयकोषको मात्रा बढाउनका लागि शौचालय निर्माणवापतको रकम बचाइएको उपभोक्ता समितिका अध्यक्ष राईले बताए । २ लाख ५ हजारमा शौचालको संरचना बनेपछि कन्टिजेन्सी र व्यवस्थापन खर्च कटाउँदा पनि ६९ हजार रकम बचत भएको हो । ‘अक्षयकोषको व्याजबाट विद्यालयमा एक जना निजी शिक्षक राखेका छौँ । त्यही कोषलाई बढाउन योजनाको रकम बचाएका हौँ,’ अध्यक्ष राईले भने, ‘आफ्नै विद्यालय हो । काम गरेका अभिभावकलाई एक/दुई दिनको पैसा नलिने र त्यसलाई श्रमदान मानेर विद्यालयलाई योगदान दिने सल्लाह भए अनुशार केही रकम अक्षयकोषमा जम्मा गर्न सफल भएका हौँ ।’  

नगरपालिकाबाट बजेट प्राप्त भएपछि विद्यालयले उपभोक्ता समितिमार्फत काम अघि बढाएको थियो । शौचालय निर्माणकाक्रममा १६/१७ जनाले दैनिक ज्यालादारीकारुपमा काम गरेका थिए । योजनाको जिम्मा लिने उपभोक्ता समिति योजनाको लक्ष्यप्रति इमान्दार भए राज्यको सम्पत्ती सदुपयोगमा योगदान पुग्ने महंकला आधारभुत विद्यालयका प्रअ दिलीप राईले बताए । ‘उपभोक्ता समितिले चाहेको भए यो रकम बचाउन सम्भव नै थिएन । खल्तीमा जाने पैसा अक्षयकोषमा आएको छ,’ प्रअ राईले भने, ‘उपभोक्ता समितिले मितव्यायीता अनपाउन सक्दा योजनाको पैसा बच्दो रहेछ भन्ने उदाहरण देखिएको छ ।’  

यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको घिमिरेचोकदेखि दुभे–नर्कटे–दोखुम सडक मर्मतका लागि शहरी बिकास मन्त्रालयबाट निकासा भएको १७ लाख २३ हजार बजेटमध्ये १ लाख १४ हजार रकम बचाएर पुःन सोही सडक मर्मतमा खर्च गरिएको थियो ।

प्रकाशित: ६ कार्तिक २०७७ ०८:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App