१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विराटनगर भन्सारमा तीन महिनामा ८० प्रतिशत राजस्व संकलन

कोरोना महामारीका कारण आयात घटेपछि विराटनगर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व असुली गर्न सकेको छैन। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब ८० प्रतिशत राजस्व असुली भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ।  

कार्यालयका प्रमुख शिव भण्डारीका अनुसार कोरोना महामारीका कारण औद्योगिक कच्चापदार्थ, पेट्रोलियम पदार्थ लगायतका मुख्य राजस्व संकलन हुने बस्तुहरूको आयात घटेपछि राजस्व संकलनमा पनि कमी आएको हो। गत आर्थिक वर्षको तुलनामा राजस्व लक्ष्य घटाएर निर्धारण गरिए पनि घटेको लक्ष्यसमेत भन्सारले भेट्टाउन सकेको छैन। गत आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा कार्यालयको लक्ष्य १३ अर्ब ९४ करोड ३१ लाख रहेकोमा चालु आवको सोही अवधिमा १० अर्ब १ करोड १८ लाख मात्र राखिएको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विराटनगर भन्सार कार्यालयले गत वर्षको भन्दा १ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ। कार्यालयले चालु आवको ३ महिनामा ७ अर्ब ९३ करोड ३० लाख रुपैयाँ असुल गरेको छ। अघिल्लो आवको सोही अवधिमा कार्यालयले ८ अर्ब ४७ करोड ७३ लाख संकलन गरेको थियो। कार्यालयले उक्त अवधिमा भन्सार महसुलबाट ३ अर्ब ७१ करोड ५४ लाखको लक्ष्यमा ३ अर्ब १७ करोड २ लाख, भ्याटबाट ५ अर्ब ३७ करोड ६२ लाखको लक्ष्यमा ३ अर्ब ८२ करोड ७८ लाख र अन्तःशुल्कको ६१ करोड १० लाखको लक्ष्यमा ४६ करोड ३८ लाख असुली गरेको छ।

प्रकाशित: ५ कार्तिक २०७७ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App