सन् २०२५ को १० महिना अवधिमा नेपालमा हवाई माध्यमबाट मात्र करिब साढे ९ लाख विदेशी पाहुना भित्रिएका छन। नेपालमा योवर्ष अहिलेसम्म ९ लाख ४३ हजार ७ सय ६ जना विदेशी पाहुना भित्रिएको पर्यटन बोर्डले बताएको छ।
नेपाल भित्रिएका विदेशी पर्यटकमध्ये ३ लाख ३७ हजार ५ सय ११ (झन्डै ३६ प्रतिशत) पाहुना सार्क सदस्य मुलुकका रहेको बोर्डको भनाई छ। सार्क मुलुकका पाहुनाको आगमन आकार नै सबैभन्दा बढी रहेको बोर्डले जनाएको छ । भारतीय पाहुनाको आगमन आकार सबैभन्दा बढी हुने भएकाले सार्क मुलुकको पर्यटक आगमनको बढी हिस्सा ओगट्ने पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने बताउँछन।
उनका अनुसार अरु एशियाली मुलुकका पाहुनाको संख्या १ लाख ९७ हजार २ सय ९६(झन्डै २१ प्रतिशत) छ। यूरोपियन मुलकका पाहुनाको संख्या १ लाख ८० हजार १ सय ४५ (१९ प्रतिशत) रहेको पनि बोर्डले जनाएको छ । यो अवधिमा भित्रिएका अमेरिकी पर्यटकको संख्या १ लाख १३ हजार ४ सय ५९ (१२ प्रतिशत) रहेको बोर्डले जनाएको छ । मध्यपूर्वी मुलुकका पाहुनाको आगमन संख्या भने १७ हजार ७ सय ७३ (झन्डै २ प्रतिशत) छन। बाँकी पाहुना अरु मुलुकका छन्।
१० महिना अवधिमा भित्रिएका पाहुनामध्ये सबैभन्दा बढी भारतीय छन्। यो अवधिमा भित्रिएका भारतीय पाहुनाको आकार २ लाख ४३ हजार ३ सय ५० छ। त्यस्तै दोस्रो नम्बरका अमेरिकी पाहुनाको संख्या ९३ हजार ९ सय ८५ रहेको छ। तेस्रो नम्बरमा रहेको चिनियाँ पाहुनाको संख्या ७८ हजार ९ सय २९ रहेको छ।
चौथो नम्बरमा रहेको बेलायती पाहुनाको संख्या ४७ हजार २ सय ६१ रहेको छ। पाँचौ नम्बरमा बंगलादेशी पाहुनाको आगमन संख्या छ। यो अवधिमा बंगलादेशबाट मात्र ४५ हजार २ सय ८७ जना पाहुना भित्रिएको पनि बोर्डको तथ्यांक रहेको छ।
बोर्डको तथ्यांक अनुसार नेपालमा गत जनवरी महिनामा ७९ हजार ९ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए। त्यो आगमन संख्या फेब्रुअरीमा ९६ हजार ८ सय ८० थियो। मार्चमा आगमन संख्या बढेर १ लाख २१ हजार ६ सय ८७ पुगेको थियो। अप्रिलमा भने १ लाख १६ हजार ४ सय ९० जना विदेशी पाहुना भित्रिएका थिए। मे महिनामा नेपालमा ८६ हजार २ सय १६ र जुन महिनामा ७६ हजार ४ सय २५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए।
त्यस्तै जुलाई महिनामा नेपालमा ७० हजार १ सय ९३ र अगष्ट महिनामा ८८ हजार ६ सय ८० जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। सेप्टेम्बरमा भने नेपालमा ७८ हजार ७ सय ११ जना विदेशी भित्रिएका थिए। अक्टोवरको १ लाख २८ हजार ४ सय ३३ सहित नेपालमा यो वर्ष अहिलेसम्म ९ लाख ४३ हजार ७ सय ६ जना विदेशी पाहुना भित्रिएका छन् ।
पर्यटन बोर्डले सन् २०२५ मा नेपालमा सन् २०२४ मा भित्रिएका विदेशी पर्यटकको संख्यामा बढीमा १० प्रतिशत मात्र बढ्ने अपेक्षा गरेको छ। सन् २०२४ मा नेपालमा सबैगरि ११ लाख ४७ हजार ५ सय ४८ जना विदेशी पर्यटक भित्रिएका थिए। बोर्डको अपेक्षा अनुसार विदेशी पर्यटक भित्रिएमा सन् २०२४ को आगमन संख्यामा २०२५ मा १ लाख १४ हजार पर्यटक थपिनेछन्। तर, विदेशी पर्यटकको आगमनको आकार तुलनात्मक रुपमा वृद्धि हुन नसकेको बोर्डले जनाएको छ ।
‘पर्यटक आगमनले गति लिँदै गर्दा केही अप्ठेराहरु आए। तरपनि पाहुना आगमनमा सोचेजस्तो गिरावट आएन,’ बोर्डका गण्डकी प्रमुख लामिछाने भन्छन, ‘जेनजी आन्दोलन भएपनि सुरुवाती चरणमा आगमनमा असर परेको हो। तर, त्यसपछि भने पर्यटकीय सिजन परेकोले विदेशीको आगमनमा सुधार भएको देखिन्छ। लामिछानेले यो अक्टोवरमा भित्रिएका पाहुनाको आकार नै यो वर्षको सबैभन्दा बढी रहेको बताए।
उनका अनुसार भारतीय पाहुनाको आगमन भने अझै कमजोर छ। भारतीय पाहुनाको आगमन कमजोर हुँदा समग्र आगमन प्रभावित भएको देखिएको भएपनि जेनजी आन्दोलनले खासै असर नपरेको यो तथ्यांकले देखाएको उनले बताए। ‘पोहोरको अक्टोवरको भन्दा यो अक्टोवरमा ३.३ प्रतिशत सुधार भएको छ। बरु कोरोना अघिको आगमनलाई भने उछिन्न सकेको छैन,’ उनले भने।
जेनजी आन्दोलनले भारतीको आकार घटाएपनि यूरोपियन, अमेरिकीको आगमनमा खासै असर नगरेकोले पनि आगमनको आकार राम्रो देखिएको लामिछानेले बताए। ‘भारतीयको आगमन भने स्वात्तै घटेको हो। अरु तेस्रो मुलुकका पाहुना आएका छन। अमेरिकीको आगमन पनि सुधार भएको छ,’ उनले भने। उनका अनुसार पर्यटक आगमन सेप्टेम्बरमा आगमनमा जेनजी आन्दोलनले केही असर परेको भएपनि अक्टोवरको आगमनमा भने सुधार भएको बताए। ‘जेनजी आन्दोलनका कारण तत्कालिन अवस्थामा सेप्टेम्बरमा आगमन ओरालो लागेको थियो। आन्दोलनको सुरुवाती समयमा आगमनमा प्रभाव परेपनि पछिल्लो समय सुधार भएको छ,’ उनले भने।
नेपालको पर्यटन बेलैमा रिकभर हुने भएकोले पनि आगमनमा सुधार देखिएको उनले बताए। ‘आन्दोलनपछि पर्यटन प्रवर्द्धनका गतिविधि पनि भएका थिए। त्यसबाहेक सिजन पनि परेको हो। अक्टोवर भनेको पर्यटक आउन समय पनि हो,’ उनले भने, ‘सेप्टेम्बरका सुरुमा धमाधम रद्द भएपनि अक्टोवरमा मनोवल बढेको हो। सामाजिक सञ्जाल लगायत सबैको पहलमा प्रवर्द्धन भएकोले पनि पाहुना भित्र्याउन बल पुगेको छ।’
प्रकाशित: २६ कार्तिक २०८२ १९:५९ बुधबार





