१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

सुख्खा बन्दरगाह निर्माणको काम ६ महिनादेखि ठप्प

रसुवाको टिमुरेमा निर्माण भइरहेको सुख्खा बन्दरगाह । तस्बिरः हिमनाथ/नागरिक

विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण सुख्खा बन्दरगाह निर्माणको काम ६ महिनादेखि ठप्प भएको छ। नयाँ वर्ष मनाउनका लागि गएका चिनियाँ कामदार फर्कन नसकेको र निर्माण सामग्री समेत आयात हुन नसकेपछि चैत महिनादेखि काम ठप्प भएको हो।  

कोभिड–१९ का कारण गएको चैत यता काम हुन नसकेको इन्टरमोडल यातायात विकास समितिका निर्देशक युवक डंगोलले बताए। ‘चीन गएका कामदार ल्याउनका लागि भिसा प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘कामदार र सामग्री नआउँदासम्म कहिलेबाट काम सुरु हुन्छ भन्न सकिने अवस्था छैन।’

रसुवागढी नाकाभन्दा वर पर्ने टिमुरेमा ११ महिनाअघि बन्दरगाह निर्माणको काम सुरु भएको हो।  ३० महिनामा निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको आयोजनाको हालसम्म ९ प्रतिशत मात्र काम सम्पन्न भएको छ। बर्खाको समयमा बाढीले क्षति पुर्‍याएकाले पनि आयोजनाको प्रगति कम देखिएको हो।  

आयोजनाको निर्माण तिब्बेत फुली कन्ट्रक्सनले गर्ने छ। बन्दरगाह निर्माण क्षेत्रका केही प्रभावितले अझै मुआब्जा नपाएको गुनासो गरिरहेका छन्। मुआब्जा पाउन बाँकी रहेका प्र्रभावितको अध्ययनको काम भइरहेको समितिले जनाएको छ। चीन सरकारको लगानीमा चिनियाँ टोलीले नै निर्माण गर्ने भएकाले नेपाली पक्षले समन्वयको काम मात्र गर्ने छ।  

चीन सरकारले दुई चरणमा बन्दगाह निर्माण गर्ने जनाएको छ। डिजाइन अनुसारको काम पहिलो चरणमा पूरा गर्ने र बाँकी काम दोस्रो चरणमा गरिने छ। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा बन्ने बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण गरिसकिएको छ।  

लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनी गरी साढे ८ हेक्टर जग्गा अधिग्रहण गरिसकिएको छ। चिनियाँ लगानीमा चिनियाँ पक्षले नै निर्माण गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने द्विपक्षीय सम्झौता भएको छ।  

समितिले २०७५ माघ १ गते चीनको छेन्दुमा पुगेर सुख्खा बन्दरगाहको डिजाइन स्वीकृतिको सम्झौता गरेको थियो। नेपाली पक्षले स्थानीय समस्याको समाधान गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने, सामग्री आयातमा भन्सार छुटको व्यवस्था गर्ने लगायतका कार्य गर्नेछ।  

निर्माण कार्य अवधिभर नेपाली पक्षले अनुगमन, निगरानी र समन्वयको भूमिका निर्वाह गर्नेछ। आर्किटेक्चरल रिकन्नाइन्सेन्स एण्ड डिजाइन इस्टिच्युट अफ द तिबेत अटोनोमस रिजनले डिजाइन तयार पारेको थियो। बन्दरगाहमा पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपास स्थल, भन्सार, क्वारेन्टिन, बैंक, ल्याब रहने छ।  

बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँच तले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, दुई हजार ८० वर्गमिटरका दुईवटा जाँचपास स्थल रहने उनले बताए। बन्दरगाहमा तीन सय ५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ। साढे ८ हेक्टर जमिनमा बन्दरगाह निर्माण हुने समितिले जनाएको छ।

प्रकाशित: २४ आश्विन २०७७ १३:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App