३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

अकबरे पनि तेस्रो मलुकतिर

किसानको भरपर्दाे आम्दानी बनिरहेको अकबरे (खुर्सानी) तेस्रो मुलुकसमेत निर्यात हुन थालेको छ। सयौं किसानको व्यावसायिक उत्पादन भइसकेको अकबरे नेपाल र भारतपछि अमेरिका, हङकङलगायत देशमा निर्यात सुरु भएको हो।  

जिल्लाको पूर्वी भेगका किसानले आन्तरिक बजार र भारतका विभिन्न सहरमा यहाँको अकबरे बेचिरहेका थिए। तर, सूर्याेदय नगरपालिका–१२, आठघरेका किसान मदन राईले ५० किलो अकबरे अमेरिका पठाएका छन्। उनले २ सय किलो हङकङ पठाए। अमेरिका र हङकङमा बसोबास गर्ने नेपालीले इलामको अकबरे धेरै परिमाणमा माग गरिरहेको उनले बताए। ‘यो साल अमेरिका, हङकङ, साउदी, कतार, मलेसिया, भारतलगायत देशबाट अकबरेको धानिनसक्नु माग आएको छ,’ उनले भने, ‘अमेरिकाबाट मात्रै सातामा सय किलोभन्दा बढीको माग छ तर पठाउने अकबरे छैन।’

ती देशमा बस्ने नेपालीमार्फत् स्थानीय व्यापारीसमेत यहाँको अकबरे खोर्सानीमा आकर्षित भएको किसान राईको भनाइ छ। ‘सुरुमा त विदेशका नेपालीले मात्रै माग्दैथिए, अहिले ती देशका व्यापारीसमेत आकर्षित भएका छन्,’ उनले भने, ‘विदेशमा नेपालीले गरेको माग नै धान्ने अवस्था छैन। अरूलाई त कहिले हो कहिले?’ १ किलो अकबरे अमेरिका पुर्‍याउन ढुवानी खर्चमात्रै १ हजार २ सय ५० रुपैयाँ लाग्छ। झापाको बिर्तामोडबाट कुरियरमार्फत् तेस्रो मुलुकमा अकबरे पठाउँदा कुनै झन्झट र समस्या चाहिँ नभएको उनले जनाए। यहाँबाट पठाएको १० दिनमा ती देशमा अकबरे पुगेको छ। ‘पहिलोपटक भएकाले मूल्य चाहिँ यहाँ विक्री हुने नै मात्र लिएँ,’ उनले भने, ‘मागअनुसारको परिमाण पु¥याउने हो भने अहिलेको मूल्यभन्दा निकै राम्रोमा बेच्न सकिनेरहेछ।’  

२ दशकयता तरकारीको व्यावसायिक खेती गरिरहेका मदनले यो वर्ष १० हजार बोट अकबरे लगाएका छन्। र, ३ सय किलो टिपिसकेका छन्। प्रतिबोट सरदर डेढ किलो उत्पादन गर्ने लक्ष्य रहेपनि वर्षाैंदेखिका ग्राहकलाई नै आफूले उत्पादन पुर्‍याउन नसक्ने अवस्था रहेको राईले बताए। ‘इलामसहित झापा, धरान, विराटनगर, काठमाडौंका अचार, चाउचाउ र मसाला उद्योगले गरेको माग नै धान्न सकिएको छैन,’ उनले भने, ‘तेस्रो मुलुक पठाउन त झन् कसरी पुग्छ र!’ आन्तरिक बजारबाटै यो वर्ष १ मेट्रिक टन अकबरेको माग आफूलाई आएको उनले जनाए।  

अकबरेको रातो वा हरियो दानामात्र होइन, बीउ वा धुलोका रूपमा प्रयोग हुने मसिनो दानाको माग अझ धेरै छ। पाकेपछि बेच्न नपाएको अकबरे सुकाएर भित्रको दाना बेच्दा पनि उच्च मूल्यमा बिक्री हुन्छ। ‘यस्तो सुकाएको दाना प्रतिकिलो २५ हजार रुपैयाँसम्ममा बेचेको छु,’ उनले भने, ‘पोहोर ७ किलो बेचेको थिएँ, यो वर्ष माग धेरै छ, रातो र हरियो दाना नै पुगेन भने बीउ बनाउन सकिँदैन।’ ४५ किलो रातो दानाको मात्रै १ किलो बीउ उत्पादन हुने भएकाले यसको मूल्य धेरै पर्छ।

उत्पादन घटेपछि मूल्य दोब्बर

यो वर्ष जिल्लाका किसानले लगाएको अकबरेको बोट नै रोगले सखाप भएको छ। फल्ने बेलाको बोट धमाधम मरेपछि उत्पादन अत्यन्त कम भएकाले मूल्य दोब्बर भएको हो।

अहिले अकबरे प्रतिकिलो ५ सय रुपैयाँले घरबाटै बिक्री भइरहेको राईले बताए। ‘हिजो–अस्तिसम्म अढाई सय रुपैयाँमा बिकेको अकबरे अहिले ५ सयमा बिक्दैछ,’ उनले भने, ‘रोग लागेका बोट पूरै सकिएको र ती बोटको उत्पादन शून्य भएकाले बचेका बोटमा फलेको अकबरेले अब अझ दाम पाउँछ।’

तर, मदनको बारीमा लगाएको अकबरेको भने १/२ वटाबाहेक कुनै बोट मरेको छैन। रोगले सयौं किसानको अकबरे सकिँदा मदनको किन बच्यो त? उनी भन्छन्, ‘मैले दशकयता कुनैपनि तरकारीमा रासायनिक मल र विषादी प्रयोग गरेको छैन। अर्गानिक हिसाबले खेती गर्नुको फाइदा यो साल सार्‍है घतलाग्दोगरी बुझियो।’ रासायनिक मल र विषादी प्रयोग नगरेको भएकैले देश/विदेशबाट अकबरेको माग बढी आएको उनले बताए। ‘अर्गानिक अकबरेको फलेको दाना टिपेपछि तराईतिरकै गर्मीमा पनि कम्तीमा १० दिनसम्म कुहिँदैन र बिग्रिँदैन,’ राईले अनुभव सुनाए, ‘पहाडी क्षेत्रमा १५/२० दिनसम्म जस्ताको तस्तै रहने भएकाले माग बढी आयो।’ 

सुरु–सुरुमा आफूले आन्तरिक बजारमा अरूले भन्दा प्रतिकिलो ५० रुपैयाँ कममै अकबरे बेचेको तर आफ्नो उत्पादनको गुणस्तर चिनेपछि ग्राहकले आफैं ५० रुपैयाँ थपिदिएर माग बढाएको राईले सुनाए। ‘अर्गानिक गर्दा सुरुका १–२ वर्ष कम उत्पादन हुन्छ तर त्यसपछि बढ्छ। त्योभन्दा महत्वपूर्ण कुरा चाहिँ, अर्गानिक उत्पादनको महत्व बुझेपछि देश/विदेशका ग्राहक खोजी–खोजी घरै आइपुग्दारहेछन्।’  

राई आफ्नो खेतीमा विशेषगरी गाईको मलमूत्र प्रयोग गर्छन्। निमको पिना, हड्डीको धुलो, आफैंले उत्पादन गरेको गड्यौले मल तरकारीमा हाल्छन्। रोग/कीराबाट बाली बचाउन गड्यौले मलको झोल प्रयोग गर्छन्। दहीबाट घिउ निकालेर बनाइएको मोहीलाई पनि निश्चित पद्धतिमा ढालेर रोगबाट बालीनाली बचाउन प्रयोग गर्नेगरेको उनले जनाए।

प्रतिरोपनी ४० हजार रुपैयाँ लगानी गरेर ९ रोपनीमा अकबरे खेती गरेको उनले जनाए। तर, यो वर्ष फूल झर्ने, फल नअडिने, फेद कुहिने र वर्षा बढी भएकाले उत्पादन चाहिँ थोरै हुने अनुमान राईले गरेका छन्। मदनले अकबरेको बिरुवासमेत बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन्। यो साल पोलिथिनमा राखिएका हजार र नराखिएका १० हजार बिरुवा बेचेको उनले सुनाए। पोलिथिनमा राखिएको बिरुवा प्रतिगोटा २० र नराखिएको ५ रुपैयाँमा बिक्री हुन्छ। गतवर्ष ३० हजार बिरुवाको माग आएकामा २६ हजारमात्रै बेच्न सकेको उनले जनाए। ‘यो वर्ष पनि नेपालका पश्चिमी जिल्लासमेतबाट पोहोरको भन्दा धेरै बिरुवाको माग थियो,’ उनले भने, ‘तर, उत्पादनै गर्न सकिएन।’  

राईले यो वर्ष अकबरेको बिरुवाबाट ७० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्। फलबाट चाहिँ ६ लाख रुपैयाँ हाराहारी आम्दानी हुने अनुमान गरेको उनले बताए। ‘माग त पुर्‍याउन सकिँदैन तर विदेशबाट पनि यति धेरै माग हुनुमा चाहिँ हाम्रो उत्पादनको गुणस्तर राम्रो रहेछ भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘धेरैभन्दा धेरै खेती गर्दा चाहिँ अकबरेले विदेशसम्म पुगेर अझ राम्रो मूल्य पाउने रहेछ।’

प्रकाशित: २१ आश्विन २०७७ १३:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App