२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एक दिनमै तातोपानी नाका बन्द

व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको छ ।  

नेपाली मजदुरमा कोरोना संक्रमण देखिएपछि चीनले एकपक्षीय रूपमा नाका बन्द गरेको हो । कुनै पनि सामान मंगलबार नाकामा आएनन् । बाढीपहिरोका कारण झण्डै तीन महिना बन्द रहेको नाका सोमबार मात्र सञ्चालनमा आएको थियो । कोरोना संक्रमण रोक्ने सर्तमा दुई देशका अधिकारीबीच गएको मंगलबार नाकाबाट व्यापारिक कारोबार सञ्चालनमा ल्याउने सहमति भएको थियो । सामान ढुवानी र लोड/अनलोडमा संलग्न मजदुरमा कोरोना संक्रमण देखिएपछि चिनियाँ अधिकारीले तत्काल सामग्री पठाउन नसकिने जानकारी दिएको तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । ‘दुवै भन्सार प्रशासनबीच सुरक्षित ढंगले कसरी नाका नियमित सञ्चालनमा ल्याउन सकिन्छ भनेर नयाँ मोडालिटीबारे छलफल सुरु भएको छ,’ उनले नागरिकसँग भने, ‘त्यो मोडालिटी नबनेसम्म अझै केही दिन नाका सञ्चालनमा आउने अवस्था छैन ।’ नेपालीको चाडबाड मौसम सुरु भएकाले नाका लामो समय भने बन्द रहन नसक्ने प्रमुख खत्रीले दाबी गरे । उनका अनुसार पछिल्लोपटक तीन नेपाली मजदुरमा कोरोना संक्रमण पुष्टि भएपछि चीनले हठात् सामान पठाउन रोकेको हो । यसअघि अर्को समूहका चार मजदुरमा कोरोना भेटिएको थियो । चीनकै प्रस्तावमा सिफ्टमा काम गर्ने गरी सामग्री ढुवानी र लोड/अनलोड गर्ने दुई समूह बनाइएको थियो । बन्द हुनुअघि २९ मजदुरको एउटा मात्र समूहले काम गर्दै आएको थियो ।

कोरोना संक्रमण रोक्न बनाइएको २९ मजदुरकै दोस्रो समूहका तीनको रिपोर्ट पोजेटिभ आएको हो । उनीहरूको स्वाब परीक्षण चीन आफैंले गरेको थियो । यसअघि नेपालको ल्याबमा परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो । पहिलो समूहका मजदुरको भने नेपालमा मात्रै परीक्षण गरिएको थियो । पहिलो समूहका संक्रमित आइसोलेसन र अरू मजदुर क्वारिन्टनमा बसेको मंगलबार १३ दिन बितेको छ ।  

‘अब कसरी नाका सञ्चालनमा ल्याउने भनेर छलफल गरिरहेका छौं । निर्णयमा पुग्न केही दिन लाग्छ,’ चिनियाँ अधिकारीको भनाइ उद्धृत गर्दै भन्सार प्रमुख खत्रीले भने । नेपाली मजदुर सामान लिन चिनियाँ भूमि मितेरी पुलसम्म पुग्दै आएका थिए । अब नेपाली मजदुर चिनियाँ क्षेत्रमा नछिर्ने तर चीनले नेपाली भूमि (भन्सारको पुरानो यार्ड) सम्म सामान ल्याएर झारिदिने मोडालिटीमा काम गर्ने गरी प्रस्ताव पठाएको खत्रीले जानकारी दिए । यो प्रस्तावमा पनि छलफल चलाउने आश्वासन चीन पक्षले दिएको उनले बताए ।  

पहिलो चरणमा कोरोनाका कारण चिनियाँ भूभागमा अलपत्र सामान पठाउने र त्यसपछि निरन्तर नियमित व्यापारिक कारोबार सञ्चालन गर्ने सहमतिमा नाका खुलाइएको थियो । नाका खुलेकै दिन १२ कन्टेनर सामान भन्सार आइपुगेका थिए ।  

नेपाली व्यावसायीका अनुसार झण्डै एक हजार कन्टेनर सामग्री चिनियाँ भूभागमा रोकिएका छन् । बाढीपहिरोका कारण असार २५ गतेदेखि नाका बन्द रहँदै आएको थियो । यसअघि कोरोनाका कारण चीनले अन्तर्राष्ट्रिय सीमा नाका सिल गर्दा माघदेखि चैतसम्म नाका बन्द भएको थियो । नेपालमा समेत कोरोना संक्रमण बढेपछि सरकारको आग्रहमा स्वास्थ्य सामग्री आयात गर्ने प्रयोजनले नाका खुलाइए पनि वर्षाका कारण तीन महिनाभन्दा बढी समय चल्न सकेन ।

प्रकाशित: २१ आश्विन २०७७ ०४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App