२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

करोडौं मूल्य बराबरका म्याद गुज्रेका खाद्यवस्तु नियन्त्रणमा

शुक्रबार बाफलस्थित आयन इन्टरनेनेसलको खाद्यवस्तु गोढाममा निरीक्षण गर्दै अनुगमन टोली ।तस्बिर: नागरिक

करिब तीन करोड मूल्य बराबरका म्याद गुज्रेका खाद्यवस्तु रि–लेवलिङ गरेर बिक्री गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन, प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले काठमाडौंको कलंकी र बाफलबाट ठूलो परिमाणमा म्याद गुज्रेका गुणस्तरहीन खाद्य वस्तु बरामद गरेको हो।

रि–लेवलिङ र ढुवानीमा संलग्न आठजनासहित दुई सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको विभागले जनाएको छ। पक्राउ पर्नेमा आयन इन्टरनेनेसलका रौनक बोथ्रासहित रहेका छन्। प्रहरीले पुष्पादेवी अग्रवाल, भारत राजस्थानका रोनक बोथ्रा, मुन्ना ठाकुर, पप्पुकुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी, सिताराम उपरकोटी र दिलीप थापामगरलाई पक्राउ गरेको छ।

म्याद सकिएका सामानलाई पुनः म्याद राखेर बजारमा पठाउने सूचनाका आधारमा छापा मारेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए। ‘सूचनाका आधारमा अनुसन्धान गरिरहेका थियौं,’ थापाले भने, ‘ छापा मार्दा ठूलो परिणामा खाद्य वस्तु सामान बरामद भयो।’

गोदाम रहेका दुई घरलाई प्रहरी, जिल्ला प्रशासन र विभागको टोलीले सिल गरेको छ। त्यहीँनजिक रहेको अमेजन डिस्टिब्युटरमा समेत लेभलिङ गरी बजारमा बिक्री गर्न राखिएका सामानहरु प्रहरीले फेला पारेको छ। ती सामानको उपभोग्य मिति सकिएकाले प्रयोग गर्न मिल्ने गरी पुनः प्रयोग गर्न मिल्नेगरी मिति र छाप हानेर पठाउन लागिएको हो।

चकलेट, बिस्कुट, चिप्स, ट्यांक, हर्पेक, प्रर्फ्युम जस्ता म्याद सकिएका समानमा पुनः म्याद राखेर बिक्री गर्ने गरेको भेटिएको विभागका प्रवक्ता रवीन्द्र आचार्यले बताए। लामो लकडाउनपछि बजारमा म्याद गुज्रेका वस्तु बिक्री हुने आशंकामा शुक्ष्म निगरानी गरेकाले पत्ता लगाउन सकेको आचार्यले बताए। ‘कोरोनाका कारण करिब ६ महिना लकडाउन हुँदा धेरै वस्तु बिक्री हुन पाएनन्,’ आचार्यले भने, ‘तीनै सामान रि–लेवलिङ गरेर बिक्री गर्ने गरेको पाइयो।’ ती म्याद गुज्रेका सामान करिब तीन करोड रुपैयाँ मूल्य बढीका रहेको जनाइएको छ।

रि–लेवलिङ र ढुवानीमा संलग्न आठ जनासहित दुई सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

ती सामान आयन डिष्ट्रिब्युटरले विशाल समूहको युनाइटेड डिष्ट्रिब्युटर र लाइफ केयर इन्टरनेशनलबाट खरिद गरेको अनुसन्धानमा देखिएको छ। यसमा विशाल ग्रुपको संलग्ता देखिएको छ। स्नीकर्स, ओरियो बिस्कुट, प्रिङगल्सलगायतका सामान विशाल ग्रुपले आयात गरेर बिक्री गर्दै आएको छ। तिनै सामानमा म्याद थप्दै बजारमा पठाउने गरेको भेटिएको हो। कति सामाज बजारमा गएको छ भन्नेबारे अनुसन्धान भइरहेको छ।

मानव स्वास्थ्यमा गम्भीर अपराध गर्नेलाई कडा कारबाही नगर्दा यस्तो प्रवृत्ति दोहोरिने गरेको उपभोक्ता अधिकाकर्मी बताउँछन्। मानव स्वास्थ्यमा गम्भीर खेलवाड गर्नेमाथि मुलुकी अपराध संहिता–२०७४ सामाजिक अपराधसम्बन्धी मुद्दा चलाउनुपर्ने उपभोक्ता अधिकारकर्मी तथा अधिवक्ता ज्योति बानियाँले बताए। वस्तु जफत गरेर मूल्य बराबरको जरिवाना तिराएर मात्र नहुने बानियाँको तर्क छ। ‘कडा कारबाही नहुँदा पटक–पटक यस्ता घटना दोहोरिने गरेका छन्,’ उनले भने, ‘मुलुकी अपराध संहिताअन्तर्गत मुद्दा चलाउनुपर्नेमा कमजोर बनाउने खेल हुँदैछ।’

यो मुद्दामा मुलुकी अपराध संहिताअनुसार नभई उपभोक्ता हित संरक्षण ऐनअन्र्तगत मुद्दा चलाउने तयारी भैरहेको छ। विभागले मुद्दाको अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धान गरेपछि महानिर्देशकको इजलासले दण्डित गर्ने वा अदालतमा मुद्दा लैजाने भन्ने निर्णय हुने प्रवक्ता आचार्यले बताए। उपभोक्ता संरक्षण ऐनअन्तर्गत कारबाही गरिने आचार्यले जानकारी दिए। ‘रि–लेवलिङमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौं,’ आचार्यले भने, ‘अपराधको आधारमा दण्ड, सजाय गर्छौं।’

विदेशमा अखाद्य वस्तु बिक्री गर्नेलाई गम्भीर अपराधका रूपमा लिए पनि यहाँ सामान्य कारबाही हुँदा घटना दोहोरिएका छन्। म्याद गुज्रेका अखाद्य वस्तु उपभोग गर्दा विभिन्न प्रकारका रोग लाग्ने चिकित्सकहरु बताउँछन्।

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा गुणस्तरीहीन वस्तुको बिक्री नियन्त्रणको प्रयास भइरहेको जनाएको छ। दूध, पानी, खाद्यवस्तु, उद्योगको अनुगमन गरिरहेको विभागका महानिर्देशक उपेन्द्र रायले बताए। ‘गुणस्तरहीन खाद्य वस्तु बिक्री गर्नेलाई कानुनी दायरमा ल्याएका छौं,’ रायले भने। चाडपर्वको मुखमा अखाद्य वस्तु, कालोबजारी गरेर उपभोक्ता ठग्ने घटना बढ्ने गरेका छन्।

प्रकाशित: १७ आश्विन २०७७ ०२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App