६ वैशाख २०८१ बिहीबार
अर्थ

सार्वजनिक यातायातको मनपरी, न भाडा सस्तो, न स्वास्थ्य सुरक्षा

फाइल तस्वीर

कोरोना महामारीका कारण लामो समय बन्द रहेको सार्वजनिक यातायातलाई सरकारले स्वास्थ्य मापदण्डसहित सतर्त सञ्चालन गरे पनि यातायात व्यवसायीले भने कुनै पनि सुरक्षा मापदण्ड र सर्त पालना नगरेको पाइएको छ। उपत्यकालगायत लामो दूरीका सवारीसाधनमा व्यवसायीले सामान्य अवस्थामा जसरी नै यात्रु कोचेर चर्को भाडादर असुल्ने गरेका छन्।  

कोरोना महामारीलाई ध्यानमा राख्दै सरकारले यातायातमा स्वास्थ्य सुरक्षा अनिवार्य गरेको थियो। तर, यातायात क्षेत्रमा कोरोना संक्रमणबाट जोगिन कुनै पनि सुरक्षा माण्दण्ड अपनाइएको छैन। दुई सिटमा एकजना यात्रु राख्ने, ढोकामा स्यानिटाइजर राख्ने, यात्रुसँग दूरी कायम राख्ने, मास्क लगाएर मात्र सवारीसाधनमा बसाल्नेलगायत सुरक्षा अपनाउन सरकारले निर्देशन दिए पनि यातायात क्षेत्रमा त्यसको पालना भएको छैन। उपत्यकामा दुवैतिरका सिटमा यात्रु बसाल्ने र प्यासेजमा समेत उभ्याउने गरिएको छ। यसरी सरकारले निर्देशन दिएका मापदण्ड र सर्तलाई बेवास्ता गर्दै यात्रुहरू ठगी गर्ने क्रम बढे पनि सरकारी निकायले भने त्यसको अनुगमन गरेका छैनन्।  

सबैजसो सवारीसाधन सञ्चालन भइसकेको अवस्थामा उपत्यकालगायत देशभर नै सार्वजनिक यातायातले चर्को भाडादर अशुल्ने गरेको यात्रुहरूको गुनासो छ। ‘सामान्य अवस्था र अहिलेको अवस्थालाई यातायात क्षेत्रमा पालना गरिएको छैन, भाडा चर्को लिने तर मापदण्ड पालना गर्नतर्फ व्यवसायीको चासो छैन,’ यातायातकर्मी नरेन्द्र चुदालीले भने।  

सबैजसो सवारीसाधन सञ्चालन भइसकेको अवस्थामा उपत्यकालगायत देशभर नै सार्वजनिक यातायातले चर्को भाडादर अशुल्ने गरेको यात्रुहरूको गुनासो छ। 

अहिले उपत्यकाभित्र गाडी चढ्नासाथ २५ रूपैयाँ लिने गरेका छन्। लकडाउन अघि सोही भाडादर १५ रूपैयाँ मात्र थियो। यातायात व्यवसायी, यातायात व्यवसायी महासंघ र यातायात व्यवस्था विभागबीच छलफल भएपछि असोज १ गतेदेखि लामो दूरीका बस सञ्चालनमा आएका छन्। अहिले उपत्यकाबाट बाहिरिने सवारीसाधनको संख्या बढेको छ भने उपत्यकामा पनि सबैजसो सार्वजनिक सवारीसाधन गुडेका छन्। तर ती सवारीमा कोरोना महामारीबाट बच्न कुनै सजगता अपनाइएको छैन। यातायातकर्मी प्रेमबहादुर थापाले पछिल्लो समय सरकारले निगरानी नराख्दा यात्रु मर्कामा परेको बताए। लामो दूरी र छोटो दूरीका सवारीसाधनले तोकिएभन्दा दोब्बर भाडा असुली गरेको उनको भनाइ छ। ‘सरकारले व्यवसायीसँग एक खालको सहमति ग¥यो तर अहिले यातायातमा मनपरी चलेको छ। साथै न त यातायात व्यवस्था विभागले हेर्छ न त ट्राफिक प्रहरीले नै, यस्तो बेलामा पनि यात्रु ठगिएका छन्, सरकारी निकाय रमिते छ,’ उनले भने।  

उनका अनुसार यसअघि सरकार र यातायात व्यवसायीबीच दसैं बेला भाडा बढाउने निर्णय भएको थियो। अग्रिम टिकट बुकिङ खोल्न नमानेपछि सरकारले दुई सिटमा एकजना यात्रु राख्नेगरी सहमति गरेको थियो। तर, अहिले सडकमा यातायात व्यवसायीले यात्रुलाई नै मर्का पारेका छन्। विद्यार्थी र ज्येष्ठ नागरिकलाई दिइने छुट पनि दिएको छैन। एउटै सिटमा दुईजना राखिएको छ। यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले अनुगमन नगरेपछि यस्तो लापर्बाही बढेको हो।  

यातायातकर्मी थापाले भने, ‘अहिले कवाडी गाडी चढाएर चर्को भाडा लिएका छन्। १०३ मा फोन गर्दा उठ्दैन। पुराना झ्याम्पट गाडी चलाएका छन्। टिकटमा गाडी नम्बर पनि लेखेको छैन। योभन्दा बढी लापरबाही के हुन सक्छ ?’

त्यसो त यातायात व्यवस्था विभाग, यातायात व्यवसायी महासंघ र ट्राफिक प्रहरीबीच समन्वय छैन। प्रहरी र यातायात कार्यालयले निगरानी बढाउँदा ट्याक्सी व्यवसायीले समेत बिरामीलाई नलग्ने र चर्को भाडा असुल्ने गरेको यात्रुको गुनासो छ। यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले सरकारले एकलौटी निर्णय गरेका कारण व्यवसायि नै उल्टो मर्कामा परेको जानकारी दिए। उनले भने, ‘सरकारले एकपक्ष मादण्ड तयार पारेको हो, त्यो हामी मान्दैनौं, हामीले मात्रै सरकारका कुरा सुन्दिनुपर्ने हो र ?’ उनले यातायात बन्द हुँदा मजदुरलाई रोजीरोटीको समस्या भएको र खुलाउन पहल गरेको बताए। उनका अनुसार लामो समस्या गाडी ग्यारेजमा थन्क्याउँदा बिग्रिएको र यातायात मजदुरको अवस्था नाजुक बनेको थियो। असो १ गतेदेखि यातायात सञ्चालन गर्नुपूर्व बसपार्क र भिडभाड हुने ठाउँमा सरकारले साबुन पानी र सेनिटाइजर राख्ने भने पनि सरकारी निकायले चासो दिएको छैन।  

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले यातायात क्षेत्रमा स्वास्थ्य सुरक्षा अनिवार्य गरिएको बताए। उनले विभागका कर्मचारी र प्रहरीले समेत त्यसको निगरानी बढाएको दाबी गरे। ‘यो समयमा आफैं संयम हुने हो, सबैले स्वास्थ्य सुरक्षा अपनाउनुपर्छ, हामीले व्यवसायीलाई सुरक्षा अपनाएर मात्रै सवारी गुडाउन भनेका छौं, अनुगमन भइरहेको छ,’ उनले भने।  

कोरोना संक्रमणका कारण सडकमा ट्राफिक प्रहरीको उपस्थिति पनि न्यून छ। अत्यावश्यक ठाउँबाहेक अन्य क्षेत्रमा ट्राफिक प्रहरीको ध्यान छैन। ट्राफिक प्रहरी सक्रिय नहुँदा सार्वजनिक यातायात क्षेत्रमा मनपरी बढेको छ। ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीमप्रसाद ढकालले स्वास्थ्य मापदण्ड नअपनाई गुडेका सवारीसाधन नियन्त्रणमा लिने गरिएको बताए। उनले भने, ‘सुरक्षा सबैलाई चाहिन्छ, हामीले धेरैजसो ठाउँमा प्रविधि प्रयोग गरेका छौं र ट्राफिक प्रहरी पनि सक्दो खटिएका छन्।’

प्रकाशित: १५ आश्विन २०७७ ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App