१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कोरोना नियन्त्रण गर्ने सर्तमा तातोपानी असोज १९ बाट सञ्चालनमा आउने

पहिरो चरणमा रोकिएका हजार कन्टेनर भित्रिने

दुई महिनादेखि बन्द उत्तरको मुख्य तातोपानी नाका आउँदो असोज १९ गतेदेखि सञ्चालनमा आउने भएको छ। दुबै मुलुकका स्थानीय अधिकारीबीच मंगलबार तातोपानीमा भएको बैठकले नाका सञ्चालनमा ल्याउने मिति तय गरेको हो।  

‘अक्टुबर ५ तारिख (असोज १९) बाट नाका सञ्चालनमा आउने छ,’ बैठकपछि तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले नागरिकसँग भने। अब नाका पूर्ण रुपमा सञ्चालनमा आउने उनले बताए। खत्रीका अनुसार नेपाली पक्षले स्वास्थ्य सुरक्षा मापदण्डको भने पूर्ण पालना गर्नु पर्नेछ।  

गएको असार २५ गतेको बाढी पहिरोले अरनिको राजमार्गको जम्बु बजार र सडक बगाएपछि नाका बन्द रहँदै आएको थियो। बाढी पहिरोले अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याइए पनि नाका भने बन्द रहँदै आएको थियो। त्यही समयमा तिब्बतस्थित ताल फुट्ने खतरा रहेको भन्दै चीनले नाका खोल्न आनाकानी गर्दै आएको थियो।  

ताल फुट्ने जोखिमलाई चीनले कारण देखाए पनि त्यो बहाना मात्रै रहेको नेपाली पक्षको बुझाइ रहँदै आएको छ। ‘ताल बाहिरी कारण मात्र थियो। खासमा नेपालमा बढ्दो कोभिड–१९ को संक्रमणको कारण चीन तत्काल नाका खोल्न हच्किएको थियो,’ भन्सार स्रोतले बतायो। बैठकमा चिनियाँ अधिकारीले राखेको एउटा शर्तबाट समेत यो पुष्टि हुन आउँछ। उनीहरुले व्यापारिक कारोबार सञ्चालनमा आएपछि नाकामा कोरोना नियन्त्रण गर्नु पर्ने शर्त राखेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।  

‘नेपाली पक्षले चिनियाँ शर्त पालना गर्न प्रतिबद्धता जनाएको छ,’ उनले भने। चिनियाँकै अनुरोधमा सामग्री लोड÷अनलोड गर्ने २५ नेपाली मजदुर र चालकको चार दिनअघि मात्र पिसिआर परीक्षण गरिएको थियो। सबैको नतिजा नेगेटिभ आएपछि चिनियाँ अधिकारी नाका खुल्ने सन्देश दिन आएका थिए। बैठकको सहमति अनुसार सामान लोड गर्ने मजदुर र चालक गरी थप २९ जनाको अर्को समूह तैनाथ गरिने छ। कोरोना रिपोर्ट नेगेटिभ आएपछि दुई समूहले सिफ्टमा काम गर्ने प्रजिअ ढकालले जनाए।  

नाका बन्द हुनु अघि चीनले मितेरी पुलमा ल्याएर सामाग्री झार्दै आएको थियो। मितेरी पुलबाट भन्सार कार्यालयसम्म सामान ल्याउने काम २५ मजदुरको समूहले गर्दै आएको थियो। त्यहाँबाट राजधानीसम्म भने सम्बन्धित कन्टेनरका चालकले सामग्री लैजान्थे। यही मोडेलमा सामग्री आयात हुने सहमति जुटेको छ। ‘सामाग्री लोड÷अनलोड र ढुवानीमा संलग्न मजदुरको हरेक पाँच÷पाँच दिनमा पिसिआर परीक्षण गर्नु पर्ने छ,’ प्रजिअ ढकालले भने।  

सहमतिअनुसार असोज १८ गतेभित्र दुबै भन्सारले आन्तरिक प्रशासनिक, स्वास्थ्य तयारी पुरा गर्दै कार्यालय खोल्ने र १९ गते नाकामा चिनियाँ सामग्री आइपुग्ने भन्सार प्रमुख खत्रीले बताए। ‘पहिलो चरणमा यसअघि बीचबाटोमा रोकिएर अलपत्र परेका सामग्री आयातलाई प्राथमिकता दिइने सहमतिसमेत भएको छ,’ उनले भने। चीनका विभिन्न सहरबाट गत माघमै छुटेका झण्डै हजार कन्टेनर सामग्री ६ महिनादेखि चिनियाँ क्षेत्रमा रोकिएका छन्।  

कोरोना संक्रमणलाई कारण देखाउँदै चीनले ती सामग्री ल्याउन दिएको थिएन। रोकिएका सामान राजधानी भित्रिसकेपछि नियमित सामग्री आयात हुने भन्सार प्रमुख खत्रीले जनाए। यो गर्मीलाई ध्यान दिँदै ब्यवसायीले गत जाडो मौसममै ती सामग्री अर्डर गरेका थिए। रोकिएका सामग्री ल्याउन दिने सहमतिपछि नेपाली व्यवसायीले ठूलो राहत महसुस गरेका छन्। ‘व्यवसायीको ढाड भाँच्चिनै लागेको थियो। यो निर्णयपछि निजी क्षेत्र उत्साही भएको छ,’ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बेदबहादुर श्रेष्ठले भने। उनले सहमति कार्यान्वयनमा जोड दिए।  

२०७२ वैशाख १२ को भूकम्पपछि चार वर्ष बन्द नाका गत वर्षको जेठ १५ गते पुनः सञ्चालनमा आएको थियो। १० महिना नाका नचल्दै चीनमा कोरोना देखिएपछि उसैले तातोपानीसहितका अन्तर्राष्ट्रिय नाका बन्द गरेको थियो। नेपालमा समेत कोरोनाले महामारीको रुप लिएपछि सरकारको आग्रहमा स्वास्थ्य सामग्री ल्याउने प्रयोजनले चैतमा नाका खुलाइएको थियो।

बितेको आर्थिक वर्षमा झण्डै सात महिनामात्र नाका सञ्चालनमा आउँदा तातोपानीबाट नौ अर्व रुपैयाँ मूल्यका सामग्री नेपाल आयात भएको भन्सार तथ्यांक छ। केही दिनअघि मात्र अर्को मुख्य नाका रसुवागढी सञ्चालनमा ल्याउने सहमति भइसकेको छ। तर नेपाली भूभागमा गएको पहिरोले रसुवागढीबाट सामग्री आयात भने सुरु हुन सकेको छैन।

प्रकाशित: १३ आश्विन २०७७ १२:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App