१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पदयात्रा र पर्वतारोहणमा मात्र पर्यटकलाई खुला

कोरोना भाईरस संक्रमणको बढ्दो त्रासका बीच सरकारले आगामि कात्तिक एकदेखि पदयात्रा र पर्वतारोहणमा मात्र विदेशी पर्यटकलाई नेपाल आउन अनुमति दिने भएको छ । तर, नेपाल आउने ती विदेशी ‘जिआईटी’ (ग्रुप इन्क्लुसिभ टुर) को रुपमा मात्र भित्रिन पाउनेछन् । सरकारले ‘एफआईटी’ (फ्रि इन्डिपेन्डेन्ट ट्राभलर्स) लाई भने तत्कालका लागि निरुत्साहित गरेको छ ।

‘जिआइटी’का रुपमा भित्रिएका विदेशी कुनैपनि एजेन्सीमार्फत आउँन सक्छन । कम्तिमा दुईजना पर्यटक त्यो समूहमा हुन्छन् । उनीहरुले घुमघाम र बसोबासका लागि आवश्यक होटल, हवाईजहाज, बसको अग्रिम बुकिङ गरिसकेका हुन्छन् । तर ‘एफआइटी’को रुपमा हिडडुल गर्ने पर्यटक एक्लै वा सानो समूहमा पनि हुनसक्छन् । एफआईटीको कुनै यात्राको टुंगो नहुने, अग्रिम रुपमा होटल, जहाज पनि बुकिङ नगर्ने खालका पाहुना हुने व्यवसायीको भनाई छ । एजेन्टबिना आउने भएकोले एफआईटीको आधिकारीक तथ्यांक पनि नहुने व्यवसायीले बताउने गरेका छन् ।  

पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार अब आउने विदेशी पर्यटक समुहमा (कम्तिमा दुईजना) हुनुपर्नेछ । ती पर्यटक पदयात्रा र पर्वतारोहणमा मात्र निस्कन पाउनेछन् । पर्यटकीय गन्तव्यका गाउँ र सहर डुल्न भने उनीहरुलाई अनुमति हुने छैन । ‘संक्रमण गाउँ र सहरसम्म फैलिने त्रासले गर्दा अब आउने पर्यटक पदयात्रा र पर्वतारोणमा मात्र जान पाउँछन । पर्यटकीय गाउँ र सहर घुम्न उनीहरुलाई अनुमति हुने छैन,’तामाङले भने, ‘तत्कालका लागि यो व्यवस्था गरिएको हो । संक्रमण कम भएमा सहर वा गाउँका गन्तव्यमा पनि जान पाउनेगरि अनुमति दिइनेछ । तर, अहिलेको तयारी छोटो अवधिका लागि हुनसक्छ ।’ उनका अनुसार पोखरा, चितवन, लुम्बिनी जस्ता पर्यटकीय गन्तव्य घुम्न अब आउने पर्यटकले पाउने छैनन् ।  

पदयात्रा र पर्वतारोहणमा जानुपर्ने भएकोले पनि कम्तिमा दुईजना हुनुपर्ने तामाङले बताए । ‘पदयात्रामा पनि समूहलाई प्राथमिकता दिनुपर्ने व्यवसायीको माग थियो । अहिले त्यही प्रावधान लागु गरिएको हो । जोखिम बेलाको यात्रा भएकोले पनि समूहलाई अनिवार्य गरेका हौ,’ उनले भने, ‘कम्तिमा दुईजना हुँदा कोही बिरामी परिहाले पनि थाहा पाउन सकिन्छ । एक्लाएक्लै पदयात्रामा जाँदा बेलाबेला समस्या पर्ने गरेकोले पनि समूहलाई अनिवार्य गरेका हौ ।’ समूहमा आएका पर्यटक पर्यटक कुनै पनि एजेन्सीमार्फत आउनेछन् । नेपाल भित्रिएका ती पर्यटकले आफू जाने पदयात्रा क्षेत्रको होटल बुकिङ गरेका हुनेछन् ।  

एफआईटी एक्लाएक्लै वा सानो समूहमा पनि आउन सक्ने र उनीहरु फिरन्तेको रुपमा जुनसुकै ठाउँमा जाने भएकोले पनि अहिले सबैतिरका लागि खुला नगरिएको तामाङले बताए । ‘हामीले एजेन्सीलाई पनि जिम्मेवार बनाउन खोजेका हौ । एक्लै आएका पर्यटकलाई पदयात्रा वा पर्वतारोहणमा जाउ भन्न पनि सकिन्न,’ उनले भने,‘पदयात्रा वा पर्वतारोहणमा समूहमा जानुपर्छ । एक्लाएक्लै हिड्दा जोखिम हुनसक्छ ।’ एजेन्सीमार्फत भित्रिएका ती पर्यटकले तोकिएका रुटमा मात्र जान पाउनेछन् । रुट परिवर्तन समेत गर्न पाउने छैनन । दुई फरक मुलुकका दुईजना पर्यटक पनि एउटै एजेन्सीमार्फत आएर पदयात्रामा भने जान पाउने उनले बताए । ‘नितान्त एक्लै नआउ । अहिले सबैतिर घुमघाम सहज छैन । त्यसैले समूहमा आएर पदयात्रा वा पर्वतारोहणमा मात्र जाउँ भन्न खोजेका हौ,’ उनले भने ।  

नेपालमा आएका पर्यटकमध्ये ६० प्रतिशत एफआईटी र ३० प्रतिशत समूहमा आउने गरेको पर्यटन बोर्डको अनुमान छ । पर्यटन व्यवसायी पनि नेपालमा एफआईटीको रुपमा भित्रिएका पाहुनाको योगदान ठुलै हुने भएपनि अहिलेको अवस्थामा एक्लाएक्लै वा अग्रिम बुकिङ नगरि भित्रिँदा समस्या हुने बताउँछन् । ‘नेपालमा एफआईटीको हिस्सा ठूलै हुन्छ । तर, उनीहरुबाट बेलाबेला समस्या निम्तिने गरेको पनि छ,’ अग्रज पर्यटन व्यवसायी टिकाराम सापकोटा भन्छन, ‘समग्र पर्यटनमा एफआईटीको योगदान ठूलो छ । तर, उनीहरुबाट बेलाबेला समस्या पनि निम्तिन्छ ।’  

पदयात्रामा पनि एक्लै हिड्ने र अग्रिम बुकिङ नगर्ने हुँदा ती पर्यटकले बेलाबेला दुख पाउने गरेको पनि सापकोटाले बताए । ‘एफआईटीको रुपमा भित्रिएका कतिपय पर्यटकले त पदयात्रा क्षेत्रमै ज्यानै फाल्ने गरेका छन,’ उनले भने, ‘त्यसैले हामीले समूहमा मात्र पदयात्रामा जाउ भन्ने गरेका थियौ ।’ अहिलेका बेला एफआईटीलाई आउन निरुत्साहित गर्दा त्यसको असर व्यवसायमा भने पर्ने उनले बताए ।  

पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका सापकोटाका अनुसार कुनैपनि एजेन्ट प्रयोग नगरि सानो ग्रुपमा पनि पर्यटक आउन सक्छन् । ती पर्यटक एफआईटी हुन् । उनीहरुको घुमघामको योजना हुँदैन । कहाँ जाने, कहाँ बस्ने  भन्ने टुंगो पनि हुँदैन । कुनैपनि ट्राभल एजेन्सी बिना भित्रिन्छन् । एफआईटीहरु प्रायजसो एक्लै आउँछन् । कहिलेकाँही साथीभाई मिलेर वा जोडि बनेर सानो आकारमा पनि आउन सक्छन् । तर, उनीहरुको निश्चित बसाई र घुमघामको तालिका हुँदैन । कतै बुकिङ पनि गरेका हुँदैनन । पदयात्रामा एक्लै जान सक्छन् । ‘जिम्मेवारपूर्ण व्यापार हुन्छ भनेर अहिले समुहलाई प्राथमिकता दिइएको हो’ सापकोटाले भने, ‘तर एफआईटीलाई आउँन नदिँदा घाटा पनि पर्छ । ती पाहुनाका पनि योगदान हुन्थ्यो ।’  

सापकोटाको अनुभवमा एफआईटी कम खर्चिला हुन्छन् । पैसा बचत गर्नका लागि ती पर्यटक एजेन्सीको बुकिङ बिना आउँछन् । इजरायल, भारतका पर्यटक एफआईटीको रुपमा बढी आउने उनले बताए । एफआईटीमा अधिक युवापुस्ता हुन्छन् । गाइडबुक हेरेर एक्लै हुन्छन् । घुमघाममा निकै नै सिपालु हुन्छन् ।  

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का उपाध्यक्ष सुशीलराज पौडेलले सरकारको नयाँ व्यवस्थाले साना आकार व्यवसायीलाई बढी मार पर्ने बताउँछन् । नेपालसम्म सहज हवाई कनेक्टिभिटि नभएकोले पनि यो तरिकाले पर्यटनमा उत्तिको लाभ नपुग्ने उनले बताए । ‘एकै समूहमा फरक मुलका पर्यटक घुमघाम गर्न नरुचाउन पनि सक्छन् । त्यसैले बरु प्रोटोकलमा कडाई गरौ, तर, एफआईटीलाई पनि आउन दिनुपर्छ,’ उनले भने, ‘समूहलाई मात्र आउन दिँदा समस्या हुन्छ । एफआईटी रोक्दा ती पर्यटक अन्यत्र डाइभर्ट हुन सक्छन् ।’ समूहमा आउँदा कोरोना नबोक्ने, तर एफआईटीले कोरोना बोक्ने भन्ने नहुने उनले बताए । नेपालसम्म आउँदा एफआईटीको रुपमा रहेका ती पर्यटकलाई एजेन्सीमार्फत घुमघाममा जानुपर्ने बाध्यकारी बनाउन सकिने उनले बताए । तर, नेपाल भित्रिनकै लागि समूह बनाउ भन्न नमिल्ने उनले बताए ।  

पर्यटन बोर्डका निर्देशक मणि लामिछानेका अनुासार नेपाल भित्रिने पर्यटक चारथरिका हुन्छन् । छुट्टि र मनोरञ्जन, धार्मिकयात्रा, पदयात्रा र पर्वतारोहण सहित अन्य उद्देश्यले पर्यटक नेपाल भित्रिएका हुन्छन् । ती मध्ये पदयात्रा र पर्वतारोहणका लागि भित्रिने पर्यटकको आकार पनि ठूलै हुन्छन् । सन् २०१९ को तथ्यांक अनुसार नेपालमा सबैगरि झन्डै १२ लाख विदेशी पाहुना आएका थिए । ती मध्ये १ लाख ७१ हजार (झन्डै १५प्रतिशत) पदयात्रा र पर्वतारोहणका थिए । सबैभन्दा बढी छुट्टि र मनोरञ्जनका लागि भित्रिनेको संख्या ७ लाख ७८ हजार थियो । धार्मिक पर्यटक झन्डै दुई लाख थिए । अरु उद्देश्यले भित्रिएका पर्यटक पनि ५० हजार हाराहारीमा थिए ।  

‘छुट्टि र मनोरञ्जनाका लागि भित्रिएका पर्यटक सहर केन्द्रीत हुन्छन् । भीडभाड हुने भएकोले यो बेला संक्रमणको जोखिम हुने भएकोले पदयात्रा र पर्वतारोहणलाई मात्र प्राथमिकता दिइएको हो,’ लामिछानेले भने, ‘पदयात्रामा भौतिक दूरी पनि कायम हुने र धेरैदिन लगाएर गाउँभन्दा टाढा जाने भएकोले सुरक्षित हुने ठानिएको हो ।’ उनले पनि संक्रमणको डरले एफआईटीलाई रोक्न खोजिएको बताए । ‘कम्तिमा दुईजना आउ भन्ने हो । पदयात्रामा एक्लै पठाउनु हुँदैन भनेर व्यवसायीले पनि भन्दै आएका छन,’ लामिछानेले भने, ‘त्यही भएर समूहलाई प्राथमिकता दिइएको हो ।’ 

उनले पनि अब कोही पनि विदेशी एक्लै एफआईटीको रुपमा भित्रिन नपाउने बताए । पदयात्रा र पर्वतारोहणमा पर्यटक पठाइने भएपछि बोर्डले बनाएको प्रोटोकल अहिले पर्यटन मन्त्रालयमा पठाइएको छ । त्यो प्रोटोकलमा पदयात्रा र पर्वतारोहण क्षेत्रका व्यवसायी र त्यहाँ जाँदा पाहुनाले पालना गर्नुपर्ने नियमबारे उल्लेख गरिएको छ । 

 

प्रकाशित: ११ आश्विन २०७७ १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App