१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

'आतिथ्यता स्वीकार्ने कोही छैनन्’

सन्दर्भः विश्व पर्यटन दिवस

पोखराको फेवाताल र पर्यटकीय क्षेत्र लेकसाइड । तस्बिरःउमेश पुन/नागरिक

पर्यटन क्षेत्रको कुम्भमेला सुरु हुने दिन । यसको अर्थ, पर्यटनको मुख्य सिजन सुरु भएसँगै यो दिनलाई पर्यटन व्यवसायीले विशेष मान्दथे । सेप्टेम्बरदेखि नै पर्यटनको सिजन सुरु हुने भएपनि सेप्टेम्बर २७ लाई व्यवसायीले विशेष बनाउँथे । अघिल्ला वर्ष यो बेला विदेशी र स्वदेशी पाहुनाको लर्काे लाग्न थाल्दा व्यवसायी निकै नै उत्साही हुँदै आकर्षक कार्यक्रम आयोजना गर्दथे । हवाईजहाज र स्थलार्गबाट आउने पाहुनालाई देशैभरी स्वागत गर्दथे र विभिन्न प्याकेज उपलब्ध गराउँथे ।

तर, अहिले कोरोना भाईरस संक्रमणको महामारीको चपेटामा समग्र पर्यटन क्षेत्र परेको छ । पर्यटनको मुख्य सिजन सुरु भइसकेपनि पर्यटनमा उत्साह छैन । पर्यटन क्षेत्र शिथिल छ । व्यवसायी निराश छन् । त्यसैले व्यवसायी अहिले विश्व पर्यटन दिवस आफुहरुका लागि कुम्भ मेलाको दिन हुन नसकेको बताउँछन् । पर्यटन क्षेत्र दिनप्रतिदिन अनिश्चिततातर्फ धकेलिन थालेको भन्ने चिन्ता उनीहरुको छ ।  

भाइरस संक्रमण बढेकै कारण अघिल्ला वर्षजस्तो विदेशी र स्वदेशी पाहुनाको आगमनको आँकलन पनि व्यवसायीले यो पटक गर्न सकेका छैनन् । उनीहरु भन्छन्, ‘भाइरस संक्रमणले फरकफरक तरिकाले गति लिईरहेको छ । विश्वव्यापी रुपमा यसको त्रास छ । पर्यटन क्षेत्र उकासिन अझै केही समय लाग्छ । त्यो केही समय भनेको नै २/४ वर्ष नै हुनसक्छ । त्यसैले पाहुना कहिले आउँछन भनेर ठोकुवा समेत गर्न सकिन्न ।’

अघिल्ला वर्ष पर्यटन दिवस मनाइरहँदा यतिखेर व्यवसायीले धमाधम पाहुनालाई स्वागत गरिरहेका हुन्थे । आन्तरिक र विदेशी पाहुनाको बुकिङ आइरहँदा व्यवसायी उत्साही देखिन्थे । तर कोरोना भाईरस महामारीको चपेटामा परेका व्यवसायी अहिले निराश छन् । पाहुनाको बुकिङ आउनु त एकादेशको कथा जस्तो लाग्न थालेको उनीहरुको भनाई छ । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन भन्छन्, ‘अघिल्ला वर्ष यो दिन मनाउँदा पाहुना आउँछन् भन्ने हर्षाेल्लासमा व्यवसायी हुन्थे । एकअर्कासँग भौतिक रुपमै हार्दिकता र आतिथ्यता प्रदान गर्न सकिन्थ्यो तर, अहिले भौतिक रुपमा टाढा बनाएको छ । हार्दिकता र आतिथ्यता देखाउने अवसर कतै छैन । आतिथ्यता स्वीकार्ने पनि कोही छैनन् ।’

अध्यक्ष तुलाचनका अनुसार पर्यटनको हिसाबले सिजन पर्ने भएकोले पोखराका होटलको अघिल्ला वर्षको यो बेलाको अकुपेन्सी कम्तिमा ५०–६० प्रतिशत हुन्थ्यो । त्यो अकुपेन्सी उकालो लाग्दो चरणमा हुन्थ्यो । तर अहिले पर्यटन क्षेत्र शुन्यमा ओर्लिएको छ । सबैतिर भयाभव मात्र छ । ‘महिनौदेखि व्यवसायको ढोका बन्द गरेका व्यवसायीलाई कुम्भमेलाको दिनले उत्तिसारो उत्साही बनाउन सकेको छैन,’ उनले भने, ‘निराशा मात्र थपिएको छ । पर्यटन क्षेत्र चलायमान हुने संकेत समेत व्यवसायीले नपाउँदा झनै डरलाग्दो अवस्था आउन थालेको छ ।’  

अध्यक्ष तुलाचनका अनुसार कोरोना भाईरस महामारीबीच पनि सरकारी स्वीकृतिसँगै असोज १ देखि पोखराका केही होटल संचालनमा त आएका छन् । तर, पाहुना नपाउँदा होटल खुलेको भान नै पर्न नसकेको उनले बताए । ‘होटल खुलेका छन । तर, पाहुनाको आउजाउ छैन । होटलको खर्च धान्न कम्तिमा ५० प्रतिशत अकुपेन्सी हुनुपर्छ । तर त्यो अवस्था देखिन्न,’ उनले भने, ‘यस्तै अवस्था लम्बिँदै गए होटलका ढोका पुन बन्द हुनेछन् ।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष चीरञ्जीवी पोखरेल सिजनको यो बेला ‘मुटुमाथि ढुंगा राखी हास्नुपरेको छ’ भनेजस्तै अवस्थामा व्यवसायी रहेको बताउँछन् । ‘देखाउनका लागि मात्र अहिले पर्यटन व्यवसायी हासेका छन् । तर त्यो हाँसो भित्रैदेखि आउन सकेको छैन,’ पोखरेलले भने, ‘निराशाका बीच पनि चलायमान हुने प्रयास त गरेका छौ । तर, त्यो अवस्था लामो समयसम्म चल्न अप्ठेरो छ ।’ उनका अनुसार यो बेला होटल जसोतसो खुलेपनि पाहुना छैनन् । एकाध पाहुना पाएपनि त्यो आम्दानीले संचालन खर्च पनि नथेग्ने उनले बताए ।  

‘यतिखेर पाहुना आउँदैनन, खर्च उठ्दैन भन्ने थाहा पनि छ । तर पनि उच्च मनोवलका साथ आशावादी हुनुपरेको छ,’ पोखरेलले भने, ‘पाहुना आउँदैनन भनेर सधैंका लागि ढोका बन्द गरेर पनि भएन । एकाध पाहुना आउजाउबाट अहिलेको अप्ठेरो उकालो लाग्ने हो । आशा गरौ, एकदिन अवश्य पाहुना आउनेछन् ।’ उनले पनि अघिल्ल वर्ष यो बेलामा विदेशीसँगै स्वदेशी पाहुनाको आगमन पनि बढ्न थाल्थ्यो । चाँडबाँड पर्ने भएकोले आन्तरिक पाहुनाले यो बेला पारिवारिक घुमघाम सुरु गरिसकेका हुन्थे । त्यो बाहेक विदेशीको आगमन पनि सुरु हुन्थ्यो । तर, अहिले शुन्य अवस्थामा व्यवसायी रहेको अध्यक्ष पोखरेलले बताए ।  

‘चलायमान बनाउने प्रयासमा हामी जुटेका छौ, तर सहज भने छैन । अहिले होटल र रेस्टुरेन्ट खोल्दा  संचालन खर्च पनि उठ्दैन भन्ने हामीलाई थाहा छ । तर, हामीले सकारात्मक सन्देश दिन र पाहुनालाई घर छाडेर बाहिरिन उर्जा दिनका लागि व्यवसाय सुचारु गरेका हौ,’ उनले भने,‘कम्तिमा छिमेकी सहरका पाहुना तान्न सक्यौ भने पनि केही राहत हुने अपेक्षा छ । हुन त हामी कठोर अवस्थामा छौ । तरपनि आशावादी छौ ।’  

व्यवसायीले सेप्टेम्बरदेखि नेपालमा पर्यटनको सिजन सुरु भएको मान्छन् । यो सिजन सेप्टेम्बर मध्यमा पुग्दा बल्ल देखिनेगरि उकालो लाग्थ्यो । अक्टोवर र नोभेम्बरमा पाहुना आगमन ‘पिक’मा पुग्ने र त्यो आगमन डिसेम्बर मध्यदेखि बल्ल ओरालो लाग्न थाल्दथ्यो । तर, कोरोना भाईरस संक्रमणका कारण अहिलेको अवस्था भने पोहोर–परार भन्दा फरक छ । भाइरस संक्रमणको सुरुवाती चरणमा हुँदा अघिल्लो सिजनमा मार खेपेका व्यवसायी यो सिजनको सुखद पर्खाईमा थिए । तर यो सिजन पनि व्यवसायीले खेर जाने पक्का भएको बताउने गरेका छन् ।

पर्यटन बोर्डका अनुसार सन् २०१८ मा सेप्टेम्बरमा नेपालमा ७६ हजार विदेशी पर्यटक आएका थिए । त्यो संख्या २०१९ सेप्टेम्बरमा ७४ हजार थियो । २०१८ को अक्टोबरमा १ लाख १९ हजार र २०१९ को त्यही महिनामा १ लाख १८ हजार विदेशी नेपाल भित्रिएका थिए । विदेशीको आगमन २०१८ को नोभेम्बरमा १ लाख ३२ हजार रहेकोमा २०१९ को त्यही महिनामा १ लाख १० हजार थियो । ‘यो बेला पाहुना भित्रिने दिन हो । तर, अहिले हामी शुन्यतामा छौ,’ पोखरेलले भने ।

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने पनि पर्यटन सिजनको आधिकारीक सुरुवात भयो भनेर ‘पर्यटन दिवस’ मनाउने गरिएपनि यो पटक कठिन अवस्था रहेको बताउँछन् । ‘व्यवासायीमा त उत्साह नै छैन । हामी पर्यटन क्षेत्रमा काम गर्ने निकायले पनि उत्साह देखाउने अवस्था छैन,’ लामिछानेले भने, ‘अघिल्लो सिजन खेर फालेका व्यवसायी यो सिजनको सुखद पर्खाइमा थिए । तर अब यो सिजन पनि खेर गइसक्यो । अझै लकडाउनको चर्चा हुँदा पाहुना आगमनको दिन टाढा छ ।’  

केहीदिन अघि बहराइनका राजकुमार नेपाल घुमघाममा आएकोले पर्यटनमा केही आशाको संचार रहेपनि तत्काल पाहुना आउने अवस्था नरहेको उनले बताए । ‘अक्टोबरमा पदयात्रा खुल्ने भनिएको छ । पर्यटनमा कोरोनाबाट सुरक्षित हुने प्रोटोकल पनि बनिरहेका छन् । विमानस्थल, होटल, रेस्टुरेन्टको प्रोटोकल तयार छ,’ उनले भने, ‘हामी आन्तरिक रुपमा तयारीमा त छौ । तर, पाहुना तयार हुने अवस्था हुन सकेको छैन ।’ स्वास्थ्यका सबै प्रोटोकल तयार हुनुलाई हाम्रो तयारी बुझिएपनि संक्रमणको त्रास कायमै रहेकोले पाहुनाले आशंका गर्ने ठाउँ रहेको उनले बताए ।

‘पर्यटक पनि सचेत छन् । यात्रा गर्नुअघि त्यहाँको अवस्था बुझेर आउजाउ गर्ने चलन हुन्छ,’ उनले भने,  उनले भने, ‘ढुक्कसँग आउने अवस्था छैन । पर्यटकले तत्काल घुमफिरमा निस्कन सक्ने माहोल बनिसकेको छैन ।’ उनका अनुसार अघिल्ला वर्ष यो बेला पर्यटन क्षेत्रमा निकै नै चहलपहल बढिसकेको हुन्थ्यो । सेप्टेम्बर लाग्दैगर्दा सिजन सुरु हुने र मध्य हुँदा चहलपहल बढ्न थाल्दथ्यो । अक्टोबर–नोभम्बर पिक सिजन हुने गरेको थियो । डिसेम्बरमा चिसो बढ्न थालेपछि पाहुनाको आगमन घट्न थाल्दथ्यो । तर अहिले संक्रमणले पर्यटन पुरै सुस्ताउँदो अवस्थामा रहेको उनले बताए ।

प्रकाशित: १० आश्विन २०७७ ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App