१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

तयारी चियामा अब नेपाली ब्रान्ड

नेपाली तयारी चियाको ट्रेडमार्क । तस्बिर : भीम/नागरिक

तयारी चियाले कृषि उत्पादनमा सम्भवतः देशकै पहिलो ट्रेडमार्क (लोगो) पाएको छ। इलाम, तेह्रथुम र संखुवासभाका १२ चिया प्रशोधन उद्योगलाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंगलबार ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ ट्रेडमार्क दिएको हो।

यो ट्रेडमार्क पाएपछि देशको पहाडी र हिमाली क्षेत्रमा उत्पादन हुने अर्थाेडक्स तयारी चिया अब विश्व बजारमा नेपालकै ब्रान्डमा निर्यात हुनेछ। बोर्डले निर्धारण गरेको चियाको गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेका १२ उद्योगलाई पहिलो चरणमा ट्रेडमार्क हस्तान्तरण गरिएको छ। सूर्याेदय नगरपालिकामा आयोजित समारोहमा कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले उद्योगहरूलाई ट्रेडमार्क हस्तान्तरण गरे।  

देशका ४२ उद्योगले ट्रेडमार्क कार्यान्वयनका लागि बोर्डमा आवेदन गरेकामा इलामका सन्दकपुर प्रोसेसर प्रालि, हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालि, जस्बिरे टी प्रशोधन उद्योग, गोर्खा टी स्टेट प्रालि, नेपाल ग्रिन टी एन्ड स्पेसियालिटी, ओएसिस टी एन्ड इन्डस्ट्रिज, तारागाउँ टी स्टेट, साखेजुङ हिलरेन्ज चिया प्रशोधन उद्योग र उच्च पहाडी चिया उत्पादक सहकारीले ट्रेडमार्क पाएका छन्। तेह्रथुमका बोक्रेडाँडा अर्गानिक अर्थाेडक्स चिया प्रशोधन प्रालि र सिंहदेवी चिया उत्पादक सहकारी तथा संखुवासभाको सरगरमाथा टी स्टेट प्रालिले पनि ट्रेडमार्क प्रयोग गर्न पाउने भएको बोर्डले जनाएको छ।  

ट्रेडमार्क हस्तान्तरण गर्दै मन्त्री भुसालले यो सम्भवतः कृषि उत्पादनले पाएको देशकै पहिलो ट्रेडमार्क भएको बताए। ‘नेपालमा पनि अन्तर्राष्ट्रिय गुणस्तरको कृषि उत्पादन हुन्छ भन्ने यसले प्रमाणित गरेको छ,’ उनले भने, ‘अब तयारी चियाको आम्दानी कुनै विदेशी बिचौलियाले होइन, नेपाली उत्पादकले नै पाउँछन्।’ मन्त्री भुसालले मुलुक सबै क्षेत्रमा बिचौलियाको चंगुलमा फसेको र कृषि क्षेत्रमा सबैभन्दा बढी बिचौलिया हाबी भएको बताए। ‘म मन्त्री भएर पनि देश बिचौलियाबाट आक्रान्त छ भन्न संकोच मान्दिनँ,’ उनले भने, ‘तर, सरकारले यस्ता बिचौलिया अन्त्य गर्न सुरु गरिसकेको छ।’

मन्त्री भुसालले अन्तर्राष्ट्रिय बजारमा जाने स्वदेशी उत्पादनको ब्रान्ड राम्रो मूल्य आर्जनका लागि मात्र नभएर मानव स्वास्थ्य र सम्बन्धको प्रतीकसमेत भएको बताए। ‘यो ब्रान्डले कृषि उत्पादनको अन्तर्राष्ट्रिय व्यापारको द्वार खुलेको छ,’ उनले भने, ‘यो द्वारले उद्योगीदेखि किसानसम्मलाई फाइदा पुग्छ, रोजगारीको अवसर सिर्जना गर्छ।’ रोजगारी नभएसम्म समृद्धि सम्भव नहुने उनको भनाइ छ।  

नेपालमा १९२० सालमा इलामबाट चिया खेती सुरु भएको थियो। खेती सुरु भएको १ सय ५७ वर्षपछि पहाडी जिल्लाको अर्थाेडक्स चियाले पहिचान पाएको हो। पहाडी र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय बजारमा ठूलो माग रहेको उच्च गुणस्तरको अर्गानिक अर्थाेडक्स चिया उत्पादन हुन्छ। यहाँको चिया किन्न युरोप, अमेरिका, चीनलगायत दर्जनौं देशका व्यापारी बर्सेनि बगानसम्म आइपुग्छन्। तर, अहिलेसम्म कुनै न कुनै बगान वा उद्योगको बेग्लाबेग्लै ब्रान्डमा मात्रै तयारी चिया निर्यात भइरहेको छ। अब भने मापदण्ड पुगेका निजी वा सरकारी कुनैपनि उद्योगको चिया नेपालकै ब्रान्डमा निर्यात हुने बाटो खुलेको हो।  

हरेक वर्ष आवेदन खुलाएर नयाँ उद्योगलाई ट्रेडमार्क दिने र पहिले पाएका उद्योगको ट्रेडमार्क इजाजत नवीकरण गर्ने बोर्डका कार्यकारी निर्देशक डा.विष्णु भट्टराईले बताए। ‘शतप्रतिशत मापदण्ड पुगेका अन्तिम उत्पादकले मात्रै यो ट्रेडमार्क पाउँछन्,’ उनले भने, ‘आवेदन गरेका तर मापदण्ड नपुगेका उद्योगलाई निश्चित समय तोकिन्छ, मापदण्ड पूरा गरेपछि ट्रेडमार्क दिइन्छ।’  

ट्रेडमार्क कार्यान्वयनका लागि ‘नेपाल अर्थाेडक्स चिया सर्टिफिकेसन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ बनेको छ। निर्देशिकाअनुसार कार्यकारी निर्देशककै संयोजकत्वमा मार्क अनुगमन, व्यवस्थापन तथा नियमन समिति गठन भएको छ। चिया उद्योगीको संस्था हिमालयन अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएसन (होट्पा)ले ‘नेपाल टी क्वालिटी फ्रम दि हिमालयज’ लेखिएको ट्रेडमार्क तयार गरेर बोर्डमा पेश गरेको थियो। यही ट्रेडमार्क २०७४ मा सार्वजनिक गरिएको थियो। साना चिया किसान तथा उद्योगीलाई सम्बोधन गर्ने विषयमा निर्देशिकामा कमी–कमजोरी रहेको भन्दै सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले संशोधन माग गरे। कार्यकारी निर्देशक भट्टराईले निर्देशिका आवश्यक संशोधन गर्ने प्रतिबद्धतासमेत जनाए।

उद्योगीले चियाले आफ्नो ब्रान्ड पाउनु व्यापारिकमात्र नभई राष्ट्रियताका हिसाबले महत्वपूर्ण हुने बताए। होट्पाका पूर्वअध्यक्ष उदय चापागाईंले अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको पहिचान भएको बताए। ‘चिया बेच्नकै लागि त बिकेकै थियो तर अब हामीले विश्वमा नेपाल चिनाउने अवसर पाएका छौं,’ उनले भने, ‘यसले चियाको गुणस्तर कायम गर्न, गुणस्तरमा स्वनियमन गर्न र राष्ट्रियता झल्काउन मौका मिलेको छ।’ उनले नेपाली चियाको पहिचानका लागि झन्डै दशकदेखि होट्पाले गरिरहेको प्रयास अहिले सार्थक भएको बताए। केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले चियामा ट्रेडमार्कले खोजेको गुणस्तर र मापदण्ड पुर्‍याउन सरकारले किसान र उद्योगीलाई सहुलियत दिनुपर्ने माग गरे।  

बोर्डका अनुसार नेपालमा बर्सेनि २ करोड ५० लाख किलो हाराहारी तयारी चिया उत्पादन हुन्छ। यसबाट सवा ३ अर्ब रुपैयाँ आर्जन हुने गरेको छ। इलाममा सरकारी र निजी गरी १६, झापामा ६९, धनकुटामा ६ ठूला उद्योग छन्। बोर्डका अनुसार देशभर १ सय ८ ठूला चिया उद्योग र बगान छन्। चिया खेती गर्ने किसानको संख्याका आधारमा इलाम देशमै पहिलो हो। तर, झापामा सबैभन्दा बढी चिया उत्पादन हुन्छ। अध्ययनअनुसार इलाममा ५ हजार ५ सय ८२ साना किसान (देशकै ६०.६ प्रतिशत) छन्। झापामा ७० प्रतिशत र इलाममा ६४ प्रतिशत चिया किसानको मुख्य आम्दानी नै चियाबाट भइरहेको छ।

प्रकाशित: ७ आश्विन २०७७ ०८:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App