१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

चियामा डढुवा, थ्रिप्स र सिन्दुरेको प्रकोप

तस्बिर: भीम/नागरिक

कहिले मूल्य र कहिले निर्यातको समस्या भोगिरहेका किसानलाई यो वर्ष चियाको बोटमा देखिएको रोगले चिन्तित बनाएको छ। उत्पादन झन्डै आधा घटाउनेगरी चियामा मुना पिल्सिने (थ्रिप्स), सिन्दुरे र डढुवा रोग देखिएको किसानले बताएका छन्।  

हरेक बर्खायाममा प्रायः यो रोग देखिने भएपनि थोरै क्षेत्रफल र छोटो समय मात्रै रहने हुन्थ्यो। असार र साउनको केही समयसम्म मात्रै रहने यो रोग अहिले असोज पहिलो साता बित्न लाग्दासम्म नहटेपछि उत्पादन कम हुने निश्चित भएको छ। टिप्नेबेलाको पत्तीमा कालो थेग्ला बस्ने, त्यही थेग्ला मुना, पात सबैतिर ढाकेर बोटै कालो हुने र पातमा फोका आउने समस्या चियामा देखिएको किसानले जनाएका छन्। साखेजुङका किसान डम्बर खत्रीले यो साल रोगले झन्डै आधा पत्ती नष्ट भएको बताए। ‘यो नयाँ रोग होइन तर पत्ती नै सकिनेगरी फैलियो,’ उनले भने, ‘पोहोर÷परारतिर असारमा केही समय रहन्थ्यो, अहिले भने असोजमा पनि फैलिनेक्रम रोकिएको छैन।’  

साखेजुङ अर्गानिक चिया उद्योगका सञ्चालकसमेत रहेका खत्रीले पोहोर ४० हजार किलो तयारी चिया उत्पादन भएको उद्योगमा यो वर्ष २० हजार किलो हाराहारी मात्रै भएको बताए। ‘उद्योगमा यहाँका ८४ किसानले हरियोपत्ती ल्याउँछन्, सबैको बगानमा थ्रिप्सको प्रकोप छ,’ उनले भने, ‘यो वर्षको हरियोपत्ती टिपाइ सकिने बेला पोहोरको तुलनामा आधाजति मात्रै प्रशोधन भयो।’ ३ हजार किलो क्षमताको उद्योगले अहिले दैनिक ८ देखि ९ सय किलो हरियोपत्ती प्रशोधन गरिरहेको छ। ‘यो साल बढी पानी परेको र हुस्सु लागेकाले पनि हरियोपत्ती उत्पादन कम भयो,’ उनले भने, ‘मुख्य सिजनमा भएको लकडाउनले हरियोपत्ती टिप्न असर पुग्यो।’ किसानले यो वर्ष गतवर्षको तुलनामा निकै कममात्र हरियोपत्ती उत्पादन गर्न सकेको उनले जनाए।  

जिल्लाको पूर्वी क्षेत्रका किसान पनि चियामा देखिएको यही रोगका कारण समस्यामा छन्। न्यूनतम् मूल्यसम्म नपाएपनि आफूले उत्पादन गरेको हरियोपत्ती टिपेर उद्योगलाई बेच्न बाध्य किसान यो वर्ष रोगले चिया सखाप बनाएको सुनाउँछन्। सूर्याेदय नगरपालिका–१० का किसान हरि सुवेदीले यो वर्ष पोहोरको आधा पनि पत्ती उत्पादन नभएको बताए। ‘गतसाल एक टिपाइमा ४ सय किलो हरियोपत्ती आउँथ्यो,’ उनले भने, ‘यो वर्ष मुख्य सिजनमा नै सय किलोभन्दा बढी टिपिएन।’  

चियामा थ्रिप्ससहित डढुवा रोग फैलिएको उनको भनाइ छ। ‘डढुवा लागेपछि चियाको पातमा फोका आउँछ, मुना चाहिँ कालो भएर पिल्सिन्छ र सखाप हुन्छ,’ उनले भने, ‘यो साल लामो अवधिसम्म यही रोग रहेकाले उत्पादन अत्यन्तै न्यून भयो।’ सूर्याेदय नगरपालिकाकै अर्का किसान सन्त बस्नेतले यो वर्ष हरियोपत्ती निकै कम उत्पादन भएको बताए। ‘यो वर्ष न मूल्य राम्रो पाइयो, न उत्पादन नै राम्रो भो,’ उनले गुनासो सुनाए, ‘किसानलाई हरियो चिया बेचेर गुजारा गर्न कठिन हुन थालिसक्यो।’  

सूर्याेदय नगरपालिकामा हरियो चियापत्तीको न्यूनतम् समर्थन मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकिएको छ। तर, २०७५ र ०७६ सालमा कार्यान्वयन भएको मूल्य यो वर्ष उद्योगीले कोरोनाको कारण देखाउँदै कार्यान्वयन गर्न नमानेपछि किसान समस्यामा छन्। सूर्याेदय नगरपालिकाले कुनैपनि हालतमा न्यूनतम् मूल्य कार्यान्वयन गराउने प्रतिबद्धता गरिसकेपनि हरियोपत्तीमा देखिएको रोगले चाहिँ किसानलाई अर्काे चिन्ता थपेको हो। केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले यी रोगले इलामसहित अन्य जिल्लाका सयौं किसानको हरियोपत्ती नष्ट भएको जनाए।  

घरायसी उपचार र औषधिले चियामा देखिएको रोग समाधान नभएको किसानको गुनासो छ। जानकारले भने बढी चिसो र हुस्सु लाग्ने ठाउँको चियामा यो रोग देखिने बताएका छन्। स्याहार नपुगेको बोटमा बढी लागेको हुनसक्ने भएकाले अर्गानिक चियालाई पुग्दो मल र जैविक औषधि प्रयोग गर्न उनीहरू सुझाउँछन्। ‘चियालाई स्याहार पुगेन भने मुनामा कालो दाग बस्छ, फोका आउँछ,’ उद्योगी तथा चियाका जानकार चन्द्रभूषण सुब्बा भन्छन्, ‘यो रोग लागेको चियाको मुना टिपेर प्याँकिदिएर अन्यत्र फैलिनबाट जोगाउनुपर्छ।’ 

प्रकाशित: ६ आश्विन २०७७ ०६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App