१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आन्तरिक हवाई सेवा सुरु: मापदण्ड पालना नगर्ने यात्रु उड्न नपाउने

पोखरा विमानस्थलमा सोमबारको पहिलो उडानका हवाई यात्रु । तस्बिर: उमेश पुन/नागरिक

कोरोना महामारीका कारण गत चैत ११ देखि बन्द आन्तरिक हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । गत भदौ २९ गतेको मन्त्रिपरिषद्ले असोज १ देखि आन्तरिक उडानको अनुमति दिए पनि निजी वायुसेवा सञ्चालकहरूको पूर्ण क्षमतामा यात्रु उडाउन पाउनुपर्ने मागका कारण सरकारले अनुमति दिएको पाँच दिनपछि उडान सेवा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रियतर्फको उडान गत भदौ १६ देखि सञ्चालनमा आए पनि आन्तरिकतर्फको सेवा भने एक सय ८३ दिनपछि खुलेको हो । सोमबार विहान ७ बजे काठमाडौंबाट भोजपुर गएको नेपाल वायुसेवा निगमको जहाज नियमिततर्फको पहिलो उडान बन्यो ।

सरकारले असोज १५ सम्मलाई २५ प्रतिशत मात्रै उडान भर्ने गरी विमान कम्पनीलाई अनुमति दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सुगममा बुद्ध एयरलाई १६, यतीलाई १०, श्रीलाई ६ तथा सिम्रिक र सौर्यलाई दैनिक १–१ उडानको अनुमति दिइएको छ । प्राधिकरणका अनुसार महामारीको अवस्था र यात्रु चापको आधारमा असोज १६ पछिका उडान भने थपघट हुन सक्नेछन् । सामान्य अवस्थामा आन्तरिकतर्फ आगमन र प्रस्थान दुवै गरी दैनिक तीन सय हाराहारी उडान हुन्थ्यो । हवाई सेवा सञ्चालनमा आए पनि महामारीको संक्रमण राजधानीसहित देशभका प्रमुख सहरमा दैनिक रूपमा बढ्दै गएकाले अत्यावश्यक भएमात्रै हवाई सेवा लिन विमानस्थल कार्यालयले आग्रह गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार लामो बन्दाबन्दीमा पनि चार्टर्ड, उद्धार र कार्गाे उडान जारी रहेकाले उडानका दौरान अपनाइने स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण अभ्यास भइसकेकाले आन्तरिकतर्फ पनि सोही मापदण्डको आधारमा सेवा सुरु भएको हो ।

विमानस्थल क्षेत्रभित्र भीडभाड कम गर्ने हेतुले परिस्थितिजन्य अवस्थामा मात्रै यात्रु छोड्न जानेलाई विमानस्थल प्रवेश गर्न दिने र मास्क प्रयोग नगरेकालाई प्रवेशमा कडाइ गरिएको केसीले बताए । ‘अहिले यात्रु स्वयंले समेत देख्दै र भोग्दै आएकाले हरेक व्यक्ति संक्रमणप्रति सचेत देखिएका छन्,’ केसीले भने, ‘विमानस्थलमा भौतिक दुरी, टिकट काउन्टरमा गरिएको व्यवस्थापन, जहाजसम्म पुग्दा र जहाजबाट बाहिरिएपछि बयागेज ह्यान्डलिङ क्षेत्रसम्मै अपनाउनुपर्ने मापदण्डबारे विमानस्थलले एनाउन्समेन्ट जारी राखेकाले यात्रुलाई थप सहज भएको देखिन्छ ।’

विमानस्थलको प्रमुख द्वारदेखि नै सावधानी अपनाइएको भन्दै उनले त्रिभुवन विमानस्थलमा अहिले दैनिक दुई सय ५० लिटर ह्यान्ड सेनिटाइजरको प्रयोग भइरहेको जानकारी दिए ।  

स्वास्थ्यलाई नै प्रमुख आधार बनाएर सेवा सञ्चालनमा आएकाले विमानस्थल र विमान कम्पनीले समेत उडान निर्देशिका अनुसार यात्रुलाई मापदण्डको आधारमा मात्र अनुमति दिएको उनको दाबी छ । यात्रुको स्वास्थ्य जाँच सहज होस् भनेर विमानस्थल पुग्नुपर्ने यात्रुलाई साबिक भन्दा आन्तरिकतर्फ आधा घन्टा र अन्तर्राष्ट्रियतर्फ एक घन्टा अगावै आउन भनिएको उनले जानकारी दिए । अन्तर्राष्ट्रियतर्फ दैनिक १० वटा नियमित र चार्टर्ड उडानबाट आउने पिसिआर नेगेटिभ यात्रुलाई सिधै गन्तव्यसम्म जाने व्यवस्था रहेको बताउँदै उनले उद्धार उडानबाट आउने यात्रुले होल्डिङ सेन्टरमा पठाउने व्यवस्था भएको जानकारी गराए ।  

संक्रमणको जोखिम कम गर्न देशभरका विमानस्थलमा सामाजिक दुरी कायम राख्न मार्किङ, सरसफाइ तथा डब्लुएचओ र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले तयार पारेको मापदण्ड अनुसारको संरचना तयार गरिएको र उक्त मापदण्ड यात्रुमा मात्रै नभई विमानस्थलका कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षा क्षेत्रका कर्मचारीमा समेत लागु हुने बताए । हाल विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रियतर्फ रहेका चेक–इन काउन्टर, स्टेराइल हल, अध्यागमन हल, काउन्टर, यात्रु ओसार्न प्रयोग हुने सवारी लगायत क्षेत्रमा विशेष सतर्कता अपनाइएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक खगेन्द्रबहादुर बस्नेतले लामो समयदेखि उडान सञ्चालनको तयारी गर्दै आएको बताए । ६ महिना लामो अवधिमा अपनाउनुपर्ने मापदण्डबारे थप गृहकार्य गर्न पाएकाले चालक दलका सदस्य, प्राविधिक, विमानस्थलका कर्मचारी र यात्रुलाई कोरोना संक्रमणरहित यात्रा गराउन स्वास्थ्यलाई ध्यानमा राखेर सेवा सुरु गरेको उनको भनाइ छ ।  

‘अहिले लाखौं मानिस राजधानीबाहिर जाने र भित्रिने समय भए पनि बुद्धले व्यवसायमा नाफाभन्दा स्वास्थ्य सेवामा जोड दिएको छ,’ उनले भने, ‘थोरै संख्याबाट उडान सेवामा फर्किए पनि कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका यात्रु बाहेकलाई उडानमा रोक नरहेको तथा यात्रुको दोहोरो तापक्रम चेकजाँच, कन्ट्याक्टलेस चेक–इन, सामाजिक दुरी, कन्वेयर बेल्ट क्षेत्रमा समेत समाजिक दुरी, विमान चढ्नुअगावै ह्यान्ड सेनिटाइजेसन र हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएकाले ढुक्क भएर यात्रा गर्न सक्नेछन् ।’

विमानले पूर्ण क्षमतामै यात्रुलाई सेवा दिन सुरु गरेको र टिकट शुल्कमा कुनै परिवर्तन नगरिएको उनले बताए । यात्रुले सकेसम्म विमानभित्रको सौचालय प्रयोग नगरुन् भनेर कम्पनीले उडान सुरु हुनअघि नै यात्रुलाई विमानभित्र उपलब्ध सेवाबारे जानकारी दिने बस्नेतले बताए । हाललाई आवश्यक कर्मचारीलाई मात्रै काममा फर्काएको र उडान संख्या थप हुँदै जाँदा क्रमशः अरूलाई बोलाउने तयारी बुद्धको छ । 

प्रकाशित: ६ आश्विन २०७७ ०५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App