१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जहाजमा पर्याप्त, बस रित्तै

कोरोना संक्रमणले झन्डै ६ महिनादेखि रोकिएका लामो दुरीका सार्वजनिक बस गत बिहीबारदेखि सञ्चालनमा आए । पाँच दिनदेखि नियमित गुडिरहे पनि तिनले थोरै यात्रु पाएका छन् । सरकारले आधा संख्यामा मात्र यात्रु बोक्न छुट दिएकोमा ती सवारीले त्यही संख्यामा पनि यात्रु पाएका छैनन् । ४० सिट क्षमतासम्मका लामो दुरीका सवारीले ४÷५ जना यात्रु बोकेर सयौं किलोमिटर दुरी तय गरिरहेका छन् । पर्यटक बसलाई पनि यात्रु पाउन उस्तै सकस छ ।

सोमबारदेखि सुरु भएको हवाई उडानमा भने उत्साहजनक रूपमा यात्रु ओहोरदोहोर गरेका छन् । ६ महिनादेखि रोकिएको हवाई उडान सोमबार सुरु हुँदा जहाज चढेर पोखरा आउने र राजधानी फर्किने यात्रु उल्लेख्य थिए । सोमबार बुद्ध एयरले पोखराका लागि दुई र यती एयरले एउटा उडान गरे । काठमाडौं–पोखरा–काठमडौं रुटका तीनवटै उडानमा यात्रु पर्याप्त थिए । बुद्धले पहिलो उडानमा काठमाडौंबाट पोखरा आउँदा ७२ सिटको जहाजमा ५९ यात्रु ल्याएको थियो । पोखराबाट फर्किंदा ५८ जना लग्यो । यतीले पनि २९ सिटे जहाजमा पूर्ण क्षमतामा यात्रु लिएर आउजाउ गरेको थियो । बुद्धको दोस्रो उडानमा पनि काठमाडौंबाट ५१ जना यात्रु आएका थिए । ३५ जना काठमाडौं फर्किए ।  

स्थलमार्गमा गुड्ने सवारीले भने यात्रु पाएका छैनन् । क्षमताको १० प्रतिशत मात्र यात्रु पाएको सम्बद्ध व्यवसायीले बताए । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसी भन्छन्, ‘पाँच दिनदेखि गाडी गुडिरहेका छन् । बढीमा १० प्रतिशत यात्रु पाएका छौं । इन्धन खर्च पनि धान्न सकस छ ।’

उनका अनुसार पोखराबाट सबैजसो लामो दुरीका गन्तव्यमा सवारी छुटेका छन् । तिनले न्यून संख्यामा यात्रु भेटेका छन् । ‘यात्रु मानसिक तनावमा पनि छन् । सबैतिर संक्रमणले गति लिँदा सकेसम्म हिँडडुल गर्न नचाहेका पनि हुन्,’ उनले भने, ‘६ महिनापछि गाडी गुड्न थाल्दा हामी उत्साही थियौं तर त्यो उत्साह मरिसकेको छ ।’ यात्रु अभाव भएपछि अघिल्लो दिन गुडेको गाडी भोलिपल्ट गुडाउन नमान्ने अवस्था आएको उनले बताए । उनका अनुसार सार्वजनिक बसमा ५० प्रतिशत बढीसम्म भाडा लिन पाउने प्रावधान सरकारले राख्दा कमजोर आय भएका यात्रुलाई हिँडडुलमा कठिनाइ भएको छ ।  

पोखरा–काठमाडौं रुटमा सचालित पर्यटक बसले पनि यात्रु पाएका छैनन् । यो रुटमा अहिले दैनिक तीनवटासम्म पर्यटक बस पठाए पनि यात्रु संख्या न्यून रहेको नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स (नाट्टा)गण्डकीका उपाध्यक्ष हरिराम अधिकारीले बताए । ‘पोखराबाट केही बढी संख्यामा यात्रु छन् । काठमाडौंबाट आउने यात्रु भने न्यून छन्,’ अधिकारीले भने, ‘रित्तै बस कुदाउनुपरेको छ । इन्धन र कर्मचारीको खर्च पनि उठ्दैन ।’ दसैं नजिकिएकोले पनि अबका केही दिनपछि यात्रुको आकार बढ्ने अपेक्षा रहेको उनले बताए ।

प्रकाशित: ६ आश्विन २०७७ ०५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App