३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

‘कृषि अनुदान दुरूपयोग भयो’

उदयपुरका प्रदेश सांसदले कृषि अनुदान रकमको चरम दुरूपयोग हुने गुनासो गरेका छन् ।  

कृषि ज्ञान केन्द्र उदयपुरद्वारा आइतबार गाईघाटमा आयोजित ‘वार्षिक कार्यक्रम सार्वजनिकीकरण गोष्ठी’मा सहभागी आधा दर्जन सांसदले राज्यले दिने कृषि अनुदान सदुपयोग हुन नसकेको बताए ।  

गोष्ठीमा सांसदहरूले कृषि प्रवद्र्धन शीर्षकमा राज्यले दिने अनुदानको चरम दुरूपयोग भएको उदाहरण नै पेस गरे । प्रदेश १ (क) का सांसद विमल कार्कीले कृषि अनुदान वास्तविक किसानको १० प्रतिशत हिस्साले मात्र पाउने भन्दै अहिलेसम्म किसानका नाममा दिइने अनुदान पहुँचवालाले हडप्दै आएको बताए । अनुदानको चरम दुरूपयोगको उदाहरण सदरमुकाम गाईघाटकै सप्तकोसी कोल्ड सेन्टर भएको दाबी पनि सांसद कार्कीले गरे ।  

केही वर्षअघि गाईघाटमा सञ्चालित आधुनिक र व्यवस्थित ‘सप्तकोसी कोल्ड सेन्टर’का नाममा राज्यबाट तीन करोड अनुदान लिएर बन्द गरेको भन्दै सांसद् कार्कीले अहिले सो पोल्ट्री फार्म र कटिङ सेन्टर मोटर ग्यारेजमा परिणत भएको बताए ।  

त्रियुगा नगरपालिका ११ गाईघाट डिएमगेटस्थित सञ्चालनमा आएको आधुनिक र व्यवस्थित सप्तकोसी कोल्ड सेन्टर स्थापनामा बस्नेतले साझेदारीमा एक करोडभन्दा बढी लगानी गरेका थिए ।

गाउँगाउँका किसानलाई ब्रोइलर कुखुरा पाल्न लगाउने, उनीहरूको कुखुरा संकलन गरी प्रशोधित स्वस्थ मासु बिक्री गर्दै काठमाडौं लगायत विभिन्न सहरमा निर्यात गर्नेसम्मको लक्ष्यसहित सञ्चालन भएको सेन्टर वर्ष दिनपछि नै बन्द भएको थियो । बन्द भएपछि स्थानीयले ‘सरकारी अनुदान पच्न मात्र सञ्चालन गरेको’ टिप्पणी गरेको स्मरण गर्दै कार्कीले यस्ता गलत प्रवृत्ति निरुत्साहित गर्न पत्रकारहरूलाई निष्पक्ष भएर समाचार लेख्न आग्रह गरे । उदयपुर २ (ख) की सांसद कला घलेले कानुन र नीतिनियम नयाँ भए पनि कार्यशैली र पद्धति पुरानै भएकाले किसानमैत्री योजना लागू हुन नसकेको बताइन् ।

प्रकाशित: ६ आश्विन २०७७ ०५:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App