१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको ‘फिल्ड भेरिफिकेसन’ अघि बढ्न सकेन

नेपाल र चीनबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइनको फिल्ड भेरिफिकेसनको काम प्रभावित भएको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण प्राविधिक सम्बन्धित स्थानमा जान नसक्दा काम प्रभावित भएको हो।  

रातमाटे–रसुवागढी–केरुङ ४०० केभी प्रसारण लाइन आयोजनाका अनुसार १४ महिनामा काम सक्ने गरी एनइए इन्जिनियरिङ कम्पनीले काम सुरु गरिसकेको छ। कम्पनीले गएको साउनमै प्रारम्भिक रिपोर्ट बुझाएको आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताए। ‘हामीले प्रारम्भिक प्रतिवेदन बुझिसकेका छौं,’ उनले भने, ‘तर कम्पनीले अहिले फिल्ड भेरिफिकेसनको काम गरेको छैन।’

कम्पनीले भू–सूचना प्रणाली (राउटिङ सिस्टम) बाट अध्ययनको काम गरेको हो। पहिलो चरणमा राउटिङ सिस्टम अध्ययन गरे पनि दोस्रो चरणमा निर्माण क्षेत्रमा गएर प्रतिवेदन बनाएपछि मात्र बाँकी काम अघि बढ्छ।  

चालु आर्थिक वर्ष २०७७÷७८ मा चीनसँगको अन्तरदेशीय प्रसारण लाइनको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) सकिने गरी काम सञ्चालन भइरहेको छ। कोभिड–१९ का कारण चीनतर्फ हुन पर्ने लोड फ्लो टेस्टको काम अघि बढ्न सकेको छैन। आयोजनाले नेपालतर्फ यो आर्थिक वर्षभित्र इआइएको काम सकाउने लक्ष्यका साथ काम गरिरहेको छ। चीनतर्फ इआइएको काम छिटो हुने भएकाले सहज हुने आयोजनाले जनाएको छ।

दुई देशबीच विद्युत् आदानप्रदान गर्न नेपालतर्फ यसअघि नै लोड फ्लो टेस्टको काम सकिएको छ। नेपाल विद्युत् प्राधिकरणको योजना तथा अनुगमन निर्देशनालयअन्तर्गत रहेको सिस्टम प्लानिङ डिपार्टमेन्टले एक महिना लगाएर लोड फ्लो टेस्ट गरेको थियो। नतिजा अनुसार अन्तरदेशीय प्रसारण लाइन निर्माण भएपछि नेपाल चीनबीच तीन हजार मेगावट विद्युत् आदानप्रदान गर्न सकिने देखिएको छ।  

लोड फ्लो टेस्टको नतिजा अनुसार अन्तरदेशीय प्रसारण लाइन निर्माण भएपछि नेपाल र चीनबीच तीन हजार मेगावट विद्युत् आदानप्रदान गर्न सकिनेछ।

चीनको स्टेट ग्रिड अफ चाइनाले चीनतर्फ लोड फ्लोको अध्ययन गर्नेछ। दुवै देशतर्फ अध्ययन सकिएपछि मात्र संयुक्त रूपमा टेस्ट गरिने छ। टेस्टको काम सकिएपछि दुवैले संयुक्त रूपमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्नेछन्। प्रसारण लाइनमा पाँच हजार मेगावाट विद्युत् प्रवाह हुने आयोजनाले जनाएको छ। प्रसारण लाइन निर्माण भएपछि नेपालमा उत्पादित बिजुली चीनले खरिद गर्नेछ। यो चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइन हो। प्रसारण लाइन निर्माण भएमा नेपालले बंगलादेशलाई समेत विद्युत् बेच्न सक्नेछ।  

नेपालतर्फ ४०० केभी डबल सर्किट र चीनतर्फ ५०० केभी डबल सर्किट लाइन हुने आयोजनाले जनाएको छ। चीनको केरुङदेखि नेपालको रातमाटेसम्म निर्माण हुने आयोजनाको सम्भाव्यता अध्ययन सकिएको छ। प्रसारण लाइन पाँच हजार मेगावट क्षमताको हुनेछ।  

यो प्रसारण लाइनमा दुई सय १४ टावर रहनेछ। सम्भाव्यता अध्ययनको मस्यौदा प्रतिवेदन २०७५ चैत ३ गते पेस भएको थियो। अध्ययन प्रतिवेदनमा टावर संख्या, टावर राखिने स्थान, खोला क्षेत्र, निकुञ्ज क्षेत्र, आवश्यक पर्ने जग्गा, घुमाउन पर्ने ठाउँलगायतको जानकारी समेटिएको छ।  

नेपालतर्फ रातमाटेमा सवस्टेसन रहनेछ भने चीनतर्फ तिब्बतस्थित जिलोङ काउन्टीमा सबस्टेसन राखिनेछ। रसुवागढी नाकादेखि रातमाटेसम्म प्रसारण लाइनको दूरी ७० किलोमिटर हुनेछ। अन्तरदेशीय प्रसारण लाइन ६ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ। नेपाल विद्युत् प्राधिकरण अन्तर्गत रहेको आयोजना विकास विभागले काम गरिरहेको छ।  

यो चीनसँगको पहिलो अन्तरदेशीय प्रसारण लाइन हो। भारतसँग भने ११ स्थानमा प्रसारण लाइन जोडिसकिएको छ। चीन सरकारले बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत सन् २०३० सम्ममा सातवटै महादेशमा प्रसारण लाइन विस्तार गर्ने नीति लिएको छ। चीन र नेपालबीच प्रसारण लाइन जोडिएपछि यसले भारत तथा मध्यएसियाली मुलुकलाई समेत जोड्छ।  

विद्युतीय रेल आएमा प्रसारण लाइनको दूरी पनि बढ्नेछ। ७० किलोमिटर दूरी रहेको लाइन काठमाडौं लैजाँदा १०५ किलोमिटर हुन्छ ।

प्रकाशित: ४ आश्विन २०७७ ०३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App