७ वैशाख २०८१ शुक्रबार
अर्थ

आजबाट लामो रुटका गाडी

फाइल तस्बिर।

कोरोनाका कारण झण्डै ६ महिना ठप्प रहेका लामो दुरीका सार्वजनिक यातायात बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । यातायात व्यवसायी तथा मजदुरले बिहीबार विश्वकर्माको पूजा गरेर सार्वजनिक यातायात सञ्चालन गरिने बताए । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सतर्कता अपनाएर बिहीबारदेखि लामो तथा छोटो रुटका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले विश्वकर्माको पूजा गरेर गाडी चलाउने बताए । ‘विश्वकर्माको शुभसाइत पारेर सार्वजनिक यातायात खुल्दैछ,’ उनले भने, ‘करिब ६ महिनादेखि ठप्प भएको सार्वजनिक यातायात खुल्दा उत्साहित भएका छौं । सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालनमा गर्नेछौं ।’

अध्यक्ष कर्माचार्यले महासंघले मातहतका सम्पूर्ण व्यवसायीलाई आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालन गर्न परिपत्र गरिसकेको बताए । उनले भने, ‘मजदुर उत्साहित छन् ।’ महासंघले सवारीचालक तथा सहचालकलाई अनिवार्य मास्क, पञ्जा तथा सेनिटाइजर राखेर यातायात सञ्चालन गर्न अनुरोध गरेको छ ।  

सरकारले लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याउँदा सिट क्षमताको आधा मात्रै यात्रु राखेर सञ्चालन गर्न र साबिकको भाडादरमा थप ५० प्रतिशत अतिरिक्त लिन पाउने व्यवस्था गरेको छ ।  

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले पर्याप्त स्वास्थ्य सतर्कता अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने बताए । उनले भने, ‘हामीले चालक, सहचालकलाई अभिमुखीकरण तालिम समेत दिने तयारी गरिरहेका छौं ।’ अध्यक्ष राईले बिहीबारदेखि मर्मत सम्भार गरेर तयारी अवस्थामा रहेका सार्वजनिक यातायात चल्ने बताए । ‘ग्यारेजमा थन्किएका सवारी साधन मर्मतसम्भारको काम द्रुत गतिमा चलिरहेको छ । बिहीबारबाट क्रमशः सञ्चालनमा आउनेछन्,’ उनले भने ।

प्रकाशित: १ आश्विन २०७७ ०३:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App