१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जुम्लाका किसान स्याउ र आलु लिएर धरानमा

पहिलो पटक स्याउ र आलु लिएर जुम्लाबाट धरान आएका किसान खड्ग केसीलाई सम्मान गर्दै धरानका मेयर तिलक राई । जुम्लाको स्याउ र आलु गाडीबाट धरान १३ स्थित कृषि बजारमा झारिदै । तस्बिर : रोहित राई

कर्णाली प्रदेशको जुम्लामा उत्पादन भएको स्याउ र आलु लिएर एक किसान धरान आइपुगेका छन्। कृषि उत्पादनको बजारीकरणको सम्भावना खोजी गर्ने क्रममा जुम्लाको पातारासी गाउँपालिकाका किसान खड्ग केसी पहिलो पटक स्याउ र आलु लिएर धरान आइपुगेका हुन्। उनले साढे ३५ क्विन्टल स्याउ र साढे २७ क्विन्टल आलु लिएर मंगलबार साँझ धरान १३ स्थित कृषि बजार आएका थिए।  

जुम्लाको कृषि उत्पादन लिएर पहिलो पटक धरान आइपुगेका किसान केसीलाई कृषि बजारसँगै व्यापारी, धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी, पूर्वमेयर मनोज मेन्याङ्बोलगायतले स्वागत सम्मान पनि गरेका थिए।

धरानका ग्रिल उद्योगी जनक बस्नेत पछिल्लो समय जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम टेण्डर पारेर उता गएका थिए। उनले नै किसान केसीलाई जुम्लाको उत्पादन स्याउ र आलुको बजारीकरण गर्न धरानसम्म ल्याउन पहल गरेका हुन्। पश्चिम नेपालका जिल्ला र काठमाडौंमा जुम्लाको कृषि उत्पादन पठाउदै आए पनि पहिलो पटक पूर्वको धरान लिएर आएको केसीले बताए।  

यातायातको असुविधा, ग्रेडिङ र प्याकेजिङको समस्याले जुम्लाको कृषि उत्पादनले बजार पाउन नसकेको केसीले बताए। ‘बजार राम्रो पायो भने भविष्यमा पनि निरन्तरता दिन्छौ,’केसीले भने,‘सरकारले अनुदान दिनुपर्छ। ढुवानीको पनि समस्या छ, र कोल्डस्टोर पनि छैन।’

केसीले बाटोको स्तरोन्नती नहुँदा उत्पादन समयमा नै बजारमा पुरयाउन नसकिएको बताए। यस्तै, ग्रेडिङ मेशिन नहुँदा समस्या भएको र चिनियाँ उत्पादनसँग बजारमा प्रतिस्पर्धा गर्न समस्या भएको उनको भनाई छ। ‘ग्रेडिङ र प्याकेजिङबारे किसानलाई पनि राम्रो ज्ञान दिनुपर्छ,’उनले भने।

मेयर तिलक राईले आन्तरिक उत्पादनलाई सबैले प्रर्वद्धन गर्न आग्रह गर्दै किसान र उपभोक्ताबीचमा रहेको धेरै तहको विचौलिया हटाउन आवश्यक भएको बताए। उनले स्थानीय सरकार र कृषि बजारस्थलले पनि आन्तरिक उत्पादनलाई प्रर्वद्धन गर्ने नीति लिनुपर्ने बताए। ‘किसान र बजारबीच जोड्ने माध्यमको रुपमा विचौलिया हुनुपर्छ तर तर यहाँ त बिगबिगी छ,’मेयर राईले भने,‘विचौलियालाई सही रुपमा व्यवस्थापन गर्नुपर्छ। नत्र किसानले सही मूल्य नपाउने र उपभोक्ताले पनि बढी मूल्य तिर्नुपर्ने अवस्था आउँछ।

यस्तै, उपमेयर मञ्जु भण्डारी सुवेदीले ग्रेडिङ र प्याकेजिङमा ध्यान दिन आग्रह गर्दै किसानले बजारको चिन्ता लिनु नपर्ने बताइन्। जुम्लाको उत्पादन धरानलगायत पूर्व र भारतमा पनि राम्रो बजार पाउने उनको भनाई छ। ‘जुम्ला क्षेत्रको उत्पादन र बजारलाई धरान, पूर्वमा जोड्नको लागि पालिकाहरुबीचमा भगिनी सम्बन्ध गरेर हुन्छ कि किसानहरुबीच सिप आदानप्रदान गरेर हुन्छ, हामी सहकार्य गछौं,’उनले भनिन्।  

कृषि बजारका सल्लाहकार अइन्द्रबिक्रम बेघाले भविष्यमा पनि जुम्लाको कृषि उत्पादनलाई धरानमा ल्याउन आग्रह गर्दै किसानलाई कृषि बजारमा स्टलको व्यवस्था गर्ने प्रतिवद्धता जनाए। ‘कृषकको उत्पादन प्रर्वद्धन गर्नको लागि नियमित सम्पर्क गर्ने थलोको रुपमा स्टलको व्यवस्था नै गर्छौ,’ उनले भने।

प्रकाशित: ३१ भाद्र २०७७ ११:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App