१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालको १.५ र विकासशील एसियाको ६.८ प्रतिशत

सन् २०२१ को आर्थिक वृद्धिमा एडिबी प्रक्षेपण

कोभिड १९ का कारण विश्वका अधिकांश मुलुकको कुल ग्रार्हस्थ उत्पादन (जिडिपी) वृद्धिदर ऋणात्मक हुने भनिएका बेला सन् २०२१ मा नेपालको वृद्धिदर १.५ प्रतिशत हुने देखिएको छ ।

एसियाली विकास बैंक (एडिबी) ले मंगलबार सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक अपडेटमा यस्तो प्रक्षेपण गरेको हो । यसअघि एडिबीले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुने अनुमान गरेको थियो ।

एडिबीका अनुसार गत वर्ष भने नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशत नै रहने छ । एडिबीले पहिले गत वर्ष वृद्धिदर ५.३ प्रतिशत हुने अनुमान गरेको थियो । एडिबीका अनुसार गत आवको पछिल्लो तीन महिनामात्र कोभिडले असर पारेकाले त्यसवर्ष वृद्धिदर केही राम्रो देखिएको हो । चालु वर्ष भने कोभिडको असर उच्च रहने भन्दै एडिबीले वृद्धिदर १.५ मात्र हुने अनुमान गरेको छ ।

एडिबीको अनुमानमा चालु आवमा घट्दो निर्यात, पर्यटन क्षेत्रमा आएको समस्या, रेमिटेन्स आय घट्न जानेलगायत कारण आर्थिक वृद्धिमा असर पर्नेछ । अर्थतन्त्रमा माग न्यून हुँदा सरकारी राजस्व घट्न जाने र खर्च पनि घट्दा वृद्धिदर प्रभावित हुने एडिबीको अनुमान छ ।

एडिबीले सार्वजनिक गरेको नेपालको म्याक्रोइकोनोमिक्स अपडेटमा यस वर्ष मनसून राम्रो भएकाले धानबालीको उत्पादन बढ्ने अनुमान गरिएको छ । सरकारले समयमा मल खरिद गर्न सकेको भए उत्पादन अपेक्षा गरिए अनुसार अझै बढ्ने सम्भावना थियो ।

यसअघि एडिबीले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुने अनुमान गरेको थियो ।

अर्कोतिर औद्योगिक उत्पादनको वृद्धिदर पनि उत्पादन तथा निर्माण क्षेत्रमा आएको सुस्तताका कारण राम्रो नहुने अनुमान गरिएको छ । सेवा क्षेत्रको वृद्धिदरमा पनि समस्या आउने अनुमान छ ।

पुँजी परिचालन तथा लगानीका हिसाबले गएको वर्ष नै कमजोर देखिएको थियो । नेपालको अर्थतन्त्र यो वर्ष झनै प्रभावित हुन सक्ने उसले जानकारी दिएको छ । पर्यटन उद्योग अझै पुनरुत्थान हुने सम्भावना न्यून रहेकाले यसको मार पनि अर्थतन्त्रमा पर्ने एडिबीको अनुमान छ । न्यून माग तथ पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटका कारणले सन् २०२१ मा मुद्रास्फीति भने ५.५ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ ।

यस्तै, एडिबीको अनुमानमा कोरोना महामारीका कारण विकासशील एसिया क्षेत्रको आर्थिक वृद्धिदर ६ दशकयता खराब अवस्थामा पुगेको छ । यो क्षेत्र सन् १९६० को दशकपछि अहिले सबैभन्दा न्यून वृद्धिदरमा खुम्चिएको जनाएको छ ।

एडिबीले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२० मा यो क्षेत्रको आर्थिक वृद्धिदर ०.७ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरिएको छ । यो वृद्धिदर सन् १९६२ पछिकै न्यून हुन सक्ने बैंकका प्रमुख अर्थशास्त्री यसुयुकी स्वाडाले बताएका छन् । सन् २०२१ मा भने यो क्षेत्रको वृद्धिदर ६.८ प्रतिशतले बढ्न सक्ने अनुमान छ ।

यो क्षेत्रमा यो वर्ष चीनको अर्थतन्त्र १.९ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ । महामारी नियन्त्रण गर्दै अर्थतन्त्रले लय लिएकाले गएको जुनमा गरिएको प्रक्षेपणलाई यथावत राखिएको छ । यस्तै, सन् २०२१ मा चीनको अर्थतन्त्र ७.७ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

एडिबीको प्रतिवेदन अनुसार भारतमा लामो समय भएको लकडाउनका कारण निजी खर्च तथा लगानीमा संकुचन आएकाले जिडिपी वृद्धिदर ऋणात्मक हुने अनुमान छ । भारतीय अर्थतन्त्र यो वर्ष ९ प्रतिशतले घट्ने अनुमान एडिबीले गरेको छ । पहिलो त्रैमासमा भारतीय अर्थतन्त्र २३.९ प्रतिशतले ऋणात्मक भएको थियो । यस्तै, थाइल्यान्ड र फिलिपिन्सको अर्थतन्त्र पनि ७.३ र ८ प्रतिशतले खुम्चिने प्रक्षेपण छ । 

प्रकाशित: ३१ भाद्र २०७७ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App