१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

गैरआवासीय नेपालीले घरजग्गा किन्न सक्ने

बालकृष्ण ज्ञवाली, काठमाडौं, साउन २५- गैरआवासीय नेपाली नागरिक (एनआरएन) ले नेपालमा घरजग्गा किन्न पाउने भएपछि खस्किदो हाउजिङ व्यवसायले राहत पाउने भएको छ।

एनआरएनसम्बन्धमा हालै बनेको नियमावलीमा उनीहरुलाई बसोबासका लागि घरजग्गा किन्न सक्ने व्यवस्था गरिएको हो।

दुई वर्षअघि एनआरएनबारे बनेको ऐन कार्यान्वयनका लागि नियमावली बनाउन हालै मन्त्रिपरिषद्को विधेयक समितिमा छलफल गरी यसलाई अन्तिम रुप दिइएको हो।
'सरकारले नियमावलीमा राखेको यो व्यवस्था हाउजिङ व्यवसायीका लागि स्वागतयोग्य छ,' नेपाल जग्गा तथा आवास कम्पनी संघका अध्यक्ष इच्छाराज तामाङले भने -'यसले केही भए पनि व्यवसाय प्रवर्द्धनका लागि सहयोग पुग्नेछ।' उनले घरजग्गा वा हाउजिङमा आउने लगानी अचल सम्पत्ति भएकाले मुलुकलाई पनि फाइदा पुग्ने बताए। यो व्यवस्थाले एनआरएनको लगानी भित्र्याउन ढोकासमेत खोलेकोे छ, तमाङले भने। अहिले एनआरएनले जलस्रोत, वित्तीय संस्था, स्कुललगायत सामाजिक क्षेत्रमा लगानी गरेका छन्।

व्यवसायीका अनुसार साउनयता हाउजिङ कारोबारमा ८० प्रतिशत गिरावट आएको छ। चालू आर्थिक वर्षको बजेटले पचास लाखभन्दा बढीको घरजग्गा बिक्री गर्दा हुने नाफामा पुँजीगत लाभकर लिने र हाउजिङ तथा एपार्टमेन्ट निर्माणमा मूल्य अभिवृद्धि कर -भ्याट) लाग्ने व्यवस्था गरेपछि कारोबारमा उच्च गिरावट आएको व्यवसायीको दाबी छ। यस्तो अवस्थामा एनआरएनले हाउजिङ खरिद गर्न सक्ने सुविधा पाएपछि कारोबार बढ्ने व्यवसायीको अनुमान छ।

नियमावलीअनुसार एनआरएनले काठमाडौ उपत्यकामा २ रोपनी, तराइका नगरपालिका क्षेत्रभित्र ८ कठ्ठा जमिन, घर र अपार्टमेन्ट किन्न सक्ने छन्। उनीहरुले आफु र आफ्नो परिवारको आवासबाहेक अन्य प्रयोजनका लागि भने जग्गा किन्न पाउने छैनन्।
व्यवसायीले हाउजिङ र अपार्टमेन्टका उपभोक्तामध्ये एनआरएनलाई पनि उच्च स्तरको सूचिमा राखेका छन्। यसैले पछिल्लो समयमा नेपाली व्यवसायी यस्तै उपभोक्ताको खोजी गर्दै विभिन्न मुलुकमा पुग्ने गरेका छन्। दुई वर्षयता आधा दर्जन मुलुकमा भएका अन्तर्राष्ट्रिय घरजग्गा प्रदर्शनीमा नेपाली व्यवसायी सहभागी बन्दै आएका छन्। यस्ता प्रदर्शनीमा सहभागी हुनुको मुख्य लक्ष्य त्यहाँ रहेका नेपालीलाई आकर्षण गराउनु हो, तमाङले भने।
विद्यमान कानूनले विदेशमा बसेका तर, नागरिकता नलिएका व्यक्तिलाई घरजग्गा, हाउजिङ र अपार्टमेन्ट किन्न सुविधा दिएको छ। तर, नागरिकता लिएर विदेश बसेका नेपालीले यहाँ घरजग्गा, हाउजिङ र अपार्टमेन्ट खरिद गर्न सक्दैनन्।

यो व्यवस्थाले हाउजिङ कारोबारमा असर पारेको व्यवसायीहरुले बताउँदै आएका छन्। व्यवसायीहरुले सरकारसमक्ष एनआरएनलाई घरजग्गा, हाउजिङ र अपार्टमेन्ट किन्न सक्ने व्यवस्था गर्न धेरै अगाडिदेखि आग्रह गर्दै आएका थिए।

अधिकांस व्यवसायीले गैर आवासीय नेपालीलाई लक्ष्य गरेर हाउजिङ र महागा अपार्टमेन्ट बनाएका छन्। जापान, युरोप, अमेरिका, रसियालगायत सम्पन्न मुलुकहरुमा बसोबास गरी धेरै कमाउने एनआरएन नेपाली हाउजिङका उपभोक्ता बन्ने व्यवसायी बताउँछन्। नेपालमा घरजग्गा र हाउजिङ जोड्न इच्छा भए पनि कानुन अभावमा किन्न नसकेको उनीहरुको गुनासो थियो, व्यवसायी हरिभक्त श्रेष्ठले भने -अब यस्तो भन्ने ठाउँ रहेन।

व्यवसायीले एनआरएनहरुले लगानी गरेको पाुजी भविष्यमा उनीहरुले फिर्ता लैजान सक्ने प्रावधानले कारोबार बढाउन थप सहयोग गरेका बताएका छन्। नियमावलीमा उनीहरुले चाहे एक मुष्ट वा आंशिक रुपमा लगानी फिर्ता लैजान सक्ने व्यवस्था गरिएको छ।

'पुँजी फिर्ता लैजान सक्ने प्रावधानले लगानीका लागि थप आकर्षण गरेको छ,' श्रेष्ठले भने- 'अहिले घरजग्गा वा हाउजिङमा लगानी गरेर पछि आवश्यक पर्दा बेच्न सकिने सुविधाले धेरैले घरजग्गा किन्नेछन्।' तामाङले उनीहरुका लागि घरजग्गाभन्दा हाउजिङ र अपार्टमेन्ट किन्न अझै सजिलो हुने बताए।

स्वदेशमा आएको समयमा आफ्नै घर वा अपार्टमेन्टमा बस्न सजिलो हुने भएकाले धेरैले यहाँ घरजग्गा किन्ने उनको अनुमान छ। कतिपय नेपाली व्यवसायीले पनि विदेशमा अपार्टमेन्ट खरिद गरेका छन्।

प्रकाशित: २४ श्रावण २०६६ २१:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App